हिमालपारिको जिल्ला मनाङको माथिल्लो भेग यतिबेला यार्तुङमा रमाइरहेको छ। पाँचदिनदेखि चलिरहेको यार्तुङ मेला सोमबार सकिएको छ। हरेक वर्ष एकै समयमा त्यहाँका बासिन्दाले यार्तुङ पर्व मनाउँछन्।
यार्तुङको सबैभन्दा महत्वपूर्ण पक्ष भने कै घोडादौड हो, जुन त्यहाँका बासिन्दाले वर्षाै अघिदेखि नियमित पर्वको रुपमा मनाउँदै निरन्तरता दिईरहेका छन्। यार्तुङ तिब्बतीयन शब्द हो। तिब्बती भाषामा ‘यार’को अर्थ ‘वर्खा’ र ‘तुङ’को अर्थ ‘मेला’ हुन्छ। वर्खामा मनाईने मेलाको रुपमा यसलाई मनाउँदै आईएको स्थानीयले बताएका छन्।
मनाङको माथिल्लो क्षेत्रमा पर्ने मनाङ ङिस्याङ गाउँपालिकाको ४,६,७,८ वडामा यो पर्व यतिबेला मनाइएको छ। गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार पात्रो हेरेर यो मेला मनाइन्छ। ‘यहाँका बासिन्दाको पूख्र्याैली चाँड हो। हरेकवर्ष एकै समय र अवधिका लागि मनाईन्छ, तर, पात्रो हेरेर केहीदिन तलमाथि हुनसक्छ,’ घलेले भने, ‘वर्षायाममा यो मेला पर्ने भएकोले त्यस क्षेत्रमा पुगेका पर्यटक पनि रमाउँछन्। तर, यो बेला पर्यटकहरु निकै नै कम छन्। किनकी यो बेला सिजन होईन।’ अहिले यार्तुङ भईरहेको गाउँ अन्नपूर्ण फेरो पदमार्गमा पर्छ।
उनका अनुसार तिब्बती पात्रो अनुसार हरेक वर्ष यार्तुङ सुरु हुने दिन एउटै हुन्छ। अन्त्य हुने दिन भने तिथि अनुसार फरक पर्न सक्ने उनले बताए। तिब्बती पात्रो अनुसार एकै समयमा सुरु हुने यार्तुङ नेपाली पात्रोसँग नमिल्दा वर्षेनी हुने यो गतिविधिको दिन तोक्न नसकिने उनले बताए। ‘अहिले पाँचदिनसम्म मेला चल्यो, सोमबार सकिएको छ,’ उनले भने।
हिमाली जिल्ला मनाङसँगै मुस्ताङ, गोरखाको माथिल्लो क्षेत्र चुमनुब्री र डोल्पामा समेत यार्तुङ मनाउने चलन रहेको छ। यार्तुङको सबैभन्दा बढी रोचक पक्ष नै घोडचढीसँगै देखाइने कलाकौशल रहेको उनले बताए। ‘घोडादौड देखि विभिन्न कलाकौशल यसमा देख्न सकिन्छ,’ उनले भने, ‘अरुतिर घोडा नै देख्न छाडियो, तर, हिमाली जिल्लामा भने यार्तुङकै लागि भनेर पनि घोडा पाल्ने चल्ने चलन कायमै छ।’
अध्यक्ष घलेका अनुसार मनाङको यो क्षेत्रमा १८ देखि ५५ वर्ष उमेर समुहका पुरुषले हिडडुलमा घोडा चढ्नैपर्छ। यो बेला यार्तुङमा दौड्ने घोडा अरु बेला पदयात्रामा गएका पर्यटकको भारी बोक्ने, पैदल हिड्न नसक्ने पर्यटकलाई बोकेर तिलिचो र थोराङला भञ्ज्याङ पार गराउने उनले बताए। ‘सबैजसो बासिन्दाको घरमा घोडा छन्। केहीले मात्र नपालेका हुनसक्छन। कतिपयको घरमा त ७÷८ वटासम्म घोडा रहेका छन,’ उनले भने।
कतिपय हिमाली भेगमा यो पर्व मनाउने क्रममा घोडादौड सहित विभिन्न रोमाञ्चक खेल प्रतिश्पर्धा हुने गर्छ। तर, मनाङमा भने घौडा मात्र दौडाउने उनले बताए। त्यसबाहेक गुम्बामा पुजा गर्ने, सामुहिक रुपमा गीतगाउने, नाचगान गर्ने पनि चलन रहेको उनले बताए। ‘बालिनाली लगाएपछि केही समय फुर्सदिलो भइन्छ। त्यही समयलाई यहाँ सदुपयोग गरिएको छ,’ उनले भने।
वर्षाैदेखि यार्तुङ मनाउँदै आएका स्थानीयबासिले अहिले घरघरमा घोडा पाल्ने कामलाई पनि प्राथमिकता दिएका छन्। घोडाकै अभावमा यार्तुङ प्रभावित भएपछि गाउँलेले ५५ वर्षसम्मका पुरुषले अनिवार्य घोडा चढनुपर्ने नियम बनाएर गाउँलेलाई घोडा पाल्न बाध्यकारी बनाइएको थियो। त्यसकै फलस्वरुप अहिले गाउँमा घोडाको संख्या पनि थपिएका छन्।
माथिल्लो मनाङको तीनधारामा गाउँले भेला हुने र उनीहरु गीत गाउँदै तलको फाँटमा पुग्छन र घोडा दौडाएर त्यहाँ यार्तुङ मनाइन्छ। घोडा कुदाएर सकिएपछि फेरि गाउँले भेला भएर गाउँ फर्किन्छन र गीत गाउन थाल्छन। गीत गाउने र घोडा दौडाउने बाहेक एकदिन गुम्बा जाने उनीहरुको चलन छ। गाउँमा भेला भएका बासिन्दा भोजौ गुम्बामा पुगेर बत्ती बाल्ने र नाचगान गर्ने चलन रहेको उनले बताए।
प्रकाशित: ८ श्रावण २०८० १०:२८ सोमबार