५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

मधेसमा सधैं अवैध हतियारको त्रास

धनुषाको मिथिला विहारी नगरपालिका–८ तारापट्टीकी ४२ वर्षीया उषादेवी दास र बारा कलैया नगरपालिका–१८ घर भई तारापट्टीमै बस्ने २२ वर्षीय ओमलाल मण्डल प्रेम सम्बन्धमा थिए। प्रेम सम्बन्ध विवाह बन्धनमा बाँधिन दबाब दिँदा उषादेवी प्रेमीबाटै मारिइन्। प्रेमिकाको हत्या आरोपमा मण्डल धनुषा प्रहरीको हिरासतमा छन्।

प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार तारापट्टीमै घर बनाउने मिस्त्रीका रूपमा काम गर्दै आएका मण्डल उषादेवीसँगको प्रेम सम्बन्धमा रहेको अनुसन्धानबाट खुलेको छ। उषादेवीले विवाह गर्न जिद्दी गरेपछि झगडा हुँदै आएको थियो। १० वर्षअघि पतिको मृत्यु भएपछि गाउँमै रक्सीभट्टी सञ्चालन गर्दै आएकी उषादेवी र मिस्त्रीको काम गर्दै आएका ओमलालबीच डेढ वर्षदेखि प्रेम सम्बन्ध रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ। उषादेवीले पटकपटक विवाह गर्न दबाब दिए पनि ओमलाल टाढिन खोज्थे। जेठ २५ गते राति ११ बजेतिर दुवै जनाबीच विवाहकै विषयमा विवाद भएको थियो। ओमलालले थप्पड हानेपछि उषा बाहिर निस्कन खोजिन्। ओमलालले घाँटी थिचेर उषादेवीलाई मारेको प्रहरी अनुसन्धानमा खुलेको छ।

मधेश प्रदेशका आठ जिल्लामा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म १०३ वटा हत्याका घटना दर्ता, जसमा पेस्तोलको प्रयोगबाट मात्र १९ जना मारिएका छन्।

उषादेवीको मृत्यु भइसकेपछि ओमले शवलाई चाँडो सडाउन उनको कपडा खोलेर नांगै खाल्डोमा गाडेका थिए। सो कपडा पोखरीको अर्को छेउमा गाडेर उषादेवीले प्रयोग गरेको मोबाइलसमेत पोखरीमै फालेको खुलेको प्रहरीले जनाएको छ। घाँटी थिचेर हत्या गरी शव घरभन्दा २० मिटर दक्षिण–पश्चिमतर्फको पोखरीछेउमा गाडिदिएको प्रहरी अनुसन्धानमा खुलेको छ।

उषादेवीको शव जंगली जनावरले निकालेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई सूचना दिएका थिए। स्थानीयबाट सूचना पाएर पुगेको प्रहरीले मृतकको हातको गोदना (ट्याटु) र फुली देखेर पहिचान गरिएको थियो। छोरा सोनु दास पत्नीसहित कमला नगरपालिका–३ लग्मास्थित ससुराली गएपछि घरमा एक्लै भएको मौका छोपी मण्डलले उषादेवीको हत्या गरेको प्रहरीले जनाएको छ। शव गाडेर फरार मण्डललाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ।  

०००

सिरहाको मिर्चैया नगरपालिकास्थित साना सहरी खानेपानी तथा सरसफाइ कार्यालयका सुरक्षा गार्डको काम गर्ने मिर्चैया नगरपालिका–८ का किशोरी रायको धारिलो हतियार प्रहारबाट हत्या भयो। असार १० गते (आइतबार) राति ड्युटी गरिरहेका रायको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या भएको घटना सोमबार बिहान मात्र प्रहरीले स्थानीयबाट जानकारी पाएको थियोे। कार्यालयका पदाधिकारी सुनसरीको इटहरी जान गाडी लिन जाँदा कार्यालय परिसरमा रगताम्मे अवस्थामा रायलाई देखेका थिए। संस्थाका सचिव डिकाराम पोखरेलले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए। उनी ८ महिनादेखि संस्थामा कार्यरत थिए।

