योपटक पनि गण्डकी प्रदेशका विभिन्न जिल्लामा डेंगी संक्रमण सुरु भएको छ। प्रदेशका कास्की, म्याग्दी, लम्जुङ, तनहुँ, नवलपुर लगायतका जिल्लामा डेंगीका बिरामी फेला परेका छन्। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। अघिल्लो वर्ष डेंगीले कास्की लगायतका जिल्लामा निकै नै सताएको थियो।
प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काका अनुसार योपटक अहिलेसम्म कास्कीमा सबैभन्दा बढी ८२, म्याग्दीमा ४५, लम्जुङमा २५, तनहुँ र नवलपुरमा ११–११ जनामा यो संक्रमण पुष्टि भईसकेको छ। ‘पोहोर पनि डेंगीले निकै नै सताएको हो। योपटक पनि फेरि डेंगी संक्रमण सुरु भईसकेको छ। जिल्लामा भेटिएका यी बिरामी पछिल्लो समयका हुन,’ निर्देशक खड्काले भने, ‘तापक्रम अनुकुल र वर्षा भएपछि लामखुट्टे सक्रिय हुँदा यो संक्रमणले पनि गति लिएको छ।’ प्रदेशमा यो वर्ष (२०२३) अहिलेसम्म १८० जना डेंगीका बिरामी फेला परेको उनले बताए।
गतवर्ष गण्डकी प्रदेशका कास्कीमा सबैभन्दा बढी ७०२ जनामा डेंगी संक्रमण भएको थियो। त्यसपछि तनहुँमा ४८४, गोरखामा २८१, पर्वतमा २७७ र स्याङजामा १७८ जनामा यो संक्रमण देखिएको थियो। प्रदेशका अरु जिल्लामा पनि डेंगी संक्रमण देखिएपनि बिरामीको संख्या कम रहेको उनले सुनाए। ‘प्रदेश निर्देशनालय डेंगी संक्रमणलाई कसरी कमजोर बनाउने भनेर छलफलमा जुटिसकेको छ,’ निर्देशक खड्काले भने, ‘अबका केही महिना संक्रमण फैलिनका लागि उपयुक्त हुन्छ । स्वास्थ्य निकाय पनि नियन्त्रणका लागि सक्रिय हुनेछन्।’
पोहोर सेप्टेम्बर महिनामा सबैभन्दा बढी बिरामी फेला परेका थिए। अहिले पनि त्यही समस्या निम्तन सक्ने सम्भावना रहेको उनले बताए। अघिल्लो वर्ष राजधानी काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, दाङ, लगायतका जिल्लामा डेंगीले सताएको थियो। डेंगी कमजोर बनाउन सबैभन्दा पहिलो यो रोग फैलाउने लामखुट्टेलाई नष्ट गर्नुको विकल्प नरहेको उनले बताए।
प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काका अनुसार योपटक अहिलेसम्म कास्कीमा सबैभन्दा बढी ८२, म्याग्दीमा ४५, लम्जुङमा २५, तनहुँ र नवलपुरमा ११–११ जनामा यो संक्रमण पुष्टि भईसकेको छ।
‘लामखुट्टेको लार्भाको सर्च र डिस्ट्रोय नै संक्रमण कमजोर बनाउने बलियो उपाय हो। समुदाय नै सचेत भएर त्यसमा लाग्ने हो भने यो रोग सर्नबाट बच्न सकिन्छ,’ उनले भने, ‘रोगको लहर कतिखेर आउने भन्ने यकिन हुँदैन। त्यसैले लामखुट्टे र त्यसको लार्भा नष्ट गर्नु नै सबैभन्दा बलियो विकल्प हो।’
पोहोर गण्डकी प्रदेशका सबैजसो जिल्लामा यो रोग फैलिँदा नागरिकमा त्रास फैलिएको थियो। यो पटक पनि पोहोरकै जस्तो समस्या आउन सक्ने भएकोले सचेत बनेर रोग नियन्त्रणको उपायबारे सरोकारवालासँग छलफल गर्न थालेको उनले बताए। यो पटक भेटिएका बिरामी मध्ये धेरैजना निको पनि भईसकेको उनले बताए।
