२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कैदीबन्दीको सरुवालाई लिएर भएको थियो झापा कारागारमा झडप

स्थिति नियन्त्रणमा लिन हवाइ फायर

झापाको चन्द्रगढी नगरपालिकास्थित जिल्ला कारागारमा शुक्रबार दिउँसो कैदीबन्दी र प्रहरीबीच झडप भएको छ।

झापा कारागारमा कैद भुक्तान गरिरहेका कैदीबन्दीहरुलाई सुनसरीको झुम्का कारागारमा सरुवा गरिएको थियो। झुम्का सरुवा भएका कैदीबन्दीलाई लिन गएको प्रहरी टोलीमाथि कारागारभित्र रहेका कैदीबन्दीले ढुंगामुढा गर्न थालेपछि दोहोरो भिडन्त भएको हो।

कारागार प्रशासनले कर्तव्य ज्यान मुद्दामा कैद भुक्तानी गरिरहेका कारागारका भाइ नाइके मनोज लावतीलाई झुम्का सरुवा गरेको थियो। झुम्का सरुवा भएका लावतीलाई कारागारभित्रबाट बाहिर निकाल्न थालेपछि त्यहाँ रहेका अन्य कैदीबन्दीले नाराबाजी गर्दै प्रहरीमाथि आक्रमण गर्न थालेको झापा प्रहरीले जनाएको छ।

लावतीको सरुवा रोक्नु पर्ने माग राखेर कारागारभित्र रहेका कैदीबन्दी आन्दोलनमा उत्रेका थिए। उनीहरुले प्रहरी प्रशासनको विरोध गर्दै कारागारभित्रबाट प्रहरीलाई ढुंगा, इटालगायतले प्रहार गर्दै कारागारभित्रै टायर बालेर विरोधमा उत्रेका थिए। स्थिति तनावग्रस्त बन्दै गएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्नु परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी दुर्गाराज रेग्मीले बताए।

झापाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)शिवराम पोखरेलका अनुसार मनोज लावतीलाई सरुवा गर्न खोज्दा कारागार तनावग्रस्त बनेको हो। झुम्का सरुवा भएका लावतीलाई कारागारभित्रबाट झिक्न खोज्दा कैदीबन्दीहरुले विरोध गरेका हुन्। कारागार क्षेत्र तनावग्रस्त भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले सामान्य बल प्रयोग गर्नु परेको बताउँदै, सिडिओ पोखरेलले भने, ‘सरुवा गर्न खोज्दा केही समय स्थिति बाहिर गए पनि पछि लावतीलगायत अन्य कैदीबन्दीसँग कुरा भएपछि अवस्था सामान्य बन्यो। स्थितिलाई सामान्य पार्न तत्काललाई कैदीबन्दीको सरुवा नगर्ने सहमती भएको छ।’

झापा कारागारको भाइ नाइकेसमेत रहेका मनोज लावती कर्तव्य ज्यान मुद्दामा ७ वर्षदेखि कैद सजाय भुक्तान गरिरहेका छन्। झापाबाट झुम्का सरुवा भएका लावतीको सरुवा रोक्नु पर्ने माग राख्दै कैदीबन्दीहरुले आन्दोलन गरेको थिए। आन्दोलनका क्रममा दुवै पक्षतर्फ कुनै भौतिक तथा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

सरुवा भएका कैदीबन्दीहरुलाई लिन गएको प्रहरी टोलीमाथि कारागारभित्र रहेका कैदीबन्दीहरुले आक्रमण गर्न थालेपछि सामान्य बल प्रयोग गर्नु परेको बताउँदै, एसपी रेग्मीले भने, ‘लावतीसहित ४ जनाको सरुवा भएको थियो। उनीहरुलाई कारागारभित्रबाट झिक्न खोज्दा झडप भएको हो। उनीहरुले त्यहाँ कैद सजाय भुक्तान गरिरहेका कैदीबन्दीहरुलाई सरुवा गर्न नपाइने र सरुवा रोक्नु पर्ने माग राख्दै विरोधमा उत्रेका थिए।’

कारागारभित्रबाट प्रहरीलाई ढुंगा, इटालगायतले प्रहार गर्दै कारागारभित्रै टायर बोलेर आगजनी गरेको र कारागारको पर्खालमा कैदीबन्दीहरु आउन थालेपछि स्थितलाई नियन्त्रणमा लिन हवाइ फायरका साथ आश्रृग्याँस प्रहार गर्नु परेको एसपी रेग्मीले बताए। उनले स्थिति नियन्त्रणमा लिन ७ राउण्ड हवाइ फायर र ५ सेल आश्रृग्याँग प्रयोग गरेको बताए। आदोन्लनरत कैदीबन्दीहरुसँग सिडिओ सरको नेतृत्वमा रहेको टोलीले वार्ता गरी तत्काल कसैलाई पनि सरुवा नगर्ने भनेपछि स्थिति सामान्य भएको एसपी रेग्मीले बताए।  

प्रकाशित: १९ श्रावण २०८० १४:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App