१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

यौन दुर्व्यवहार आरोपी शिक्षक धरौटीमा छुटे

मोरङ जहदाको जनप्रिय आधारभूत विद्यालयका शिक्षक विकासकुमार साहलाई अदालतले धरौटीमा छाडेको छ। २७ वर्षीय शिक्षक साहविरुद्ध बालयौन दुरुपयोग मुद्दा मोरङ जिल्ला अदालतमा दर्ता भएको थियो।

साहविरुद्ध ५ जना छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा मोरङ प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको थियो। मंगलबार अदालतका न्यायाधीश राजेश्वर अर्यालको इजालसले १ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो।

साहविरुद्ध ५ जना छात्राको अलग अलग जाहेरी दर्ता भएको थियो। मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमराज बुढाथोकीले न्यायाधीश अर्यालको इजालसले प्रत्येक मुद्दामा जनही २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको जानकारी दिए। अदालतले माग गरेको धरौटी बापतको रकम दाखिला गरेपछि उनी रिहा भएका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङमा जेठ ३२ गते ५ जना छात्राहरुले साहविरुद्ध बालयौन दुर्व्यवहारमा उजुरी दर्ता गराए। ३२ जेठमा जाहेरी दर्ता भए पनि साहलाई प्रहरीले असार ११ गते मात्रै पक्राउ गरेको थियो।

साहविरुद्ध यौन दुर्व्यवहार गरेको आरोप पहिलो पटक लागेको होइन। बालिकाका अभिभावकका अनुसार साहले गत वर्ष पनि विद्यार्थीहरुलाई दुर्व्यवहार गरेका थिए। त्यस बेला स्कुलमै घटना मिलाइएको थियो। 

यस पटक पनि शिक्षकले आफ्नो बानी व्यवहार नसुधारी पुनः दुर्व्यवहार गरेका कारण कानुनी कारबाहीमा जानु परेको उनीहरुले बताए।

साह जनप्रिय आधारभूत विद्यालयका करार शिक्षक हुन्। विद्यालयमा कक्षा ४ देखि ८ सम्म विज्ञान विषय पढाउँदै आएका छन्। पीडित भएका छात्राहरु विद्यालय जान नमानेपछि घटना बाहिरिएको हो। उनीहरुका अभिभावकले विद्यालय जान नमान्नुको कारण सोध्दा शिक्षकले दुर्व्यवहार गर्ने गरेका कारण नगएको बताएका थिए। शिक्षकले विभिन्न बहानामा छात्रामाथि यौनजन्य दुर्व्यवहार गर्दै आएपछि छात्राहरु विद्यालय जान नमानेको अभिभावकहरुले बताएका छन्।

प्रकाशित: २५ श्रावण २०८० १३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App