६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

पर्यटकीय सहर पोखराको सडकमा छताछुल्ल फोहोर

पोखराको चिप्लेढुंगामा मुल सडकछेउमै थुपारिएको फोहर। तस्बिरः नागरिक

केही दिनदेखि पोखरा सहरको फोहोर उठेको छैन। पर्यटकीय सहर पोखराको मुख्य र भित्री सडकको चोक चोकमा यति बेला फोहोरको थुप्रो लागेको छ। 

अझ रातीको समयमा वर्षा हुँदा भेलले बगाएको फोहोर बगेर बिहानीपख सडकमा पुग्दा छताछुल्ल देखिने गरेको छ। चोक चोकमा फोहोरको थुप्रो थपिँदै जाँदा यहाँ दुर्गन्ध फैलिन थालेको छ। बजारको मुख्य सडकमा अहिले फोहोर थुप्रिएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने बेलामा पोखरा महानगरपालिकाले १४ नम्बर वडाको बाच्छेबुडुवास्थित पुरानो ल्याण्डफिलसाइट बन्द गरेर पोखरा–३२ को लामेआहालस्थित सेतीनदि किनारमा फोहोर व्यवस्थापन गर्न थालेको थियो। स्थानीयको विरोधका बाबजुद पनि महानगरले बढिमा ६ महिनाका लागि भन्दै त्यहाँ फोहोर खसाल्न थालेको थियो। ६ महिनाभित्र स्थायी संरचना बनाउने र त्यसपछि लामेआहालमा पनि फोहोर फ्याँक्न छाड्ने भनेर महानगरले त्यो बेला स्थानीयलाई आश्वासन दिएको थियो।

महानगरले गत पुस मध्यदेखि लामेआहालमा सहरको फोहोर फ्याँक्न थालेको थियो। तर, यो अवधिमा लामेआहाललाई उचित व्यवस्थापन गर्न नसकेको भन्दै स्थानीयले विरोध गरेपछि सहरको फोहोर उठ्न रोकिएको हो। स्थानीयले लामेआहालमा आवश्यक पूर्वाधार नबनाएको, फोहर खन्याएपछि नपुरेको, सडकमा जथाभाबी फोहर खसालेको, दुर्गन्ध फैलिएको र ती समस्या समाधान गर्न आग्रह गर्दा हानगरले नटेरेको भन्दै स्थानीयले सहरको फोहोर लैजान रोकेका हुन्। स्थानीयको अवरोधपछि केही दिनदेखि बजारको फोहोर उठ्न सकेको छैन। अहिले पोखरा सहरका सडकका ठाउँ ठाउँमा फोहोरको पोका यत्रतत्र देखिन्छन्।

स्थानीयका अनुसार महानगरले लामेआहालमा फोहोर खन्याउने बेला प्रभावित क्षेत्रका बासिन्दासँग सम्झौता गरेको थियो। सम्झौता अनुसार राजमार्गदेखि फोहोर खसाल्ने ठाउँसम्मको सडक मर्मत गर्ने, फोहोर खसालेपनि दिनहुँ पुर्ने, दुर्गन्ध फैलिन नदिने, ६ महिनाभित्र स्थायी व्यवस्थापन गर्ने भनिएको थियो।

अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको दिन नजिकिँदै गर्दा बाच्छेबुडुवाको पुरानो ल्याण्डफिलसाइट कुनैपनि हालतमा हटाउनुपर्ने दबाबमा रहेको महानगरले स्थानीयसँग बढीमा ६ महिनाका लागि फोहोर व्यवस्थापन गर्ने ठाउँ मागेको थियो। फोहोर व्यवस्थापन गर्दा कुनै समस्या नआउने गरी काम गर्ने वचन लिएर फोहोर फ्याकेको महानगरले यो अवधिमा सम्झौता अनुसार काम नगरेको भन्दै स्थानीयले विरोध जनाएका हुन्।

‘विमानस्थल उद्घाटनका कारण समस्या पर्‍यो, फोहोर व्यवस्थापन गर्ने ठाउँ चाहियो भनेर हामीसँग बढीमा ६ महिनाका लागि महानगरले समय मागेको हो। महानगरको बासिन्दा भएको नाताले हामीले पनि उचित व्यवस्थापन गर्नेगरि फोहोर फ्याँक्ने ठाउँ दिएका हौ। तर, व्यवस्थापनको तरिका उचित भएन,’ फोहोरमैला व्यवस्थापनका निम्ति बनेको स्थानीय समितिका सहसचिव भुवानीप्रसाद पौडेलले भने, ‘महानगरको फोहोर व्यवस्थापन शैली पनि फितलो भयो। ६ महिनाका लागि भनेर ठाउँ मागेकोमा त्यसपछि पनि स्थायी समाधान गर्न चाहेन। त्यसबाहेक फितलो व्यवस्थापनले अहिले लामेआहाल क्षेत्र प्रदूषित भएको छ।’