सर्लाही र रौतहटबीच पर्ने खोलाको बगरमा घर बनाएर बस्दै आएका ६० वर्षीय गिरधारी सहनीको गोली हानी हत्या भयो। छातीमा गोली हानी हत्या गरिएका उनी खोलाको बगरमा बस्दै आएका थिए।

यहाँको समाजमा एउटा प्रवृत्ति के देखिएको छ भने घरमा अवैध हतियार राख्नेले छरछिमेकमा गर्व अनुभव गर्छन्। मान्छे मार्नभन्दा पनि तर्साउन अवैध हतियार घरमा लुकाएर राख्ने प्रवृत्ति देखिएको छ। लुकाउन सजिलो भएकाले साना अवैध हतियार नियन्त्रण उति सजिलो नभएको प्रहरी अधिकारी बताउँछन्।

०००

वैशाख ३१ गते सप्तरीको रूपनी गाउँपालिकामा–१ रायपुरका राजाराम यादवको खेतमा शम्भुनाथ नगरपालिका–२ खैरबनाका २१ वर्षीय मोहम्मद तफेजुलको हत्या गरिएको शव फेला पर्यो। तफेजुलको हत्याको कारण र हत्यामा संलग्नबारे सप्तरी प्रहरी सुराकबिहीन बनेको छ। शंकाका आधारमा प्रहरीले मानिसलाई नियन्त्रणमा लिँदै सोधपुछ भने गरिरहेको छ।  

०००

खानामा बासी भात दिएको भन्दै धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ पथलैयास्थित अशोक जैसवालको घर भाडामा लिएर बस्दै आएका ३९ वर्षीय भारतीय महिला मीरा भगतलाई आफ्नै छोराले हत्या गरे । उनकै १९ वर्षीय छोरा प्रेम भगतले मिरालाई कुटेरै मारे। प्रहरी हिरासतमा रहेका प्रेमले कुटपिट गरी आमाको हत्या गरेको स्वीकार गरेको डिएसपी वेदप्रसाद गौतमले बताए। मीरा प्रेमकी कान्छी आमा हुन्। पहिले काठको चिर्पटले टाउकामा प्रहार गरी घाइते बनाएको र पछि कपडामा बेरी सुतलीको बोरामा

शव राखी जलाएको प्रेमले प्रहरीसमक्ष स्विकारेका छन्। उनीहरूको घर भारतको बिहार राज्य, बेतिया जिल्लाको नकटरियागन्ज थानास्थित केवरियामा रहेको प्रहरीले जनाएको छ। हत्याका आरोपित प्रेमका बुवा राजु भगतले गाउँकै विवाहित मिरासँग पाँच वर्षअघि दोस्रो विवाह गरेका थिए। पछि जेठी पत्नीसँग खटपट सुरु भएपछि कान्छी पत्नीलाई लिएर तीन वर्षअघि नेपाल आएका थिए। जेठीपट्टिका कान्छा छोरा हत्या आरोपित प्रेम डेढ महिनाअघि मात्रै नेपाल आएर बुवा र कान्छी आमा सँगै बसिरहेका थिए।

० ० ०

असार १९ गते रामगोपालपुर नगरपालिका–१ बसबिट्टिका ३८ वर्षीय कौशल मण्डलले लक्ष्मीपुरका ४४ वर्षीय श्रवण यादवमाथि पेस्तोलले गोली प्रहार गरे। गोली प्रहारबाट घाइते श्रवण उपचारमा छन्। गोली प्रहार गर्ने कारण थियो, श्रवणको मोटरसाइकलको चक्काले कौशलको कुकुरलाई छुनु’। मेरो कुकुरलाई मोटरसाइकलले किच्ने भन्दै झोक्किएर कौशल घर पुगेर पेस्तोल ल्याई श्रवणमाथि प्रहार गरेका थिए। दिनदहाडै रामगोपालपुर चोकमा श्रवणमाथि गोली प्रहार गरेपछि स्थानीयले कौशललाई नियन्त्रणमा लिएर कुटपिट गर्दै प्रहरीको जिम्मा लगाएका थिए। कौशल बसबिट्टीबाट आफ्नो घर लक्ष्मीपुर गइरहेका थिए।

