पठनपाठनमा सहजताका लागि कपिलवस्तुको दक्षिण क्षेत्रमा पर्ने शुद्धोदन गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत ८ सय ५१ जना छात्राहरूलाई साइकल हस्तान्तरण गरिएको छ।
७ विद्यालयका ८ देखि १२ कक्षामा अध्ययनरत छात्राहरूलाई निःशुल्क साइकल वितरण गरेको हो। छात्राहरूलाई प्रोत्साहन रुवरुप साइकल बाँडिएको हो। घर देखि विद्यालय टाढा हुँदा आउजाउमा समस्या भए पछि पालिकाले छात्राहरूको सुविधालाई मध्यनजर गर्दै साइकल बाँडिएको हो। छात्राहरूलाई विद्यालयमा टिकाई राख्न आफूहरूले छात्राहरूलाई साइकल बाडेको गाउँपालिका प्रमुख कमलेशशरण चौधरीले बताए। छात्राहरूलाई विद्यालयको पहुँच बढाउन पालिकाले चालु आर्थिक वर्षमा साइकल किन्न ६० लाख बजेट विनियोजन गरेको थियो।
घर टाढा भएकाले विद्यालय बिचमै छाड्ने समस्या अब समाधान हुन्छ ’ प्रमुख चौधरीले भने। कक्षा ८ देखि १२ सम्म छात्राहरूले साइकल पाए पछि निकै खुसी भएका छन। शिक्षा शाखा प्रमुख धनीप्रसाद शर्माले छात्राहरूको सहजता र विद्यालयमा पहुँच बढाउन यो कार्यक्रम गरिएको बताए। घर देखि विद्यालय टाढा हुँदा छात्राहरूलाई आउजाउ गर्न समस्या भएकाले पठनपाठनमा गाह्रो हुने गरेकोले अहिले उनीहरूलाई साइकल बाँडिएको उनले बताए।
शिक्षामा पछि परेको गाउँपालिकामा साइकल वितरण भएपछि छात्राहरू नियमित विद्यालय जाने अपेक्षा लिइएको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले बताए। साइकल वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष होमप्रकाश चौधरी कुर्मी, प्रशासन शाखा प्रमुख ईश्वरीप्रसाद न्यौपाने लगायतको सहभागीता थियो।
प्रकाशित: २५ असार २०८० ०६:२८ सोमबार