भरतपुर महानगरपालिका वडा नम्बर तीन लंकु स्थित पुङ्गी खोलामा थुप्रै मान्छे पौडी खेल्थे। वडाध्यक्ष विकास थापा पनि त्यहाँ पौडी खेलेर नै हुर्किएका हुन्। आज भोलि खोला वरपर मान्छे जान सक्ने स्थिति छैन। खोला छेउमै भैँसी काट्ने वधशाला खोलिएपछि त्यहाँ स्वच्छ पानी बग्दैन। बिहान पख रगतकै खोला बग्ने शिवपथका जगतमणी घिमिरे बताउँछन्।
‘यहाँ तीन चार वर्ष भयो पशु वध गर्न थालेको। लादी र रगत खोलामा फाल्छन्। हड्डी र छाला बाहिर पठाउँछन्, शनिबार बिहान दूध बेचेर फर्किँदै गर्दा भेट भएका घिमिरेले रगत नै बगेको खोला देखाउँदै भने ‘यो खोलामा यसरी नै रगत बगिरहन्छ।’
व्यवसायीले पशुलाई वध गरेपछि रगत र लादी खोलामा बगाउने गरेको उनले बताए।
पुङ्गी खोलाकै छेउमा पाँच वटा वधशाला छन्। वधशालाबाट रगत सहित फोहोर सोझै खोलामा बगाउने गरी संरचना तयार गरिएको छ। त्यहाँ दैनिक ३० वटाको हाराहारीमा भैँसीको वध गरिन्छ। जसले वडा नम्बर २, ३ र ४ हुँदै बग्ने पुङ्गी खोला दुर्गन्धित बनाएको शिव पथ टोलका इन्द्र न्यौपाने बताउँछन्।
‘वधशालासँगै मेरो घर जोडिएको छ। पछाडि दुर्गन्धले जान सकिँदैन,’ उनले भने, ‘यो दुर्गन्ध सहेर बस्न परेको छ।’ गर्मी समयमा टोल नै दुर्गन्धले बस्न नसकिने उनले बताए।
कानुनमा भैँसी काटमार गर्न नपाइने भनिए पनि शनिबार बिहान चार बजे भरतपुर महानगरको अनुगमनको टोली पुग्दा भैँसी नै काटिएको थियो। बिहान दुई बजेदेखि नै भैँसी ढाल्न सुरु गर्ने वधशालाका एक कामदारले बताए।
‘यहाँ राँगा त्यति आउँदैन। भैँसी नै आउँछ,’ उनले भने, ‘बिहानै दुई बजेदेखि काम सुरु गरेको उजेलो हुँदा पाँच वटा भैँसी काटेर सकिन्छ।’ वधशालासँगै जोडेर गोठ बनाइएको छ। त्यहाँ शनिबार थारा भैँसी मात्र थिए।
पशु वधशालाको स्थापना र सञ्चालन गर्दा बिरामी पशु राख्ने अलग्ग स्थानको व्यवस्था, वध गर्नु भन्दा अधि बेहोस बनाउने (स्टनिङ) बध गरेपछि रगत लिदी, छाला काट्ने, खुइल्याउने मासु सफा गर्ने तथा आन्द्राभुँडी तह लगाउने र सफा गर्ने छुट्टै स्थानको व्यवस्था भएको हुनुपर्छ। तर, यी कुराहरू पालना भएको पाइँदैन। घनले हानेर भैँसी ढलाउने गर्दछन्। वधशाला र गोठ आठ मिटरको दुरीमा हुनुपर्ने व्यवस्था भए पनि गोठ सँगै वधशाला जोडिएको छ।
चितवनका वधशालाहरुले सङ्क्रमित पशु, दूध दिने भैँसी समेत काट्ने गरेको एनिमल नेपाल चितवन शाखाका प्रमुख सुमेधा गौतम मैनाली बताउँछिन्।
