२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बेनी–जोमसोम सडकको रुप्सेमा बेलिब्रिज, भाेलीदेखि पूर्णरुपमा सञ्चालन हुने

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से खोलामा बेलिब्रिज (पुल) निर्माण । तस्वीर सौजन्यः इन्द्रसिंङ शेरचन

कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से खोलामा बेलिब्रिज (पुल) निर्माण सम्पन्न भएको छ। राष्ट्रिय गौरवको आयोजना अन्तरगत पर्ने उक्त सडकखण्डको स्तरोन्नतिसँगै नियमित र सहज रुपमा यातायातका साधन सञ्चालनका लागि बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत ४८ मिटर लामो बेलिब्रिज बिहिबारदेखि नियमित पूर्णरुपमा सञ्चालन भएको छ। 

बि.स २०७७ साउनमा रुप्से झरनामा आएको बाढीले आसपासका क्षेत्रमा कटान सहित क्षती पुगेपछि बेलिब्रिज निर्माणका साथै सडक निर्माण र पहिरो पनि पन्छाउने काम सुरू गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए। ‘बेलिब्रिजको सम्पूर्ण निर्माण सकेर सवारी आउजाउका लागि सञ्चालनमा ल्याइएको छ,। बर्खाको समयमा यात्रुलाई सहज भएको छ,’ प्रमुख प्रजापतिले भने। उनले पुलमाथि गाडी गुडाएर प्रेसर (चाप) नाप्ने काम समेत भएकाले एकपटकमा १७ टनभन्दा माथिका मालबाहक सवारीलाई भने आउजाउमा रोक लगाएको बताए।

उनले पुलको भारवहन क्षमताले थेग्न सक्ने सवारी मात्रै आवतजावत गर्न मिल्ने भएकाले तोकिएको क्षमताभन्दा बढीको सवारीसाधन गुडाएमा कारवाही गरिने बताए। बेलिब्रिज जडान गर्न मुक्तिनाथ निर्माण सेवाले तीन करोड ५६ लाखमा यसै महिना ठेक्का सम्झौता गरेको थियो। कम्पनीमार्फत रुप्सेखोला नजिकै सडक निर्माण र पहिरो पनि पन्छाउने सम्झौता भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । विसं २०६४ मा जडान गरिएको महभिर र पोखरेबगरको बेलिब्रिज त्यहाँ पक्की पुल बनेपछि एक वर्षदेखि प्रयोगविहीन छ। सो मध्यै एक वटा बेनी–बगरफाँट र अर्को रुप्से खोलामा स्थानान्तरण गर्न लागिएको हो । बेनी–जोमसोम सडकखण्ड अन्तरगत बर्खाको समयमा पुलको अभावले सबैभन्दा सास्ती हुने रुप्से झरनामा बेलिब्रिज बनेपछि यात्रुलाई सहज भएको दानाका पर्यटन ब्यवसायी इन्द्रसिंङ शेरचनले बताए ।  

पक्की पुल निर्माणको क्रममा रहेको रुप्सेमा बाढीले तहसनहस बनाएपछि डिजाइन परिवर्तन गरेपछि बेलिब्रिज बनाइएको थियो । गएको आवमा म्याग्दीको सदरमुकाम बेनीदेखि पर्वतको जलजला गाउँपालिका–२ र ३ नम्बर वडा बगरफाँटको बस्तीलाई जोड्ने र अन्नपूर्ण गाउँपालिका–२ मा पर्ने भुरुङ खोलामा बेलिब्रिज जडान गरिएको थियो ।लगातारको बर्षा, भिरालो जमिन,भूमिगत पानी, कमजोर भु–वनावट, कालिगण्डकी नदीको कटानले छियाछिया पारेको सडकमा माथीबाट ढुंगा खस्ने भएकाले साउन, भदौ र असोज महिनामा यात्रु र पैदलयात्रीलाई निकै सास्ती हुने गरेको छ । विभिन्न ठाउँमा नदी कटान र पहिरोले क्षती पुगेपछि स्थानीयबासी, पर्यटकले ज्यानै जोखिममा पारेर यात्रा गर्नुपरेको छ । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गतक विष्फोटक पदार्थको प्रयोगका कारण पहिरोको जोखिम अत्याधिक रहेको छ ।

प्रकाशित: ४ श्रावण २०८० ०६:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App