१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

किसानको मुख्य समस्या नै बाँदर

भोजपुरका किसानलाई बाँदरबाट अन्नबाली जोगाउन मुस्किल पर्न थालेको छ। बाँदरको उपद्रो बढेपछि तल्लो भेग तथा वन जंगल आसपासका बस्तीका किसान समस्या परेका हुन्।

मकै पाक्ने समय भएकाले बाँदर खेतबारीमा पसेर  अन्नबाली नष्ट पारेपछि उनीहरू हैरान भएका छन्। बाँदरको कारण जिल्लाका अधिकांश भूभागका स्थानीयले समस्या भोग्दै आएका छन्।

धेरै समस्या हुने ठाउँमा वैकल्पिक बाली लगाउँदा समेत दुःख दिने स्थानीयको भनाइ छ। बाँदरले बास्तिम, दलगाउँ, मानेभञ्ज्याङ, खावा, कोट, गोगने, लेखर्क, बोखिम, धोद्लेखानी लगायत ठाउँमा बढी मात्रामा दुःख दिने गरेको छ। बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका स्थानीयवासीको भनाइ छ।

भोजपुरका किसानलाई बाँदरबाट अन्नबाली जोगाउन मुस्किल पर्न थालेको छ। बाँदरको उपद्रो बढेपछि तल्लो भेग तथा वन जंगल आसपासका बस्तीका किसान समस्या परेका हुन्।

बाँदर नियन्त्रणको लागि सरकारले उचित विकल्पको खोजी गर्नुपर्ने रामप्रसाद राई गाउँपालिका-४ दलगाउँका स्थानीय तीर्थबहादुर प्रधानले बताए। बाँदरको आतंक यसरी नै बढ्दै जाने हो भने अबको आठ/दश वर्षमा धेरै बस्ती खाली हुने उनको भनाइ छ।

‘बाँदर नियन्त्रणमा सरकारले उचित विकल्प ल्याउन आवश्यक छ’, स्थानीय जासी प्रधानले भने, ‘बाँदरको समस्या धेरै नै छ। कहिले बाँदर नपुगेका ठाउँमा समेत बाँदरले अन्नबाली खाएको अवस्था छ। नियन्त्रणमा ध्यान नदिने हो भने धेरै बस्ती खाली हुने अवस्था छ।’

बाँदरले अन्नबाली उत्पादनमा बाधा गरेपछि धेरै मानिसले आफ्नो खेतबारी बाँझो छाडेका छन्। ‘बाँदरको उपद्रो बढ्दो छ’, उनले भने, ‘एक घण्टा मात्र बालीमा पस्न पायो भने वर्षभरि खाने अन्न छिन भरमै खाइदिन्छ। बाँदर नियन्त्रण गर्न नसकेपछि खेतबारी बाँझो छाडेर किनेर खानुपर्ने अवस्था छ।  गाउँबस्ती नै आतङ्कित बनेको छ।’

रामप्रसाद राई गाउँपालिका-४ दलगाउँका स्थानीय बाँदरको आतंक बढेपछि बस्ती छाडेर हिंडेका छन्। बाँदरले बस्तीमा पसेर अन्नबाली खान थालेपछि कतिपय स्थानीय विस्थापित समेत भएका हुन्। बाँदरले बस्तीमा पसेर दुुःख दिन थालेपछि यहाँ दशभन्दा बढी घर स्थानीयले गाउँ नै छाडेका स्थानीयवासी टेकबहादुर तामाङले बताए।

अन्नबाली जोगाउन समस्या भएपछि बाध्य भएर बस्ती छाड्नुपर्ने अवस्था आएको उनको भनाइ छ। ‘बाँदरको कारण बस्ती नै खाली भएको छ’, उनले भने,‘वर्षभरि खानका लागि लगाएको अन्नबाली छिनभरमा नष्ट पार्छ। बारीमा कटेरा बनाएर हेरचाह गर्दा पनि सम्भव हुँदैन।’