पौडेलका अनुसार फोहोरका पोका सडकमा खसाल्ने गरिएको छ। ल्याण्डफिल साइटमा फोहर झारेपछि पुर्ने भनिए पनि पुरिएको छैन। त्यसले गर्दा आसपासका क्षेत्रमा दुर्गन्ध फैलिएको छ। फोहोरका कारण आउने गिद्ध, झिांगाका कारण समस्या निम्तिएको छ। फोहोरको लिच्चड बगेर सेतीनदी दुर्गन्धित भएको छ।

‘आसपासका क्षेत्र यतिसम्म दुर्गन्धित भए की फोहोरका कारण सास फेर्न पनि गाह्रो भयो। कम्तीमा फोहोर खसालेपछि पुरिदिएको भए यो समस्या कम हुने थियो। तीन किलोमिटर परसम्म पनि दुर्गन्ध हुने गरेको छ,’ उनले भने, ‘६ महिनाका लागि भनेकोमा आठ महिना लाग्दा पनि अन्यत्र लैजाने छाँटकाँट देखाएन। सबैभन्दा बढी समस्या दुर्गन्धका कारण भयो।’  उनका अनुसार फोहोरका दुर्गन्धका कारण आसपासका गाउँमा भाइरल ज्वरो बढेको छ। महानगरले स्थानीयसँग गरेको सम्झौता कार्यान्वयन नगरेकोले फोहोर खसाल्न नदिएको र माग पुरा नभएसम्म झर्न नदिने पनि उनले बताए।

महानगरका प्रवक्ता मोतीप्रसाद तिमिल्सेनाका अनुसार स्थानीयको अवरोधका कारण सहरको फोहोर नउठेको हो। फोहोर खसाल्ने विषयमा स्थानीयसँग छलफल भइरहेको उनले बताए। स्थानीयसँग यसअघि भएको सम्झौता अनुसार बाटो ग्राभेल गर्ने काम भइरहेको उनले बताए। फोहोर खसालेपछि दैनिक रुपमा माटोले पुर्ने भन्ने यसअघिकै सहमति अनुसार काम भएको उनले बताए। ‘वर्षाद्को सिजन भएकोले कहिलेकाहीँ पूर्न नपाइएको हो। नत्र पुर्ने काम भएको छ,’ उनले भने, ‘६ महिनाका लागि भनेर त्यहाँको ठाउँ उपयोग भएको हो। स्थायी समाधानका लागि प्रयास भइरहेको छ।’

६ महिनाका लागि पोखरा–३२ को त्यो ठाउँ उपयोग भएको र त्यो अवधिमा स्थायी समाधान गर्ने भनिए पनि अझै त्यसले पूर्णता नपाएको उनले बताए। प्रवक्ता तिमिल्सेनाका अनुसार पोखरा–३३ को पूँणिटारमा ८५० रोपनी जग्गामा महानगरले स्थायी संरचना बनाएर फोहोर व्यवस्थापन गर्ने तयारी गरेको छ। तर, जग्गा प्राप्तीको समस्याले गर्दा केही ढिला हुन गएको उनले बताए।

‘स्थायी समाधानका लागि पोखरा–३३ को पूँणिटारमा ८५० रोपनी जग्गा व्यवस्थापन गर्ने काम हुँदै छ। त्यसपछि ग्लोबल टेण्डरको प्रक्रिया अघि बढ्नेछ,’ तिमिल्सेनाले भने, ‘सरकारी प्रक्रियाका कारण केही ढिलाइ भएकै हो। त्यो बेलासम्म अहिलेकै ठाउँमा उचित तरिकाले व्यवस्थापन हुन्छ।’

वर्षाको बेला भएको र सहरवासीले सडक किनारमा फोहोर फ्याँकिदिँदा बढी समस्या निम्तेको उनले बताए। ‘रातीको समयमा सडक किनारमा फोहोर राखिदिएपछि पानीको भेलले बगाएको छ। नागरिकले केही दिनका लागि घरमै व्यवस्थापन गरेको भए फोहोर सडकमा आउँदैनथ्यो,’ उनले भने, ‘फोहोर उठाउन समस्या भएको बेलामा नागरिकले पनि सडकमा नफ्याँके हुन्थ्यो, तर, त्यसमा कसैले गम्भीरता देखाएनन् । सहरवासी आफै सचेत बनेर केही दिनका लागि घरभित्रै फोहोर राखिदिने हो भने सडक दुर्गन्धित हुँदैन।’

पोखरामा दिनमा ३० वटा गाडीले सहरभित्रको फोहोर संकलन गर्छ। दिनमा करिब एक सय टन फोहर ल्याण्डफिलसाइटमा फ्याँक्ने गरिएको थियो। त्यसबाहेक अस्पतालबाट निस्कने थप सात टन जति फोहोर हुन्छ। एउटा गाडीले दिनमा तीनट्रिपसम्म फोहोर उठाउने गरेको छ।  

प्रकाशित: १३ श्रावण २०८० १०:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App