१४ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

कहाँ जान्छ हङकङबाट आएको सुन ?

मं‌गलबार हङकङबाट क्याथे प्यासिफिक एयरको जहाजबाट आएको ब्रेक शुमा राखिएको सुन।

चीनको हङकङ एयरपोर्टबाट नेपालको बाटो हुँदै भारततर्फ जाने सुन भारतीय व्यापारीले खरिद गर्छन् कि गर्दैनन् भन्ने प्रश्न उठेको छ।

खासमा भारतीय व्यापारीहरूले पनि यसरी अवैध रूपमा भित्रिएको सुन खरिद गर्दैनन्। गत पुसमा भारतको राजस्व अनुसन्धान विभाग (डिआरआई) ले भारतमा सबैभन्दा बढी सुन म्यानमार र बंगलादेशबाट आउने भए पनि पछिल्लो समय भारतमा नेपाल स्थलमार्गबाट सुन ल्याउने क्रम बढेको जनाएको थियो। त्यसमा नेपाली सुरक्षा निकायले लापरबाही गरेको जनाइएको थियो।

त्यसपछि राजस्व छलीसम्बन्धी अनुसन्धान गर्ने डिआरआईले गत फागुन पहिलो साता चलाएको अपरेसन ‘गोल्डेन डाउन’ मा नेपाल हुँदै गएको १०१ किलो सुन बरामद गरेपछि त्यो सिधै ‘अन्डरवल्र्ड’ समूहमा पुगेको संकेत गरेको थियो।

त्यतिबेला डिआरआईका अनुसार झन्डै ५१ करोड भारतीय रुपैयाँ बराबरको सुन बरामद हुँदा यसमा संलग्न १० जना पक्राउ परेका थिए। तीमध्ये सात जना सुडानी नागरिक थिए। त्यो सुन नेपाली रुटबाट गएको थियो। 

उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भारतसम्म पुर्‍याएको त्यो सुन सिधै मुम्बई लैजाने र त्यहाँ अन्डरवल्र्डसँग सम्बन्धित एक व्यक्तिलाई भेट्ने बताएपछि भारतीय अधिकारीहरू झस्किएका थिए।

उनीहरूले त्यसको जानकारी सिधै नेपालस्थित भारतीय दूतावासलाई गराएका थिए। त्यसयता भारतीय सुरक्षा अधिकारीहरूले नेपालबाट सुन तस्करी हुने विषयलाई चासोका साथ लिँदै आएका छन्। यस पटकको यो बरामदी पनि आन्तरिक कारणले भन्दा पनि बाह्य दबाब हो कि भन्ने आशंका गरिएको छ। फागुनयता भारतले नेपाली सुरक्षा अधिकारीहरूसँग सो विषयमा चासो राखेका थिए। तर त्यसले कुनै परिणाम नदिएपछि प्रधानमन्त्रीकै तहमा पनि चासो राखेको स्रोतको दाबी छ।

त्यसअघि विमानस्थल भन्सार कार्यालयले पुस ८ मा जाँचका क्रममा एक सुडानी नागरिकका साथबाट १९ किलो सुन बरामद गरेर अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोलाई पठाएको थियो।

फ्लाई दुबईको उडान नम्बर एफ २५३९ बाट आएका सुडानी नागरिक २७ वर्षीय मोहमद अहमद डाफल्ला सराफिल्दनको साथमा अर्धठोस पदार्थका रूपमा रहेको सुन बरामद गरेपछि अनुसन्धानका लागि पठाइएको थियो। त्यही समूहका व्यक्तिलाई भारतीय अधिकारीहरूले १०१ किलो सुनसहित भारतमा पक्राउ गरेको थियो। इन्डियन रेभिन्यु इन्टेलिजेन्सले नेपालका अधिकारीहरूलाई सूचना दिइरहेका थिए।

चीनबाट नेपाल आएको सुनलाई भारतीय सीमा कटाएबापत नेपाली बिचौलिया र भरियाले प्रतिकिलो २ लाख पाउने गरेका छन्। उनीहरूले विमानस्थलबाट आएको सुनलाई थोरै थोरै परिणाममा भारत पुर्‍याउने गरेका छन्।

नेपालबाट विमानस्थल हुँदै पोखरा, भैरहवा, सुनौली नाकासम्म पुग्ने गरेको जानकारहरूको दाबी छ। त्यति मात्र होइन, कञ्चनपुरबाट पनि भारततर्फ सुन जाने गरेको छ। उनीहरूले विमानस्थलदेखि नेपालको नाका कटाएबापत २ लाख पाउने भएकाले पनि नेपाली बिचौलिया र भरियाहरू सुन तस्करीको सहयोगी बन्ने गरेको प्रहरीले विभिन्न समयमा गरेको अनुसन्धानबाट देखिएको छ।