दश/बाह्र वर्षसम्म कमै मात्रामा बाँदर लाग्ने गरेको भए पनि पछिल्लो समय तल्लो भेगका मानिस अन्यत्र गएपछि गाउँभरि नै बाँदरको आतंक बढेको टेम्केमैयुङ-६ कोटका स्थानीय इन्द्रबहादुर राईले बताए। बाँदरको कारण गाउँबस्तीमा बस्न नसक्ने अवस्था आएको उनको भनाइ छ।

‘बाँदरले हामीलाई अति नै समस्यामा पारेको छ’, उनले भने, ‘बारीमा लगाएको हिउँदेबाली सम्पूर्ण नष्ट पारेको अवस्था छ। बाँदरले लगाएको बाली नष्ट पारेपछि यस वर्ष खेतमा गहुँ छरेको हो। अन्नबाली जोगाउन अति नै समस्या छ।’

बाँदर मकैको थाग्रा धानको कुनिउ, बगैंचाका फलफूलमा आउन थालेपछि स्थानीय समस्यामा परेका हुन्। स्थानीयले ससाना ठहरा बनाएर अन्नबालीको हेरचाह गर्ने गरेका छन्। बाँदर हेरचाह गर्न परिवारका दुईदेखि तीन जनाको काम नै त्यही हुने गरेको स्थानीयको भनाइ छ। बाँदरलाई यन्त्र उपकरण पड्काएर तर्साउने गरे पनि पछिल्लो समयमा टेर्न  छाेडेकाे भोजपुर नगरपालिका-५ का स्थानीय कमला थापाले बताइन्।

अन्नबाली जोगाउन समस्या भएपछि बाध्य भएर बस्ती छाड्नुपर्ने अवस्था आएको उनको भनाइ छ। ‘बाँदरको कारण बस्ती नै खाली भएको छ’, उनले भने,‘वर्षभरि खानका लागि लगाएको अन्नबाली छिनभरमा नष्ट पार्छ। बारीमा कटेरा बनाएर हेरचाह गर्दा पनि सम्भव हँुदैन।’

‘बाँदर धपाउने यन्त्र पड्काएर थर्साउँदा पहिला पहिला त भाग्थे’, उनले भने, ‘अहिले त धपाउँदा टेर्दैनन्। भगाउन पनि गाह्रो छ। दशदेखि पन्ध्र मिनेट मात्र बालीमा पस्न पाए भने सखाप नै पार्छन्। बाँदरले हैरान बनाएको छ।’

बाँदर आतंकका कारण धेरै स्थानीय गाउँ छाड्न बाध्य रहेको टेम्केमैयुङ गाउँपालिका–६ कोटका वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए। यहाँका २० भन्दा बढी घर परिवार बाँदरको कारण विस्थापित भएको वडाध्यक्ष नेपालको भनाइ छ।

‘मेरो वडामा बाँदरको अत्यन्तै धेरै समस्या छ’, वडाध्यक्ष नेपालले भने, ‘यहाँको मुख्य समस्या नै बाँदर बनेको छ। नियन्त्रण गर्न धेरै उपाय लगाइयो। दिनानुदिन बाँदरको संख्या बढ्दो छ। बाँदरले धेरै दुःख दिएपछि स्थानीयवासीले बस्ती नै छाडेको छ।’

बाँदरको व्यवस्थापनको लागि राज्यले उचित खालको कार्यक्रम ल्याउनुपर्ने वडाध्यक्ष नेपालको भनाइ छ। स्थानीय स्तरबाट मात्र गरिएको कोसिसले बाँदरको व्यवस्थापन गर्न नसकिने उनले बताए। बाँदर समस्या अन्त्यका लागि राज्यले ध्यान दिनुपर्ने उनको भनाइ छ।

धेरै किसानको मुख्य समस्या नै बाँदर बनेको अवस्था छ’, उनले भने, ‘स्थानीय स्तरबाट  नियन्त्रण सम्भव छैन। दैनिकजसो स्थानीयको गुनासो आउँछ। बाँदरले बस्ती उजाड बनाएको अवस्था छ। उर्वर भूमि बाँझो बसेका छन्। राज्यले उचित विकल्पको खोजी गर्न आवश्यक छ।’

प्रकाशित: १५ श्रावण २०८० ०४:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App