४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

सर्पले टोकेर एक वृद्धाको मृत्यु

विषालु सर्पको डस्दा उदयपुरमा एक वृद्धाको ज्यान गएको छ। मंगलबार राति विषालु सर्पले डसेर गम्भीर घाइते भएकी चौदण्डीगढी नगरपालिका ७ भुल्केकी ७२ वर्षीया जमुना घिमिरेको उपचार गर्न नपाई मृत्यु भएको हो।

सर्पले डसेको थाहा पाएपछि उपचार गर्न सदरमुकाम त्रियुगा नगरपालिका ३ भुल्केस्थित नेपाली सेनाको १८ नं. बाहिनी अड्डा परिसरमा रहेको सर्पदंश उपचार केन्द्रमा ल्याउने क्रममा बुधबार विहान बाटैमा वृद्धाको मृत्यु भएको स्थानीयले बताएका छन्। वडाध्यक्ष केशव अधिकारीका अनुसार सर्पले डसेको भन्ने थाहा पाएपछि तत्काल उपचार गर्न हिडाइएको तर, बाटोमा लाँदालादै वृद्धाको मृत्यु भएको हो।

चौदण्डीगढी नगरपालिका केन्द्र बेलटारमा पनि सर्पदंशको प्राथमिक उपचार केन्द्र रहेकाले पहिला घिमिरेलाई त्यही लगिएको थियो। तर, त्यहाँ एन्टी स्नेक भेनम (औषधि) नभएकाले चिकित्सकले रिफर गरेपछि भुल्के लगिएको अधिकारीले बताए। तर, २२ किलोमिटर पश्चिममा रहेको भुल्के लादालाँदै बिरामीको बाटैमा मृत्यु भएको उनले बताए। 

चौदण्डीगढी र बेलका नगरपालिका विषालु सर्प अत्याधिक लाग्ने ठाउँहरु हुन्। वर्षेनी सर्पदंशका कारण धेरै मान्छेको ज्यान जाने गरेका कारण स्थानीयतहहरुले आफ्नै ठाउँमा उपचार केन्द्रहरु स्थापना गरेर सञ्चालनमा ल्याएका छन्। तर, आवश्यक औषधि, उपकरण र दक्ष जनशक्ति अभावमा उपचार केन्द्रहरु प्रभावकारी हुन नसकेका कारण अकालमा ज्यान जाने गरेको छ। चौदण्डीगढीले पनि बेलटारस्थित नगर अस्पतालमै ४ वर्षअघिदखि ‘सर्पदंश उपचार केन्द्र’ स्थापना गरी सञ्चालनमा ल्याएको भए पनि सर्पदंशले ज्यान गएको छ।

सर्पदंश उपचार गर्न नपाएर वृद्धा घिमिरेको अकालमा ज्यान गएपछि तत्काल औषधि व्यवस्था गर्न चौदण्डीगढी ७ नं. वडा कार्यालयले माग गरेको छ। उपचार केन्द्रको समेत अध्यक्षको जिम्मेवारीमा रहेका वडाध्यक्ष अधिकारीले सर्पदंश औषधि सकिएकाले स्वास्थ्य कार्यालय उदयपुरलाई तत्काल २० भाइल औषधि पठाईदिन माग गरेको बताए।  

प्रकाशित: २१ असार २०८० १२:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App