२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

झापामा ‘टिस्यु कल्चर’ प्रविधिबाट केराको बिरुवा उत्पादन

फाईल तस्बिर <br>

झापा जिल्लामा टिस्यु कल्चर प्रविधिबाट केराका बिरुवा उत्पादन गर्न थालिएको छ। योसँगै भारत र वीरगञ्जबाट बिरुवा ल्याउनुपर्ने झन्झटबाट यहाँका किसान मुक्त भएका छन्।

गौरादह नगरपालिका–२ र अर्जुनधारा नगरपालिका–३ मा टिस्यु कल्चर प्रविधिबाट जी–नाइन, विलियम हाइव्रेड र मालबोक जातका केराको बिरुवा उत्पादन गर्न थालिएको हो।

झापा जिल्लामा उत्पादित केराका बिरुवा यहाँको वातावरणमैत्री रहेकाले केरा कृषकका लागि उपयुक्त भएको कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकृत गणेश शिवाकोटीले जानकारी दिएका छन। उनका अनुसार सरकारले कृषि ज्ञान केन्द्र र स्थानीय तहमार्फत प्रदेश नं–१ लाई केरा खेतीमा आत्मनिर्भर बनाउन ब्लक र पकेट क्षेत्र सञ्चालन गरेको छ।  

केरा खेतीमा आत्मनिर्भर बनाउन थालिएको अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले गौरादह नगरपालिकामा टिस्यु कल्चर प्रविधिबाट बिरुवा उत्पादन थालिएको बिरुवा उत्पादक संस्था फाइकस बायोटेक प्रालिका सञ्चालक दुर्लभ कार्कीले बताए। हालसम्म सरकारबाट कुनै सहयोग नलिएको उनले जानकारी दिए। संस्थाले काठमाडौँको बूढानीलकण्ड नगरपालिका–२ र गौरादहमा उक्त प्रविधिको प्रयोग गरी केराका बिरुवा उत्पादन गरिरहेको उनले  जानकारी दिए।

सञ्चालक कार्कीले विसं २०७२ मा बूढानीलकण्ठमा ल्याब सुरु गरेको बताउँदै झापामा विसं २०७६ देखि सुरु गरेको बताए। उनले तत्कालीन राष्ट्रिय आलु विकास कार्यक्रमको ५० प्रतिशत र संस्थाको ५० प्रतिशत लगानीमा ल्याब सञ्चालनमा ल्याएको जानकारी दिए। उनका अनुसार ल्याबका लागि रू दुई करोड लगानी गरिएको छ।

ल्याबबाट वार्षिक ८० हजार केराको बिरुवा र एक लाख आलुको बिरुवा उत्पादन हुने गरेको छ’, सञ्चालक कार्कीले भने, ‘टिस्यु कल्चर प्रविधिबाट बिरुवा उत्पादन गर्दा एकै पटक सामूहिक उत्पादन गर्न सकिने र कीटाणुरहित बिरुवा उत्पादन हुन्छ।’ यस प्रविधिबाट उत्पादन गरिने बिरुवाको कोषलाई हुर्काउन ल्याबमै ३५ दिनसम्म राख्नुपर्ने उनले बताए। वातावरण सुहाउँदो बायोटेक नर्सरीमा ल्याबबाट निकालेर झन्डै दुई महिनासम्म बिरुवा हुर्काएपछि मात्र रोप्न योग्य हुने उनको  भनाइ छ।

कार्कीले भने, ‘झन्झटिलो भए पनि यस्तो बिरुवाबाट उत्पादन गरिएको केराको बोटमा फल राम्रो लाग्छ र किसानले राम्रो आम्दानी गर्न सक्छन्। भारतबाट सस्तो मूल्यमा आयातीत बिरुवाका कारण कहिलेकाहीँ बजारीकरणमा समस्या छ।’उनका अनुसार ल्याबमा हाल १० जना स्थानीयले रोजगारी पाएका छन्।

यहाँ उत्पादित केराको बिरुवा झापा जिल्लामै खपत हुँदै आएको कार्कीले बताए। भारतबाट आउने सस्तो मूल्यको बिरुवाका कारण कहिलेकाहीँ विक्रीमा भने समस्या हुने गरेको छ।

नर्सरीबाट जी नाइन, विलियम हाइव्रेड जातको बिरुवा प्रतिगोटा रू ३५ र मालबोक केराको बिरुवा प्रतिगोटा रू ६५ ले बिक्री गर्दै आएको कार्कीले जानकारी दिए  किसानले चैतदेखि भदौसम्म बिरुवा रोप्ने गरेका छन्।

प्रकाशित: १३ असार २०८० १०:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App