अवैध हतियारको बिगबिगी

मधेस प्रदेशलाई सुरक्षित र शान्त बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगै राष्ट्रिय अनुसन्धानको डिआइजीको कमान्डमा प्रादेशिक सुरक्षा संयन्त्र छ। जिल्लाजिल्लामा तीनवटै सुरक्षा अंगका एसपीको कमान्डमा संयन्त्र छ। सीमादेखि सहरसम्म सुरक्षा सञ्जाल फिँजाइएको छ। तर यस प्रदेशमा अपराध र आपराधिक कार्यको ग्राफ घट्नुको साटो बढ्दै जाँदा स्थानीय असुरक्षित बाँच्न बाध्य छन्।  

सामान्य विवादमा पनि पेस्तोल, कटुवा ताक्ने घटना मधेस प्रदेशमा सामान्य बन्दै गएको छ। मधेस प्रदेशमा अवैध साना हतियारको बिगबिगी बढेको पाइएको छ। अवैध हतियारको प्रयोगबाट घटनामा समेत बढोत्तरी भएको छ। ससाना विवाददेखि रिसइबी, छलफलमा पनि पेस्तोल देखाउने र गोली प्रहार गर्ने घटना मधेसमा नौलो होइन। अवैध हतियारको बिगबिगीका कारण मधेस प्रदेशमा हत्याहिंसाका घटना बढ्ने क्रममा छन्। सामान्य झगडा र वादविवादमा अवैध हतियार प्रहार गर्ने र ज्यानै लिनेसम्मका घटनामा ‘स्वचालित’ देशी कटुवा पेस्तोल प्रयोग भएको पाइन्छ। मधेस प्रदेशका आठै जिल्ला भारतसँग जोडिएका छन्। खुला सिमानाका कारण सीमावारपारको उठबस र सम्बन्धले आपराधिक गतिविधिलाई पनि मलजल गरेको प्रहरी अधिकारी बताउँछन्। प्रहरीले बेलाबेला बरामद गरेका साना हतियार सीमापारि भारतबाट भिœयाइको प्रहरी अधिकारीको भनाइ छ।

प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार प्रदेशका आठ जिल्लामा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म १०३ वटा हत्याका घटना दर्ता भएका छन्। जसमा १०७ जनाको मृत्यु भएको छ र १६२ जना आरोपित पक्राउ परेका छन्। पेस्तोलको प्रयोगबाट मात्र १९ जना मारिएका छन्।

सहज पहुँच

असार २ गते रौतहटको मौलापुर नगरपालिका–५ बाट एक थान कटुवा पेस्तोल र सोमा लाग्ने १ राउन्ड गोलीसहित २ जना पक्राउ परे। पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका–७ बस्ने ४५ वर्षीय उमेश राय र ६५ वर्षीय मोहन राय हुन्। वीरगन्जबाट युपी५७एफ ३२३८ नम्बरको मोटरसाइकलमा आइरहेका उनीहरूको सिटमुनि उक्त पेस्तोल र गोली लुकाई ल्याइरहेको अवस्थामा प्रहरीले बरामद गरेको थियो।  

वैशाख ३१ गते महोत्तरीको एकडारा गाउँपालिका–४ हल्खोरी बजारबाट होममेड भारतीय पेस्तोल १ थान र सोमा लाग्ने ५ राउन्ड गोलीसहित भारत सीतामडी बाँजोपट्टी गाउँ–६ बस्ने २६ वर्षीय पप्पु यादव पक्राउ परे। भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर३०वाई ९१४२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरीले उक्त पेस्तोल बरामद गरेको थियो।  

सर्लाहीको विष्णु गाउँपालिका–३ विश्वनाथ टोलस्थित बाँसघारीमा बिआर ३०एम६ ७८७ नम्बरको मोटरसाइल रोकी बसेका दुईजना व्यक्तिबाट दुई थान पेस्तोल र सोमा लाग्ने गोली बरामद ग¥यो। गर्दा सोही ठाउँका २५ वर्षीय मदन साह कानुसँग एक थान थ्री फिप्टी पेस्तोल र सोमा लाग्ने गोली एक राउन्ड र भारतको जिल्ला सितामढी ग्राम मरहाडिह–१ का १९ वर्षीय अनिष शाह मुस्लिमसँग एक थान पेस्तोल, एक थान म्यागजिन र ५ राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ।  

