२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

साइकल वितरणपछि विद्यालय जाने छात्रा बढे

रौतहट – साइकल पाएपछि रौतहटमा विद्यालय जाने छात्राको संख्यामा वृद्धि भएको छ । रौतहटको संसदीय निर्वाचन क्षेत्र नम्बर ३ मा चार महिना पहिलेको तुलनामा नियमित विद्यालय जाने छात्राको संख्यामा वृद्धि भएकोे हो ।

संसदीय विकास कोषको रकमबाट क्षेत्र नम्बर ३ का निर्वाचित सांसद प्रभु साहले सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ७, ८ र ९ का सम्पूर्ण छात्रालाई निशुल्क साइकल प्रदान गरेका थिए । एक हजार पाँच सय भन्दा बढी छात्रालाई विद्यालय आवतजावत गर्न साइकल वितरण गरेपछि छात्रालाई विद्यालय आउन जान सजिलो मात्र भएको छैन, समयको पनि बचत भएको छ ।

देशकै सबैभन्दा कम साक्षर जिल्लाको रुपमा रहेको रौतहटमा छात्रालाई साइकल वितरणले शिक्षामा सकारात्मक सुधार हुने संकेत देखिएको छ । कक्षा ५ सम्म प्राय सबै गाउँमा पठनपाठन हुने विद्यालय रहेको तर माथिको कक्षा पढ्न बालबालिकालाई प्रायः टाढाको विद्यालय जानुपर्ने हुनाले बालिका शिक्षामा रौतहटको क्षेत्र नम्बर ३ निकै पछाडि परेको देखिएको छ । विद्यालय जाने सबै छात्राले साइकल पाएपछि समग्र रौतहटको शिक्षामा नै सकारात्मक प्रभाव पर्ने देखिएको शिक्षामा संलग्न व्यक्तिहरूले बताएका छन् ।

रौतहटको धरहरीमा अध्यापनरत शिक्षक सफिन्द्र प्रसाद यादवले छात्राहरुले साइकल पाएपछि नियमितता बढेको बताएका छन् । गोनाही, देवाही लगायतका गाउँहरुबाट पाँच किलोमिटरभन्दा टाढाबाट एकाबिहानै विद्यालय पढ्न आउने छात्राहरु समयमै र नियमित विद्यालय आउन थालेको बताएका छन् । विद्यालयमा छात्राहरूको उपस्थिति नियमित हुन थालेपछि बालिका शिक्षामा सकारात्मक प्रभाव परेको देखिएको शिक्षक यादव बताउँछन् ।

पथरा बुधराममा रहेको माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र साहले बालिकाहरुले साइकल पाएपछि पढाइ र टिउसन दुवैमा सहभागिता बढेको बताएका छन् । तीन महिना पहिले विद्यालयमा हुने छात्राको उपस्थिति र नियमितता दुवैमा सुधार भएको र यसले छात्राको शिक्षामा निकै सकारात्मक प्रभाव पार्ने देखिएको प्रधानाध्यापक साह बताउँछन् । 

आवतजावत गर्न बालिकालाई समस्या परेको र बालिकालाई एक्लैदुक्लै हिँडडुल गर्न डर हुने भएकोले साइकलले निकै सजिलो भएको अभिभावकहरुको भनाइ छ । पतौराका अभिभावक राम बालक साहले बालिकाहरुले शिक्षा पाउने राम्रो अवसरको रुपमा पाए पनि विद्यालय टाढा हुने र आवतजावतको लागि साधनको अभावको अवस्थामा बालिकाले साइकल पाएपछि नियमित जान थालेको बताएका छन् । बालिकाहरुलाई पनि साइकलले पढाइमा उत्साह थपिएको छात्राहरुको भनाइ छ । 

 

प्रकाशित: २८ वैशाख २०७४ ११:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App