२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

वराहक्षेत्र मन्दिर व्यवस्थित गर्न नगरपालिकाले योजना बनाउँदै

वराहक्षेत्र मन्दिरको अवस्थाबारे जानकारी लिन पुगेको नगरप्रमुख रमेश कार्कीसहितको टोली। तस्बिर :नागरिक

 प्रख्यात तीर्थस्थल वराहक्षेत्रको विकासमा नगरपालिकाले योजना बनाउने भएको छ। वराहक्षेत्र मन्दिर नगरको सबैभन्दा विकट क्षेत्र १ नं. वडामा पर्छ ।यसको सरसफाई, भौतिक संरचनाको काम, थप विकास र अन्य सरोकारवाला निकायसँग सहकार्य एवम् समन्वय गरेर पर्यटकलाई थप आकर्षण गर्न नगरपालिकाले योजना बनाएर अघि बढ्ने वराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले बताए।

वराहक्षेत्र मन्दिरको विकासकै लागि धरान उपमहानगरपालिका र वराहक्षेत्र तथा राम धुनी नगरपालिकामा नाम चलेका धार्मिक स्थललाई जोडेर सर्किट पनि बनाइने भएको छ । वराहक्षेत्र मन्दिरसहित धरानको दन्तकाली, पिण्डेश्वर, बुढासुब्बा, शिव जट्टा, पाँच कन्या र विष्णु पादुका मन्दिर तथा राम धुनी जोड्ने सडक विस्तार गरेर धार्मिक सर्किट बनाउन लागिएको हो । 

धरानमा नाम चलेका धार्मिक स्थल धेरै छन् । वराहक्षेत्रको चतरामा १२/१२ वर्षमा महाकुम्भ मेला र ६/६ वर्षमा अर्ध कुम्भमेला लाग्ने गर्छ । कुम्भ मेलाबाट साराका लागि पुण्य प्राप्ति हुने विश्वास छ । कुम्भ भनेकै स्नानको महत्व हो । त्यसैले गर्दा कुम्भमा आएर स्नान गर्दा जीवनमा वरदान प्राप्ति हुने विश्वास छ । राम धुनीको वडा ४ मा रहेको मन्दिरको इतिहास त्रेता युगमा भगवान् राम आएर बसेको स्थानका रूपमा चिनिन्छ । राम धुनीमा अस्ना प्रजातिका मुढा निरन्तर जलाइन्छ । त्रेता युगदेखि अहिलेसम्म त्यहाँ आगो ननिभेको विश्वास गरिन्छ ।

नगर प्रमुख कार्कीले वराहक्षेत्र मन्दिरलाई थप व्यवस्थित गर्नका लागि पुजारीहरूलाई पारिश्रमिकको व्यवस्थापन गरेर भेटिलाई सार्वजनिक गरेर व्यवस्थापन गर्ने तयारी भएको बताए । यति बेला मन्दिरका पुजारीहरूले गुठी संस्थानबाट लिई रहेको सेवा–सुविधा न्यून भएको र पुजारीहरूलाई सम्मानसहित उचित पारिश्रमिकको व्यवस्थापन गर्ने नीति रहेको जानकारी दिइयो । 

बर्खाको बेला वराहक्षेत्र मन्दिर आउँजाउँ गर्न सडककै कारण भक्तजन रुले सास्ती खेप्नु परेकोमा यसलाई समेत नगरपालिकाले व्यवस्थित गरेर लैजाने योजना रहेको नगरप्रमुख कार्कीले बताए । चतराको कोशी पुलबाट साढे ३ किलोमिटर उत्तरमा रहेको वराहक्षेत्र मन्दिर पुग्नलाई निर्माण गरिएको पक्की सडकमा बर्खाका बेला पहिरोका कारण बेला बेला समस्या हुने गरेको छ । 

पछिल्लो समय कोशी नदीमा सञ्चालन भइरहेको जेट बोटमार्फत पनि भक्तजनहरू मन्दिर पुग्ने गरेका छन् । तर असार–साउनमा बाढीका कारण कोशीमा बोट सञ्चालन गर्न रोक लगाउने गरिएको छ । यति बेला अहिले मन्दिरमा पितृ श्राद्धको साथै साउने बोल बमको लागि जल लिन आउनेहरूको भिड हुने गर्छ । तर, बाटैकै समस्याले भक्तजनलाई सकस हुने गरेको छ । मन्दिरको दीर्घकालीन विकासका लागि नगरपालिकाले वृहत् योजना बनाउनै पर्छ।

प्रकाशित: २६ श्रावण २०८० १२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App