१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

सिदिङ्वा र मैवाखोलाको जोखिम बस्ति स्थानान्तरणको अध्ययन गदै विज्ञ टोली

पहिरोले जोखिम बनाएको ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेलेको घर र पहिरोको अवस्था। तस्बिर: नागरिक।

जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले बाढी र पहिरोको उच्च जोखिममा रहेका सिदिङ्वा र मैवाखोला गाउँपालिकाका बस्ति स्थानान्तरणको अध्ययन गर्न विज्ञ टोली खटाउने निर्णय लिएको छ।

बैठकले विज्ञ टोलीको अध्ययन प्रतिवेदनका आधारमा बस्ति तथा घरहरु स्थानान्तरण गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरेको जिल्ला विपद् व्यवस्थापन समितिका सदस्य तथा मैवाखोला गाउँपालिका अध्यक्ष बिजयप्रकाश वनेमले जानकारी दिए।

मनसुनजन्य विपद् प्रभावित निजी आवास पुर्ननिर्माण तथा पुर्नस्थापनाको क्रममा सिरिजङ्गा गाउँपालिकाका ४१ लाभग्राहीलाई जग्गा खरिदका लागि प्रति परिवार ३ लाख रुपैयाँका दरले कूल १ करोड २३ लाख रकम वितरण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ। मनसुनजन्य विपद् प्रभावित निजी आवास पुर्ननिर्माण तथा पुर्नस्थापना कार्यविधि २०७७ अनुसार छनौट भएका लाभग्राही परिवारलाई पुर्नस्थापना,पुर्ननिर्माण तथा प्रवलीकरणका लागि संघीय सरकारबाट ६० प्रतिशत,प्रदेश सरकारबाट ३० प्रतिशत र सम्वन्धित स्थानीय तहबाट १० प्रतिशत अनुदान दिन सकिने व्यवस्था छ।

यस्तै सिरिजङगा गाउँपालिकाकै २१ लाभग्राहीलाई पुर्ननिर्माण र अस्थायी आवासका लागि सिरिजङगा गाउँपालिकाको सिफारिसका आधारमा सम्झौता रकमको ७० प्रतिशत प्रथम किस्ता रकम बापत भुक्तानी भएको ३२ लाख ५५ हजार रुपैयाँ समेत जिल्ला विपद् व्यवस्थापन समितिले अनुमोदन गरेको छ।

जिल्ला विपद् व्यवस्थापन समितिले २०८० साल जेठ ९ गतेको बैठक पछि आगलागीजन्य घटनाबाट घर पूर्ण रुपमा क्षति भएका फुङलिङ नगरपालिका वडा नं ८ का पदमसुन्दर पालुङ्वाई नगद २० हजार तथा  मेरिङदेन गाउँपालिका वडा नं ४ का दिलकुमार लिम्बू र पाथीभरा याङ्वरक गाउँपालिका वडा नं ४ डुम्रिसेका भीमप्रसाद लिम्बूलाई जनही नगद १५ हजार रुपैयाँका दरले राहत रकम बितरण गरिएको जनाएको छ। यस्तै सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेलेमा चट्याङका कारण मृत्यु भएका एक परिवारका आफन्तलाई नगद २ लाख रुपैयाँ राहत रकम दिएको समेत जिल्ला बिपद् व्यवस्थापन समितिले जनाएको छ।  

प्रकाशित: २८ असार २०८० ११:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App