२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बढ्यो सम्बन्ध विच्छेदका मुद्दा

म्याग्दीमा कुल मुद्दाको ५० प्रतिशतभन्दा धेरै मुद्दा सम्बन्ध विच्छेदका रहेका छन्। कम उमेरमा बिहे हुँदा उत्पन्न पारिवारिक विवाद, वैदेशिक रोजगार गएका पतिपत्नीबीच बढ्दो असहमति, यौनजन्य गतिविधि महिला तथा पुरुष डिपेन्डेन्ट भिसामा विदेश जानु र कुटपिटलगायतका कारणले म्याग्दीमा सम्बन्ध विच्छेद ह्वात्तै बढेको छ। आर्थिक वर्ष २०७९÷०८० मा कुल ६२० मुद्दामध्ये ३५२ मुद्दा सम्बन्ध विच्छेदको दर्ता भएको जिल्ला अदालत म्याग्दीका शाखा अधिकृत शंकर सापकोटाले बताए। उनका अनुसार ३५२ वटा सम्बन्ध विच्छेदका मुद्दामध्ये ३२९ फछ्र्योट भएका छन् भने २३ वटा मुद्दा विचाराधीन छन्। पछिल्लो आधा दशकयता सम्बन्ध विच्छेदका मुद्दा उकालो लागेको शाखा अधिकृत सापकोटाले बताए। आव २०७८÷०७९ मा सम्बन्ध विच्छेदका मुद्दा तीन सय २२ वटामध्ये २८४ वटा मुद्दा फछ्र्योट गरिएका छन् भने ३८ वटा विचाराधीन अवस्थामै छन्। म्याग्दीमा वैदेशिक रोजगारमा पतिपत्नी दुवै जाने सहमतिमै कानुनी कागजात मिलाउनेदेखि परिवारमा विश्वासको संकट भएर अदालतसम्म पुगेको देखिन्छ। पतिपत्नीकै सहमतिमा दुवैको उपस्थितिमा दुईतीन दिनमा टुंग्याउने सम्बन्ध विच्छेदका मुद्दा बढिरहेको छ।

जिल्ला अदालतमा दर्ता भएका सम्बन्ध विच्छेदको संख्याले समाज र परिवारमा पति–पत्नीबीचको सम्बन्ध नाजुक अवस्थामा रहेको समेत देखाएको छ। म्याग्दीमा सम्बन्ध विच्छेद बढ्नुको मुख्य कारण अन्तर्राष्ट्रिय श्रम बजार भएको अधिवक्ता ठाकुरप्रसाद आचार्यले बताए। उनले कामको खोजीका साथ पैसा, प्रतिष्ठा कमाउन पति वा पत्नी वा दुवै वैदेशिक रोजगारीमा जाने गरेको अवस्थामा सामाजिक आर्थिक रूपमा आत्मनिर्भर महिला आत्मसम्मान र स्वतन्त्रताका नाममा सामान्य वादविवाद र झगडामा पनि सम्बन्ध विच्छेदको अवस्था आएको बताए। यसैबीच आव २०७९÷०८० मा लगत भएका ६२० मुद्दामध्ये फछ्र्योट ४४८ भएको छ भने १३२ वटा अझै बाँकी रहेको छ।

 

प्रकाशित: २३ श्रावण २०८० ०३:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App