निर्देशक खड्काले डेंगीबाट जोगिन नागरिक सचेत हुनुपर्ने र सरसफाइमा ध्यान दिनुपर्ने बताए। उनका अनुसार लामखुट्टेको लार्भा र अण्डा नष्ट हुने गरि घाम लागेमा वा भीषण वर्षा भएमा डेंगी संक्रमण कम हुन्छ। तर, यतिबेला पोखरा क्षेत्रमा लामखुट्टे फैलाउन अनुकुल हुने गरि मौसम तयार भएको छ। ‘कि त चर्काे घाम लाग्नुपर्छ। नत्र भीषण वर्षा भएमा पनि लामखुट्टे नोक्सान हुन्छ र संक्रमण बढ्न पाउँदैन। त्यसबाहेक चिसो बढ्दै जाँदा पनि यो संक्रमण कमजोर हुन्छ,’ खड्काले भने, ‘अब घर वरिपरिको सरसफाई र कपडा लगाउनमा ध्यान पु¥याउनुपर्छ।’
चारवर्ष अघि डेंगीले पोखरा क्षेत्रमा हायलकायल पारेको थियो। डेंगी नियन्त्रणका लागि त्यो बेला यहाँ निकै नै ठुलै मेहनत गर्नुपरेको थियो। त्यो वर्ष पोखरामा मात्र करिब २ हजार जनामा यो संक्रमण भएको थियो। चारवर्ष अघि पोखरामा डेंगी फैलिँदा यहाँ व्यापक रुपमा ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान चलाइएको थियो।
लामखुट्टेको टोकाइबाट सर्ने यो रोग नियन्त्रण गर्न लामखुट्टे मार्ने अभियान नै चलाइएको थियो। त्यो बेला पानी जम्ने, टायर, ट्यांकी, नाला, गमला व्यापक रुपमा नष्ट गरिएको थियो डेंगी फैलाउने लामखुट्टे नियन्त्रणका लागि भाडामा कम्तिमा एकसातासम्म पानी जम्न दिन नहुने उनले बताए। वर्षाका कारण जमेको पानी पनि छिटोछिटो फेर्न सके डेंगी फैलाउने लामखुट्टे फैलिन नपाएको हुनसक्ने उनले बताए।
चिकित्सकका अनुसार एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा डेंगी सर्छ । यो लामखुट्टेले दिनको समयमा मात्र टोक्छ। यो लामखुट्टे फैलिनका लागि २० देखि ३० डिग्री सेन्टिग्रेड तापक्रम उपयुक्त मानिन्छ। पोखराको यतिबेलाको तापक्रम न्यूनतम २० र अधिकतम ३२ डिग्री सेन्टिग्रेडसम्म रहेको छ । त्यस्तै यो लामखुट्टे फैलनाका लागि ह्युमिडिटि (सापेक्षित आद्रता) ६० प्रतिशत आवश्यक पर्छ। ६० प्रतिशत ह्युमिडिटि भनेको वायुमण्डलमा हुने पानीको मात्रा बुझिन्छ। ६० प्रतिशत ह्युमिडिटिले यो लामखुट्टे फैलाउन सघाउने चिकित्सकले बताउने गरेका छन।
फूलबारी, गमला, एसी, फ्रिज, छत, कौसीको पानी जम्ने ठाउँमा यस्तो लामखुट्टेले फुल पार्ने र त्यो फुल एकवर्षसम्म पनि रहन सक्ने भएकोले सधैंभरी जोखिम भने रही रहने स्वास्थ्यकर्मीको भनाई छ। पोखरामा २०७२/७३ सालदेखि डेंगी देखिन थालेको थियो। सुरुका तीनवर्ष पोखरामा एकएकजना मात्र डेंगीका बिरामी भेटिएकोमा चौथो वर्ष ५७१ जना बिरामी परेका थिए। त्यसपछिको वर्ष भने त्यो संख्या झन्डै २ हजार पुगेको थियो। डेंगी फैलाउने यो लामखुट्टेले सफा पानी जमेको ठाउँमा मात्र फुल पार्ने गर्छ। खासगरि वर्षाको पानी जम्ने भाडाकुँडा, टिनका बट्टा, पुराना टायर, खालि ड्रम, फूलदानी, गमला, पानी ट्यांकी लगायतका भाडामा फुल पार्छ। त्यसैले वर्षातको पानी जम्ने सिजनमा यो रोग फैलिने गरेको चिकित्सकले बताएका छन्।
चिकित्सकका अनुसार डेंगी संक्रमण भएपनि उच्च ज्वरो आउने, जिउ, जोर्नी र हाड दुख्ने गर्छ। त्यस्तै आँखाको गेडी वरिपरि दुख्ने, वाकवाकि लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा, तथा शरीरका अन्य अंगबाट रगत बग्ने सम्भावना रहेको चिकित्सकले बताएका छन्।
प्रकाशित: २५ असार २०८० ०९:४७ सोमबार