झापा- सीमान्त सहर भद्रपुरको एउटा सुकमवासी बस्ती। उज्यालो छउन्जेल पाको व्यक्ति कोही छाप्रोभित्र रहँदैनन्। सबै जान्छन् स्थानीय श्रम बजारमा पसिना बेच्न। वयोवृद्ध घरको टहलटुकुरो गरेर दिन बिताँउछन्। तिनैमध्येकी एक हुन् ९० वर्षीया मान्दा किस्कु।
स्थानीय चुनावमा उम्मेदवार बनेका, उनीहरूलाई जसरी पनि जिताउने होडमा दौडेका नेता, तिनका पार्टीले निकालेका घोषणापत्र र दिइरहेका वचनको आकार मान्दा किस्कुको सपनाभन्दा धेरै फराकिलो छ।
भद्रपुर–८ को डाँगीबारी चोकबाट दुई सय मिटर दक्षिणमा रहेको सुकुमवासी टोलकी बासिन्दा मान्दाका सपना ठूला छैनन्। दशकौं अघिदेखि बस्दै आएको आफ्नो छाप्रो भएको जमिनको धनीपुर्जा होस् र नाति–नातिनाले पढेर आफ्नै खुट्टामा उभिने अवसर पाऊन्, उनलाई यति भए पुग्छ। उनले नातिनीतिर देखाउँदै भनिन्, ‘त्यति भए पुग्छ। धनीपुर्जा त के हुन्थ्यो र! यसलाई पढाउन पाए पुग्थ्यो।’
मुलुककै 'अग्रणी' भनेर सहरियाले आत्मगौरव गर्ने नगरका बासिन्दाको यो सपनाभन्दा धेरै गुणा ठूलो सपनाको खेती फस्टाएको छ अहिले। स्थानीय चुनावमा उम्मेदवार बनेका, उनीहरूलाई जसरी पनि जिताउने होडमा दौडेका नेता, तिनका पार्टीले निकालेका घोषणापत्र र दिइरहेका वचनको आकार मान्दाको सपनाभन्दा धेरै फराकिलो छ।
तर, सधैंभरि आश्वासनको खेतीमै रमाइरहेको आरोप खेपिरहेका दलहरूले नेतृत्व गरेको लोकतन्त्रले समाजको सबैभन्दा पिँधको वर्गको आधारभूत सपना पनि पूरा गर्न सकेको छैन। जिल्ला सदरमुकामसँगै जोडिएको गाउँका सन्थाल समुदायका नागरिकको कहालीलाग्दो विपन्नताले यही देखाउँछ। अझ दलहरूप्रतिको तिनको अविश्वासको पारो त यति उच्च छ कि दलहरुले जतिसुकै ठूला सपनाको रट लगाए पनि उनीहरूलाई छुनेवाला छैन।
यसको कारण छ। विपन्नताको भुंग्रोमा फसेर उनीहरुले जेजस्तो दुःख भोगेका छन्, त्यसले उनीहरुलाई बिरक्तिन बाध्य पारेको छ। चुनावको बेला बाहेक आडभरोसा दिन कोही पुग्दैनन्। उनीहरू आफैंसँग समस्यासँग जुध्नसक्ने आर्थिक सामर्थ्य छैन। उमेरले ९५ हाराहारी पुगिसकेकी यही टोलकै गौरी हेमरमले भोगेको पारिवारिक वियोग यसको एउटा प्रमाण हो। उनका वृद्ध पतिले लामो समयसम्म गाउँकै एक 'महाजन' को जग्गामा काम गरे। बुढेसकालमा राम्ररी उपचार पनि नपाई उनी केही महिनाअघि बिते। महाजनकै खेतमा काम गर्दागर्र्दै छोराको पनि मृत्यु भयो। 'मेरा श्रीमान्, छोरा पनि छैनन्, म पनि मर्ने बेला भयो,' उनले भनिन्, 'मलाई नातिनीको पढाइको चिन्ता छ।' उपचार पाएको भए पति र छोरालाई बचाउन सकिने उनको आशा थियो। 'तर त्यो बेला कसैले केही सहयोग गरेनन्', उनले सुनाइन्, '१५ दिनजति भो, गाउँमा आउँदै नमस्कार गर्दै फर्किनेहरू धेरै छन्।' उनलाई थाहा छ, यो बेला सबैलाई उनको मत चाहिएको छ, त्यसैले उनको दैलोमा भीड छ। तर, जति बेला उनी पति र छोराको जीवनको याचना गर्दै थिइन्, सबै बेपत्ता थिए।
अहिले भोट माग्दै घरघरै आइपुग्ने उम्मेदवारसँग अन्यत्रका मतदाताका माग अनेकौं हुन्छन्। तर, यो टोलका बासिन्दाको माग भने समान छ– शौचालय। सन्थाल समुदायका करिब ५० घरपरिवार रहेको टोलका धेरैको घरमा चर्पी छैन। यो गाउँ खुला दिसामुक्त घोषणा भएको धेरै भयो। यसबारे उनीहरुलाई चासो छैन। तर, आफूलाई चर्पी चाहिएको बोध उनीहरुलाई छ। 'हामी आफैं बनाउन सक्ने अवस्थामा छैनौं', गाउँका खेतीवालकोमा दैनिक ज्यालादारीमा काम गर्ने ५४ वर्षे चुल्कु मुर्मुले भने, 'अरुतिर बनाइदिन्छन् भन्ने सुनेका छौं। हाम्रोतिर चाहिँ कोही आएका छैनन्।' अचेल भोट फकाउन छिनछिनमा गाउँ पस्ने कार्यकर्ता र नेताको टोलीले बनाइदिने आश्वासन दिएका छन्। तर, यस्ता आश्वासनको चुल्कु भर मान्दैनन्। 'नेताले भनेजति गरिदे'को भए हाम्रो यस्तै हालत हुन्थ्यो होला?' उनको प्रश्नमा आक्रोश र अविश्वासको मात्रा धेरै छ।
एक कट्ठा १८ धुर ऐलानी जग्गामा बसेका चुल्कुका अनुसार धनीपुर्जाका लागि निवेदन दिएको वर्षौं भयो तर अहिलेसम्म पाएका छैनन्।
गाउँमा शिक्षा र स्वास्थ्यको पनि समस्या रहेको स्थानीयको भनाइ छ। 'हाम्रो समुदायमा धेरैजसो मानिस गरिब छन्, जीविकोपार्जन गर्न दैनिक अर्काको बनिबुतो गर्नुपर्छ, छोराछोरी पढाउन सक्ने आँट पनि छैन, त्यसैले यहाँबाट हामीले भोट हालेका व्यक्तिले हाम्रो क्षेत्रको स्वास्थ्य, शिक्षा, खानेपानी, शौचालय र धनीपुर्जामा ध्यान दिए हुन्थ्यो', उनले भने।
यो टोलका अधिकांशको घरमा सबै पार्टीले झन्डा गाडिदिएका छन्। अधुरो केही छ भने उनीहरूका साना सपना मात्रै हुन्। अचेल भोट माग्न आउनेको भीड ठूलै भए पनि भोट हाल्ने तरिकाबारे बताउन यो टोलमा कोही आइपुगेको छैन। ४२ हजार ५७ जना मतदाता रहेको भद्रपुर नगरको यही टोल र आसपासमै हजारभन्दा बढी मतदाता छन्। तर, मतदानको तरिकाबारे भने उनीहरू बेखबर छन्। 'खै आजसम्म त कोही आएका छैनन्', बिहीबार पुँडी किस्कुले भनिन्।
प्रकाशित: २ असार २०७४ ०२:०७ शुक्रबार