‘व्यवस्थित तरिकाले मानव वस्तिभन्दा टाढा राखेर वधशाला खोल्नुपर्छ। खुलेआम काट्न पनि पाइँदैन,’ घनले हानेर छटपटाउँदै गरेको भैँसी देखाउँदै सुमेधाले भनिन्, ‘राँगा भैँसीलाई यसरी मार्ने काम एकदमै गैर कानुनी हो।’
पुङ्गी खोला नगरवन नजिक नारायणीमा गएर मिसिन्छ। वधशालाको दुर्गन्ध हटाउनको लागि टोल सुधार समितिलाई भने पनि कार्यान्वयन नभएको स्थानीय बताउँछन्। विगतमा बेलटाँडी साइडतिर वधशाला थियो। छ वर्षदेखि शिवपथ टोलमा आएको न्यौपाने बताउँछन्। सहिद चोक तिर कुखुराको वध गरिन्छ, यता भैँसीको। यी दुवैको फोहोर र रगत पुङ्गी खोलामै बगाइन्छ।
उनीहरुले मासु पनि वधशालाबाट नै बिक्री गर्दै आएका छन्। बिहान आठ बजे नै काटेको मासु सकिने कामदारहरू बताउँछन्। यहाँबाट चितवन जिल्लाका प्रमुख स्थानमा मासु जाने गरेको उनीहरु बताउँछन्।
पुङ्गी खोला क्षेत्रमा सञ्चालित वधशाला अवैध रुपमा सञ्चालन रहेको वडा नम्बर दुईका वडाध्यक्ष विकास थापा बताउँछन्।
‘विगतदेखि नै यी वधशाला अवैध छन् भन्ने हामीलाई थाहा छ। उहाँहरूले वधशाला सञ्चालनका लागि अनुमति समेत लिनुभएको छैन। स्थानीय टोल विकास संस्थाले पनि विरोध जनाएका छन्। उहाँहरूसँग सल्लाह गरेका छौँ,’ उनले भने, ‘उहाँहरूले हामीलाई ठाउँ दिनुस् भन्नुभएको छ। हामीले दिन सकेका छैनौँ।’
खोलाको छेउमा फोहोर नफाल्न अनुरोध गरेपनि नटेरेको उनले बताए। तर, एक जना व्यवसायीले भने रगत, लादिहरु बाहिर नै लगेर व्यवस्थापन गर्ने गरेको बताए।
भरतपुर महानगरपालिका भित्र छुट्टै व्यवस्थित वधशाला अझै छैन। मानव वस्तिभन्दा टाढा हुनुपर्ने भए पनि घरसंगै जोडिएको स्थानमा वधशाला छन्। उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ वधशाला स्थापना गर्न महानगरपालिकालाई माग गरेपनि पुरा नभएको बताउँछन्।
‘महानगरपालिकासँग हरेक योजनामा वधशाला स्थापना गर्न पर्छ भन्ने माग हो,’ उनले भने, ‘अहिले सञ्चालित वधशाला व्यवस्थित हुन सकेका छैनन्। फोहोर व्यवस्थापन गरेर सञ्चालन गर्नुपर्छ।’
भरतपुर महानगरपालिकाले वधशाला निर्माणका लागि विगत बर्षबाट नै जग्गाको खोजी गरेको थियो। ठिमुरा क्षेत्रमा जग्गा पनि छुट्टाएको थियो। तर धार्मिक क्षेत्रमा वध गर्न नदिएपछि महानगर पछि हटेको भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी बताउँछन्। ‘हामी वधशाला बनाउने पक्षमा छौँ। अहिले सञ्चालित वधशालाहरुले मापदण्ड पुरा गरेका छैनन्,’ उनले भने, ‘सरोकारवालाहरुसंग बसेर छिट्टै निष्कर्षमा पुग्छौँ।’
प्रकाशित: २३ असार २०८० १३:४२ शनिबार