१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

दश महिनापछि पुल मर्मत: भर्‍याङ लगाउनु पर्ने समस्या हट्यो

मर्मत पछिको जित बजारको पुल तस्बिर: ललित विष्ट

जिल्लाको जितेगडा पुल दश महिनापछि सञ्चालनमा आएको छ। गत वर्षको असोजमा कर्णाली र तिला नदीमा आएको बाढीले आधा बगाएको कर्णालीमाथिको झुलङ्गे पुल दश महिनापछि मर्मत भएर सञ्चालनमा आएको हो।

पूर्वाधार विकास कार्यालयले उपभोक्ता समिति मार्फत पुल मर्मत भएपछि आउजाउ गर्न सहज भएको छ। यस विषयमा नागरिक दैनिकले पटक–पटक खबरदारी गरेको थियो।

पूर्वाधार विकास कार्यालय कालिकोटका प्राविधिक लक्ष्मण पाण्डेले सुरुमा झुलङ्गे पुल बनाइरहेको निकायले आफैँ बनाउने भनेका कारणले ढिलो भएको बताए।

उनले सञ्चारमाध्यममा निकै आलोचना हुन थालेपछि प्रदेश सरकारले तत्काल मर्मत गर्न यही असारमा बजेट पठाएकाे र कार्यालयले ठेक्का खोल्दा कसैले ठेक्का नहालेपछि उपभोक्ता समिति मार्फत पुल मर्मत गरिएकाे जानकारी दिए।

पुल मर्मतका लागि १९ लाख ७० हजार बजेट लागत अनुमान गरिएकाेमा अहिलेसम्म नौ लाख खर्च भएको उनले सुनाए। केही मर्मत अझै बाँकी रहेको भएपनि नागरिकलाई आउजाउ गर्न भने सहज भएको उनको भनाइ थियो।

'लठ्ठालाई कस्न बाँकी छ काम भइरहेको छ। आगामी वर्ष थप भुक्तानी हुनेछ।' उनले भने।

बाढीले आधा पुल बगाएपछि स्थानीयले भर्‍याङ बनाएर काम चलाऊ बनाएका थिए। पुल बगाएको लामो समयसम्म मर्मत नहुँदा नागरिकलाई निकै सास्ती थियो।

एमाले निकट अनेरास्ववियुले पछिल्लो समय जिल्ला प्रशासन कार्यालयमा दिनहुँ सरकारको ध्यानाकर्षण गदै आएको थियो। पुल मर्मत छिटो हुनुपर्ने भन्दै नेकपा एमालेका भातृ सङ्गठन बढी सक्रिय रहेका थिए।

नेकपा एमाले कर्णाली प्रदेश खेलकुद विभाग इन्चार्ज लक्ष्मणबहादुर बमले वर्षात् लागेकाले काठको भर्‍याङ बगाएको र नागरिकलाई पुल अभावले आउजाउ गर्न कठिन भएको भन्दै तत्काल पुल मर्मत गर्न दबाब दिन युवा र विद्यार्थीलाई परिचालित गरेका थियो।

यसरी नागरिक दैनिकको पटक पटकको खबरदारी, स्थानीय नागरिक अगुवाको दबाबले बल्ल पुल मर्मत भएपछि आउजाउ सहज भएको छ।

प्रकाशित: २ श्रावण २०८० १४:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App