१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मुक्का प्रहार गर्ने भेटवाल धरौटीमा छुटे

गत असार २० गते कोशी राजमार्ग अन्तर्गत विराटनगर–४ स्थित दूध फारम चोकमा एक साइकल यात्रीलाई मुक्का प्रहार गरेको घटनामा पक्राउ परेका एक जना युवक धरौटीमा छुटेका छन्।

मोरङ जिल्ला अदालतले सोमबार दिएको आदेशबाट विराटनगर–४ का १९ वर्षीय आयुष भेटवाल धरौटीमा छुटेका हुन्। एक जना साइकल यात्रीमाथि भएको अमानवीय घटनामा संलग्न भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले भेटवाललाई धरौटीमा छाड्न आदेश दिएको हो। अदालतको आदेशअनुसार भेटवालले १ लाख रुपैयाँ धरौटी बापत बुझाएपछि रिहा भए।

भेटवालविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दायर भएको छ। घटनामा संलग्न भनिएका १७ वर्षे किशोरलाई पक्राउ गर्न अदालतबाट ३५ दिने म्याद जारी हुनेछ। अर्का संलग्न भनिएका तेह्रथुमको फेदाप गाउँपालिका–४ का ३० वर्षीय रोशन कार्कीविरुद्ध मुद्दा नचल्ने निर्णय सरकारी वकिलको कार्यालयबाट भएको हो।

२० गते राति घटना भएपछि ३ जना फरार भएका थिए। फरार भएका ३ जनामध्ये आयुष भेटवाल २१ गते घरबाटै पक्राउ परे भने अन्य फरार भएका थिए। उनीहरु हालसम्म पनि फरार नै भएको प्रहरीले जनएको छ।काम सकेर साइकलमा घर फर्कँदै गरेका विराटनगर–६ का २७ वर्षीय पवनकुमार साहको अनुहारमा आयुषले राति ८ बजेतिर मुक्का प्रहार गरे। आयुषको मुक्का प्रहार सहन नसकेर साह साइकलसहित सडकमा लडेका थिए।

सडक छेउमा रोकेर राखेको बा १५ च ३४४५ नम्बरको कारमा सवार आयुष दौडिएर आए एक्कासि साहलाई मुक्का प्रहार गर्छन्। मुक्का प्रहारपछि बेहोस भएर ढलेका साह घोप्टो परिरहेको रगताम्मे अवस्थामा अमानवीय तवरबाट दुवै खुट्टा समातेर घिसार्दै आयुषले सडक किनार लगाइ दिन्छन्।साथैमा रहेको अर्का १७ वर्षीय किशोरले साह चढेको साइकल छेउमा फ्यालिदिन्छन्। उनीहरूले साहलाई कुट्नु पर्ने त्यस्तो कुनै करण नभई गलत दिशाबाट साइकल कुदाएको भन्दै कुटपिट गरेको थिए।

भेटवाल सवार कारका चालक रोशन कार्की घटनाका प्रत्यक्षदर्शी हुन्। कार्कीकै अगाडि घटना हुँदासमेत मानवीयता नदेखाई उनीसहित ३ जनाले घाइते साहलाई छाडेर भागे। घटना हुन नदिन तथा घाइतेलाई उपचारका लागि लैजान कुनै भूमिका खेलेको सार्वजनिक भएको भिडियोमा देखिँदैन। कार्कीविरुद्ध मुद्दा नचल्ने निर्णय भएको छ भने १७ वर्षीय किशोरविरुद्ध ज्यान मार्ने उद्योग मुद्दाको मतियारका रूपमा मुद्दा दर्ता भएको छ।

गलत दिशाबाट साइकलमा आएका साहले अपशब्दसहित गाली गरेपछि रिसको झोकमा आएर मुक्का प्रहार गरेको आयुषले स्वीकार गरेका छन्। उनले मुक्का प्रहारबाट साह ढलेपछि मरेको ठानेर किनारमा छाडेर भागेको बयान अनुसन्धानका क्रममा आयुषले भनेका छन्।

प्रकाशित: १५ श्रावण २०८० १५:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App