बरामद भएका यी हतियार सीमापारिका आपराधिक गिरोहबाट खरिद गरेर ल्याएको प्रहरी बताउँछन्। उक्त हतियार आपराधिक घटनालाई अन्जाम दिन ल्याएको हुनसक्ने प्रहरीको भनाइ छ। मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षमा यस प्रदेशमा हातहतियारसम्बन्धी २८ वटा मुद्दा दर्ता भएका छन्। जसमा ४७ जना मानिस पक्राउ परेका छन्। २९ थान हतियार बरामद भएका छन्। यसमा साना तथा मझौला हतियार २२ थान छन्। प्रहरीले सानाठूला हतियार बरामद गरिरहे पनि मधेसमा अवैध हतियार प्रयोगबाट आपराधिक क्रियाकलाप पूर्ण रूपमा रोकिएको छैन।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार अवैध हतियार नियन्त्रणमा नेपाल–भारत खुला सीमा मुख्य चुनौती हो। नेपाली–भारतीय अपराधीबीच रहेको सञ्जालका कारण साना हतियार नियन्त्रण सीमावर्ती जिल्लाहरूमा चुनौतीपूर्ण बनेको छ। अहिले हामी अपराध र अपराधजन्य क्रियाकलापलाई नियन्त्रण गर्न सक्रियताका साथ लागि परेका छौं। यहाँको समाजमा एउटा प्रवृत्ति के देखिएको छ भने घरमा अवैध हतियार राख्नेले छरछिमेकमा गर्व अनुभव गर्छन्। मान्छे मार्नभन्दा पनि तर्साउन अवैध हतियार घरमा लुकाएर राख्ने प्रवृत्ति देखिएको छ। लुकाउन सजिलो भएकाले साना अवैध हतियार नियन्त्रण उति सजिलो नभएको प्रहरी अधिकारी बताउँछन्।  

सधैं अवैध हतियारकै त्रास

माओवादी सशस्त्र युद्धका बेलादेखि मधेसमा हतियारको बढी त्रास फैलिएको हो। सशस्त्र युद्ध शान्ति प्रक्रियामार्फत अवतरण भएर देशमा एक हदसम्म शान्ति फैलियो तर मधेसमा अरू नै सशस्त्र समूह जन्मिए। माओवादीबाट विद्रोह गरेर २०६१ साउन १० जयकृष्ण गोइतले जनतान्त्रिक तराई मुक्ति मोर्चा नामक सशस्त्र संगठन सञ्चालन गरेपछि मधेसमा पुनः हतियारको त्रास सुरु भयो। मधेस र मधेसीको मुक्तिका लागि भन्दै उनको संगठनले तराई–मधेसमा सशस्त्र संघर्षको शंखनाद गरेलगत्तै ज्वाला सिंह उनीबाट अलग्गिए।

गोइतसँगको विवाद र मतभेदका कारण मोर्चा स्थापनाको दुई वर्षमै दुई चिरा भयो। ज्वाला सिंहले आफ्नै नेतृत्वमा फेरि जनतान्त्रिक तराई मुक्ति मोर्चा नामक सशस्त्र समूह सञ्चालन गरे। त्यसपछि त जनतान्त्रिक नाम यति चल्यो कि यो नामबाट दर्जनौं समूह बाहिर आए, सप्तरीको बुढो बाजेको पेडा पसलजस्तै।

जनतान्त्रिकको नामबाट अपहरण, चन्दा, फिरौती, व्यक्ति हत्या यति बढ्यो, मधेसका गाउँघरबाट मधेसी नै पलायन हुन थाले। मधेस मुक्तिका लागि भनिएको त्यो सशस्त्र संघर्षलाई अवैध हतियारको आडमा कमाइको माध्यम बनाइयो। तर, समयान्तरमा सशस्त्र समूहको गतिविधि मधेसमा मत्थर भएको छ। तर अवैध हतियारको त्रास भने घटेको छैन।

प्रकाशित: ३० असार २०८० ०१:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App