राजश्व अनुसन्धान विभागले बुधबार राती हङकङबाट आएको करिब १ सय किलो सुन बरामद गर्यो। बिहीबार मध्यान्ह्सम्म विभागले सुन तस्करीमा संलग्न भएको आशंकामा ६ जनालाई पक्राउ गरेको अनौपचारिक जानकारी आएको छ। यीमध्ये ४ जनालाई बुधबारै र २ जनालाई बिहीबार पक्राउ गरेको हो।
त्रिभुवन विमानस्थलबाट भन्सार जांच पास भएर आएको सुन राजश्व अनुसन्धानको टोलीले विमानस्थल प्रवेशद्धार हुँदै ट्याक्सीबाट काठमाडौ सहर छिराउँदै गर्दा बरामद गरेको हो। उक्त सुन हङकङबाट स्कुटरको ब्रेकसु र दाह्री काटने रेजमा लुकाएर नेपाल भित्राइएको हो। सुन तस्करीको प्रारम्भिक अनुसन्धान राजश्व अनुसन्धान विभागले गरिरहेको छ।
जम्मा ४ सय ८० अमेरिकी डलर मात्र भन्सार तिरेर उक्त सुन नेपाल छिराइएको पाइएको छ। ब्रकेसु र दाह्री काटने रेजको मूल्याङकनका आधारमा ४८० डलर भन्सार तिराइएको जानकारी आएको छ। ती ब्रेकसु र रेजको आयातकर्ता रेडी ट्रेड प्राली हो।
यी बस्तु गत शनिबार दिउँसो ३ बजेको क्याथे प्यासिफिकको जहाजबाट त्रिभुवन विमानस्थल भन्सार कार्यालयसम्म ल्याइएको हो। कार्यालयको गोदामबाट मंगलबार निकालिएको थियो। त्यही दिन प्रज्ञापन पत्र भरेर भन्सार छुटाइएको थियो।
यो सुन तस्करीकाे अनुसन्धान राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाको प्रत्यक्ष नेतृत्वमा भइरहेको छ। उनले यस घटनाले विगतमा पनि सुन तस्करी भइरहेको हुनसक्ने आशंकालाई बल पुगेको प्रतिक्रिया दिएका छन्।
त्यसो त उनको आशंकालाई बल पुग्ने यस्ता तस्करीका घटना नेपालमा विगत डेढ दशकदेखि बढिरहेका छन्। यसअघि २०७४ साल माघको अन्तिम साता पनि सुन तस्करीको ठूलो घटना सार्वजनिक भएको थियो जुन ‘साढे ३३ किलो सुन तस्करी प्रकरण’बाट परिचित छ। उक्त सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको बताइएको थियो। उक्त सुन बोक्ने भनिएका मोरङ उर्लाबारीका सनम शाक्यको हत्या भएपछि उक्त प्रकरणमा दर्जनौं मानिसहरुको संलग्नता बाहिर आएको थियो। तीमध्ये शाक्यको हत्यासम्बन्धी मुद्दामा संलग्न ८ जनालाई मोरङ अदालतले दोषी ठहर गरेको थियो।
विगतका सुन तस्करी र तीनको अनुसन्धानमा संलग्न सरोकारवाला निकायका प्रतिनिधि तथा उनीहरुले दिएका प्रतिवेदन अनुसार नेपालमा सुन तस्करीमा तीन तहको घेरा छ। पहिलो तहका कारोबारी दुबई, हङकङ र चीन बसेर आफ्नो क्षेत्र कटाइदिनेसम्म जिम्मेवारी सम्हाल्छन्।
दोस्रो तहका नेपाल बसेर सहयोगीमार्फत भन्सार कटाउन सक्रिय हुन्छन्। जानकारका अनुसार दोस्रो तहमा खासा हुँदै सुन भित्राउने र हङकङ तथा दुबईबाट सुन ल्याउने फरक–फरक समूह सक्रिय छन्। तेस्रो तहका कारोबारी भने नेपाल–भारत सीमामा बस्छन्। काठमाडौंमा स्टोर भएको सुन स्थलमार्ग हुँदै भारतीय कारोबारीसम्म पुर्यायाउने जिम्मा उनीहरूकै देखिन्छ। यस्ता कारोबारी बढी वीरगन्ज क्षेत्रमा सक्रिय छन्।
तस्करी सुनको पहिलो प्राथमिकता भारतीय बजार नै हो। त्यहाँ लैजान अप्ठ्यारो हुँदा मात्रै स्थानीय बजार खोजिन्छ। प्रहरी अनुसन्धानमा केही मुख्य कारोबारी र सहयोगीको नाम खुले पनि उनीहरू कारबाहीको दायरामा आइसकेका छैनन्।
विगतका सुन तस्करीका अनुसन्धानबाट आएका प्रतिवेदन अनुसार सुन तस्करी अभियोगमा पक्राउ पर्नेमा नेपालीकै संख्या बढी छ। दोस्रो भारतीय र तेस्रोमा चिनियाँ नागरिक पक्राउ परेका छन्। आर्थिक बर्ष २०६५/६६ देखि सुन तस्करीका घटनाहरु बढ्दै गएका छन्। पछिल्ला वर्षहरुमा ठूला परिणाममा सुन तस्करी भइरहेको छ। विगतका घटना क्रम नियाल्ने हो भने ठूला परिणामका सुन तस्करीका अधिकांश घटना काठमाडौमै सार्वजनिक भएका छन्। एकरडेढ दशक अघिसम्म बढिमा १०/११ किलोसम्मको परिणाम सुन तस्करी हुने गरेको पाइन्थ्यो। पछिल्ला वर्षहरुमा यो परिणाम बढेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार सुन तस्करीमा पक्राउ पर्ने व्यक्तिहरुको संख्या पछिल्ला वर्षहरुमा ह्वात्तै बढेको छ। सबैभन्दा बढि संख्यामा नेपालीहरु नै पक्राउ परेका छन्। दोस्रोमा भारतीय नागरिक र तेस्रोमा चिनियाँ छन्।
तस्करीमा सुरक्षाकर्मीसमेत संलग्न रहेको तथ्य २०६९ असोज १९ को त्रिभुवन विमानस्थल घटनाले पुष्टि गर्छ। दुबई जाने फ्लाई दुबईको उडानबाटै १ करोड २४ लाख रुपैयाँ बराबर विभिन्न विदेशी मुद्रासहित भारतीय नागरिक विनोदकुमार सोनी विमानस्थलमा पक्राउ परे। विदेशी मुद्रा बोकेर सुन किन्न जाने क्रममा सोनी समातिएको अनुसन्धानमा खुल्यो।
प्रकाशित: ४ श्रावण २०८० ०९:२८ बिहीबार