२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

गण्डकी विश्वविद्यालयको उपलब्धि: इलेक्ट्रिक स्कुटरदेखि बाँदर धपाउने बन्दुकसम्म

गण्डकी विश्वविद्यालयले बनाएको बाँदर बन्दुक। तस्बिरःसन्देश/नागरिक

गण्डकी विश्वविद्यालयको अनुसन्धान र अन्वेषण तथा आविष्कार केन्द्रले छोटो समयमै आठ वटा औजार निर्माण गरेको छ। केन्द्रले छोटो समयमै आविष्कारमा फड्को मार्दै औजार निर्माण गरेको हो।

केन्द्रले कृषि केन्द्रित औजारहरु निर्माण गरेको विश्वविद्यालयका रजिस्ट्रार कैलाश तिमिल्सिनाले जानकारी दिए। उनका अनुसार केन्द्रले घाँस टुक्राउने मेसिन, गाई भैँसीको गोबर पेल्ने मेसिन, कोदो हार्भेस्ट गर्ने मेसिन, सोलार ड्रायर, दाउरा चिर्ने मेसिन, अदुवा प्रशोधन गर्ने मेसिन निर्माण गरिसकेको छ। त्यस्तै, विश्वविद्यालयले इलेक्ट्रिक स्कुटर र बाँदर धपाउने मेसिन र बन्दुक पनि निर्माण गरेको रजिस्ट्रार तिमिल्सिनाले जानकारी दिए।

केन्द्रले निर्माण गरेको घाँस टुक्राउने मेसिनले घाँस टुक्राउने काम गर्छ। जसले गर्दा फोहोर घटाउन मद्दत पुग्ने गण्डकी विश्वविद्यालयको विश्वास छ। गोबर पेल्ने मेसिनले भने गोबरलाई पेलेर फाइबर र रस छुट्याउँछ। गोबरबाट निस्केको रस अत्यन्त उपयोगी हुने र बाँकी फाइबर व्यवस्थापन मा पनि सहज हुने मेकानिकल इन्जिनियर रितेश देवले जानकारी दिए।

यसैगरी केन्द्रले निर्माण गरेको कोदो रोप्ने औजारले कोदो रोप्ने काम गर्छ। यसले कोदोको खेती गर्ने किसानलाई काममा सहजता ल्याउने विश्वविद्यालयको दाबी छ। यसबाहेक केन्द्रले अदुवा र लसुनको बोक्रा छोडाउने जिंजर पिलिङ मेसिन र दाउरा चिर्ने मेसिनपनि बनाएको छ। जिंजर पिलिङ मेसिनले आलु, बेसार लगायतका बोक्रा पनि छोडाउन मिल्ने इन्जिनियर देवले बताए। यसले ठुलो मात्रामा अदुवा, लसुन खेती गर्ने किसानलाई फाइदा पुग्ने उनको भनाई छ।

केन्द्रले बनाएको सोलार ड्रायरले तरकारी र फलफूल सुकाएर सुख्खा बनाउने काम गर्छ। ७० डिग्री सेल्सियससम्मको तापक्रम दिएर फलफूल र तरकारी सुकाएर बजारमा पठाउन यसले सहज हुने केन्द्रको दाबी छ।

केन्द्रले विद्युतीय स्कुटर पनि तयार पारेको छ। तर यो स्कुटर आफैले निर्माण गरेको नभई पेट्रोलबाट चल्ने स्कुटरलाई विद्युतीय स्कुटरमा रूपान्तरण (मोडिफाईड) गरेको मात्र हो। पेट्रोलबाट चल्दै आएको सवारी साधनलाई विस्थापित गरेर विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गर्ने उद्देश्य अनुरूप विद्युतीय स्कुटर निर्माण गरिएको इन्जिनियर देवले जानकारी दिए।

केन्द्रले बाँदर धपाउने दुई प्रकारको मेसिनपनि बनाएको छ। केन्द्रले बाँदर बन्दुक र स्वचालित मेसिन गरेर दुई प्रकारको बाँदर धपाउने मेसिन बनाएको हो। बाँदर बन्दुक पड्काउँदा ठुलो आवाज आउँछ । जसको आवाजले बाँदर भाग्ने इन्जिनियर देवले बताए। त्यस्तै स्वचालित मेसिनले विभिन्न प्रकारको ठुलो आवाज निकालेर बाँदर धपाउने उनको भनाई छ।

केन्द्रले बनाएको घाँस टुक्राउने मेसिनलाई ५७ हजार, गोबर पेल्ने मेसिनलाई ४ लाख, जिंजर पिलिङ मेसिनलाई साढे ३ लाख रुपैयाँ पर्ने रजिस्टार डा.तिमिल्सिनाले बताए। उनका अनुसार इलेक्ट्रिक स्कुटर रूपान्तरण गर्दा करिब १ लाख, बाँदर धपाउने बन्दुकलाई ३ लाख रुपैयाँ पर्छ। केन्द्रले निर्माण गरेका सबै औजारहरु सोमबार एक औपचारिक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ। विश्वविद्यालयका कुलपति गणेशमान गुरुङले औजारहरुको सार्वजनिक गरेका हुन्।

विश्वविद्यालयका कुलपति प्रा.डा.गणेशमान गुरुङले आविष्कार तथा अन्वेषण केन्द्र स्थापना भएको छोटो समयमै किसान केन्द्रित औजारहरु निर्माण गर्न सक्नु उपलब्धिमूलक भएको बताए। उनले भने, ‘हामीलाई आवश्यक पर्ने नयाँ नयाँ औजारहरुको अनुसन्धान, अन्वेषण र आविष्कार गर्ने हाम्रो उद्देश्य हो। त्यसमै केन्द्रित भएर निर्माण गरिएका यी औजारहरुको बजारीकरण र व्यवस्थापनमा पनि ध्यान दिइनुपर्छ।’  

उनले स्थापनाको तीन वर्षपछि बल्ल परिणाम आउने बेला भएको बताए। कोदोको रक्सी ब्राण्डिङ गर्नेबारे अनुसन्धान भइरहेको बताउँदै साउन मसान्तसम्ममा यसले पूर्णता पाउने बताए। तर कोदोको रक्सी उत्पादन र बेचबिखन सम्बन्धी कानुन बनिनसकेकाले यसको वातावरण सरकार र राजनीतिक दलहरूले बनाउनुपर्ने उनको भनाई छ।

उनले पेट्रोलबाट चल्ने सवारी साधनलाई विस्थापित गरी विद्युतीय सवारी साधन चलाउने सरकारको नीतिलाई आफूहरुले पछ्याउँदै विद्युतीय स्कुटर तयार गरेको बताए। उपकुलपति प्राडा नवराज देवकोटाले नेपाली माटो सुहाउँदो औजार निर्माण गरिएको र यो तुलनात्मक रुपमा सस्तो पनि भएको दाबी गरे। गण्डकी विश्वविद्यालय प्रदेश सरकारले स्थापना गरेको नेपालकै पहिलो विश्वविद्यालय हो।

प्रकाशित: १९ असार २०८० ०९:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App