यसमा भारतीय समूहमा नेपालमा सुन अनि घरजग्गा कारोबारमा संलग्नसँगै प्रहरीसमेत जोडिने गरेका छन्। राजनीतिक रूपमा भारतीय सुन तस्कर समूहसँग राजनीतिक दलका नेताहरूसँग जोडिने गरेको र भारतमा नोट बन्दी सुरु भएपछि भारतीय समूह तस्करीमा संलग्न भएको हो। 

उनीहरू पटक पटक तस्करी गर्छन् तर सानो परिमाणमा संगठित रूपमा भन्सारदेखि प्रहरीसम्म सेटिङ मिलाउँदै भारततर्फ सुन लैजाने गरेका छन्।

भारतमा घुस लिनेहरूले नगदभन्दा सुनमा रुचि राख्ने भएका कारण पनि यसको तस्करी बढेको जानकारहरू बताउँछन्। तस्करीमा चिनियाँ समूहको अधिकांश सुन तस्करी भएको तथ्य नेपाल प्रहरीले बाहिर ल्याए पनि यस पटक राजस्व अनुसन्धान विभागले त्यो काम गरेको हो। केही महिना अगाडि इलेक्ट्रिक चुरोट (भेप) को आवरणमा भित्रिएको नौ किलो सुन भन्सार हुँदै प्रहरीमा आएका आधारमा सो तस्करी चिनियाँ नागरिकले गराएको प्रहरीको सिआइबीले खुलाएको थियो।

नेपाली कम्पनी दर्ता गरेर हवाईमार्गबाट अन्य वस्तुको आयातको आवरणमा मंगलबार सुन भित्रिएको देखिँदा भन्सारमा मिलेमतो देखिनु, प्रहरी युनिटहरू बरामद र अनुसन्धानमा संलग्नै नहुनु, राजस्व अनुसन्धान विभागले प्रारम्भदेखि नै अनुसन्धान गर्नुले चिनियाँ समूहको संलग्नता रहेको पुष्टि भएको स्रोतको दाबी छ। विगतमा तस्करहरूले चीनको खासाबाट भित्रिने विभिन्न सामान र कपडाहरूमा लुकाएर सुन नेपाल ल्याउने गरेका थिए।

सिन्धुपाल्चोकको तातोपानी सुन तस्करहरूको ट्रान्जिट प्वाइन्टका रूपमा चिनिँदै आएको थियो। २०७१ मंसिरदेखि माघसम्म मात्र बरामद भएको झन्डै ४५ किलोभन्दा बढी अवैध सुन तातोपानीबाटै भित्रिएको भयो। पुरानो इतिहास हेर्ने हो भने तातोपानी नाका हुँदै नेपाल ल्याइएको अवस्थामा बाह्रबिसेबाट २०५८ पुस २३ गते पहिलो पटक एक किलो सुन प्रहरीले बरामद गरेको थियो। त्यसयता सोही नाकाबाट भित्रिएको सुन विभिन्न परिमाणमा पटक पटक बरामद भइसकेको छ।

त्यस नाकाबाट २०७१ माघसम्म करिब २०० किलो सुन अवैध रूपमा नेपाल ल्याइँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको थियो। २०७१ सालपछि अहिलेसम्म सोही नाकाबाट थप १५० केजी सुन बरामद भएको छ।

त्यसैगरी २०७४ भदौ १९ गते तत्कालीन अपराध महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीको नेतृत्वमा रहेको प्रहरी टोली ८८ केजी सुन बरामद भएको थियो। त्यसको अनुसन्धान अझै बाहिर आएको छैन। सो दिन राजधानीको क्षेत्रपाटीबाट उक्त परिमाणको सुनसहित बा १७ च ६४२७ नम्बरका गाडी चालक मनोज अधिकारी पक्राउ परेका थिए। सो सुन रसुवाको केरुङ नाकाबाट ल्याइएको थियो।

 

यो पनि पढ्नुहोस्

सुन तस्करीको ट्रान्जिट बन्दै ‘नेपाल’, दश वर्षमा ८ क्विन्टल सुन बरामद

 

 

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री कार्यालयबाटै ढुंगानाले दिएको सुन तस्करीको सूचना गृह र भन्सारले वास्ता गरेनन्

 

प्रकाशित: ५ श्रावण २०८० ११:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App