४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

अझै हटेन छाउ प्रथा

फाइल तस्बिर

भौगोलिक सुन्दरता तथा जैविक एवं प्राकृतिक विविधताले मुलुकको कर्णाली क्षेत्र जति सुन्दर छ, यस क्षेत्रमा कायम रहेका कुप्रथाहरूले भने यो सुन्दर पक्षलाई नै छायामा पारिदिएको महसुस हुने गर्छ।  

विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्र, प्राकृतिक तथा जैविक विविधता र बहुसांस्कृतिक परम्पराले कर्णाली क्षेत्र निकै चर्चामा रहे पनि यहाँको समाजमा व्याप्त छाउपडी, बालविवाहलगायत महिला हिंसाका अरू अन्धविश्वासका कारण उत्तिकै मात्रामा बदनाम पनि हुन पुगेको छ। सरकारी संयन्त्र र सामाजिक संघसंस्थाहरूले जति नै प्रयास गरे पनि कर्णाली प्रदेश भन्ने बित्तिकै अधिकांश नागरिकको दिमागमा छाउपडी, बालविवाह प्रथा कायम रहेको क्षेत्रका रूपमा स्मरणमा आइहाल्छ। यो नहोस् पनि कसरी ? यिनै कुप्रथाका कारण यहाँका सयौं महिलाले बर्सेनि अकालमै ज्यान गुमाउनुपरेको छ।  

यहाँ यस्ता वियोगका प्रशस्त उदाहरण भेटिन्छन्। कलकलाउँदो उमेरमा महिनावारी अर्थात् स्थानीय भाषामा छाउ भएपछि गोठमै बस्न बाध्य बनाइएका कारण यहाँका महिलाहरू मृत्युको मुखमा पुग्न बाध्य छन्। छाउपडी र त्यसमाथि अझै बोक्सीजस्ता अन्धविश्वासको जरो यो प्रदेशमा अझै उखेल्न सकिएको छैन। यिनै कुप्रथाहरूले अझै पनि यहाँका महिलाहरूको ज्यान लिइरहेको छ। छाउपडी प्रथाका कारण बर्सेनि दर्जर्नाैं महिला अकालमै ज्यान गुमाउन बाध्य छन्। त्यसको खासै रोकथाम तथा उन्मूलन हुन सकेको छैन।  

साबिकको मान्म गाउँ विकास समिति २०७१ साल वैशाखमा छाउपडीमुक्त गाविस घोषणा गरे पनि अहिले प्रभावहीन भएको छ। छाउपडी प्रथामुक्त भएको ९ वर्ष बितिसक्दा पनि यहाँका महिला छाउगोठमा बस्न छोडेका छैनन्। अभियानका क्रममा गोठ भत्किए पनि सोचाइमा परिर्वतन आउन नसक्दा अहिले महिला कपडाका पाल हालेर पनि छाउपडी बस्न बाध्य छन्।

खाँडाचक्र नगरपालिका–६ की धनसरा विकले छाउपडी प्रथा अन्त्य गर्नका लागि एक दुई दिन रमझम कार्यक्रम गरेर क्षणिक परिर्वतन गर्नुभन्दा सोचमै परिवर्तनको आवश्यकता रहेको बताइन्। ‘आफूलाई त घरभित्र नै बस्न पाएको भए हुन्थ्यो भन्ने लाग्छ,’ विकले भनिन्, ‘तर के गर्नु, घरमा सासू ससुराले पहिलादेखि चलेको चलन बिग्रियो भने देउता रिसाउँछन् भन्नुहुन्छ अनि बाहिर बस्न बाध्य हुन्छौं।’ उनले भनिन्, ‘महिनावारी भएको समयमा गोठभित्र बस्दा सर्प, किरा, बाघ, भालुको आक्रमणबाट महिलाको ज्यान गएका घटना धेरै छन् तर यो देख्दादेख्दै पनि छाउगोठजस्तो कुप्रथाको अन्त्य हुन भने सकेको छैन।’  

खाँडाचक्र नगरपालिका उपप्रमुख गणेशबहादुर शाहीले पश्चिमी क्षेत्रमा छाउपडी समस्या विकराल बन्दै गएको भन्दै यसलाई अन्त्य गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए। अहिले पछिल्लो नयाँ युवा पुस्ताले परिवर्तन चाहे पनि पुरानो पुस्ताले अहिले सहजै मानेको छैन।  

प्रकाशित: ९ श्रावण २०८० ०२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App