कञ्चनपुर – सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरका विभिन्न ठाउँमा जेब्रा क्रसिङ बनाइएको छ।
डिभिजन सडक कार्यालय कञ्चनपुरले दिप तामाकोसी कन्ट्रक्सनलाई रु बीस लाखमा ठेक्का दिई जेब्रा क्रसिङ र सेन्टर लाइनको निर्माण कार्य गराएको हो । बढी भिडभाड हुने गड्डाचौकीदेखि अत्तरियासम्मको एक हजार सात सय स्क्वायर मिटर क्षेत्रमा जेब्रा क्रसिङ र सेन्टर लाइनको निर्माण कार्य गरिएको डिभिजन सडक कार्यालय कञ्चनपुरले जनाएको छ।
गड्डाचौकी, दैजी, महेन्द्रनगर बजारको भानु चोक र झलारी क्षेत्रमा रोड मार्किङ मेसिनको सहायताले जेब्रा क्रसिङ निर्माण गरिएको कन्ट्रक्सनका कर्मचारी दीपक वरुवालले बताए।
विद्यालय, बजार क्षेत्र र बढी भिडभाडा हुने क्षेत्रमा जेब्रा क्रसिङ निर्माण गरिएपछि दुर्घटना न्यूनीकरणमा सघाउ पुग्ने विश्वास ट्राफिक प्रहरी रामनरेश चौधरीको छ।
“पैदल यात्रुले जथाभावी सडक पार गर्दा धेरैको ज्यान जाने गरेकोले यस कार्यलाई न्यूनीकरण गर्न जेब्रा क्रसिङले निकै मद्दत पुर्याउने विश्वास लिएका छौं” उनले भने।
जेब्रा क्रसिङबाट मात्रै सडक पार गर्नका लागि जनचेतनामूलक कार्यक्रमलाई अभियानका रुपमा अगाडी बढाउने ट्राफिक प्रहरीको योजना छ । रासस
प्रकाशित: २८ जेष्ठ २०७४ ०६:४७ आइतबार