८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

जुम्लामा खाद्यान्न चामल अभाव

फाइल तस्बिर

जुम्ला सदरमुकाम खलङ्गास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामलको अभाव हुन थालेको छ। डिपो कार्यालयमा चामलको आयात कम भएसँगै अभाव भएको हो। चामल कम भएसँगै सर्वसधारणका लागि केही समयसम्म वितरण स्थगित गरिएको कार्यालय प्रमुख निर्मल विष्टले जानकारी दिए।

आर्थिक वर्ष २०७९/८० मा डिपो कार्यालयका लागि प्राप्त आठ हजार एक सय ४७ क्विन्टल चामलको कोटा रहेको थियो। अहिले डिपोमा नौ सय ५९ क्विन्टल मात्रै मौज्दात रहेको छ। मौज्दात रहेको चामलमध्ये अति आवश्यकका लागि बाहेक अरूलाई वितरण गर्न नसकिने कार्यालय प्रमुख विष्टको भनाइ छ।

कारागारका लागि दुई सय ८० क्विन्टल र जन्म र मृत्युका लागि एक सय ८० क्विन्टल चामल छुट्याइएको छ। थप आवश्यक दुई हजार क्विन्टल चामल माग गरिएको छ। मौज्दात भएको चामल कारागार, विपत् र जन्म, मृत्युका लागि मात्रै वितरण गरिने कार्यालय प्रमुख विष्टले बताए।

खाद्यान्न मौज्दात परिणाम न्यून भई साउन मसान्तमा ढुवानी हुनेगरी न्यूनतम दुई हजार क्विन्टल खाद्यान्न आपूर्ति गर्नका लागि प्रादेशिक कार्यालयमार्फत केन्द्रीय कार्यालयलाई परिपत्र गरिएको छ। सरकारले जन्म र मृत्युमा प्रतिव्यक्ति २० केजी चामल दिने व्यवस्था गरेअनुसार जन्ममा सात सय ८५ र मृत्युमा ५९ जनालाई चामल वितरण गरिएको छ।

यसैगरी सो चामल लिन आउने व्यक्तिलाई नियमानुसार रु चार लाख २३ हजार ज्याला रकम प्रदान गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्ला शाखाले जनाएको छ। जुम्ला मुख्य कार्यालयबाट डोल्पाको काइगाउँ डिपोका लागि एक सय ७७ क्विन्टल र डोल्पाको सर्मीका लागि सात सय ५० क्विन्टल चामल पठाएको उक्त कार्यालयले जनाएको छ।रासस

प्रकाशित: २२ श्रावण २०८० १४:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App