१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

सबैभन्दा जोखिममा मोटरसाइकल

सडक दुर्घटनामा ज्यान गुमाउनेमध्ये ६८ प्रतिशत मोटरसाइकल यात्री

फाइल स्केच

काठमाडौं मातातीर्थका रमेश इटनी दम्पतीको सोमबार बिहानको रौनक भिन्नै थियो। पत्नी मेनुकासहित बिहे भोजको पोसाकमा सजिएका थिए रमेश। चालक रमेश मोटरसाइकलको अगाडि बसे, पत्नी मेनुका पछाडि। बिहान ९ बजेतिर दुवैजना घरबाट निस्किए। घरबाट निस्केको करिब १५ मिनेटपछि सतुंगल आइपुगे उनीहरू। सतुंगलमा उनीहरू चढेको मोटरसाइकललाई पछिबाट आएको बसले ठक्कर दियो।  

बसको ठक्करबाट मेनुका गम्भीर घाइते भइन्, रमेशलाई सामान्य चोटपटक लाग्यो। मोटरसाइकलसँगै सडकमा लडेकी मेनुकालाई बसको टायरले किचेको थियो। वीर अस्पताल ल्याउँदाल्याउँदै उनको निधन भयो। इटनी दम्पती वनस्थलीस्थित गाउँका आफन्तको बिहेमा सामेल हुन हिँडेका थिए। रमेश धादिङबाट केही वर्षअघि बसाइँ सरेर काठमाडौं आएका हुन्। दुवै छोरा अमेरिका गएकाले इटनी दम्पती मात्र घरमा बस्थे। ठक्कर दिएको बसचालकलाई प्रहरीले पक्राउ गरेको छ।  

त्यस्तै आइतबार काठमाडौं वनस्थली ढुंगेधारामा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा चारजना घाइते भए। जसमध्ये एउटा मोटरसाइकलको पछाडिको सिटमा बसेकी २७ वर्षीया अस्मिता कार्की गम्भीर घाइते भइन्। उनको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ।  

यी प्रतिनिधि घटना मात्र हुन्। देशभरिमा दैनिक सानाठुला सडक दुर्घटना भइरहन्छन्। सडक दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल यात्रुको मृत्यु हुने गरेको तथ्यांक हालै सार्वजनिक नेपाल स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षण, २०२२ मा उल्लेख छ। सो सर्वेक्षणअनुसार नेपालमा सवारी दुर्घटनाका कारण एक वर्षमा प्रति एक लाखमा १४ जनाको मृत्यु हुने गरेको छ। यो हिसाबले हेर्दा एक वर्षमा ४ हजार ६० जनाको सडक दुर्घटनामा मृत्यु हुन्छ। जनगणना २०७८ अनुसार अहिले नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५ सय ७८ छ। सडक दुर्घटनामा ज्यान गुमाउनेमध्ये ६८ प्रतिशत मोटरसाइकलयात्रु छन्। यस आधारमा हेर्दा मोटरसाइकल दुर्घटनामा वर्षमा दुई हजार सात सय ६० जनाको ज्यान जान्छ।  

नेपाल प्रहरीको तथ्यांकअनुसार सडक दुर्घटनामा आर्थिक वर्ष २०७८-७९ मा ५ हजार ९ सय ६०, आव २०७७-७८ मा दुई हजार आठ सय ५९, आव २०७६-७७ मा ३ हजार ८ सय ९९ र २०७४-७५ मा एक हजार दुई सय ८४ जनाको सडक दुर्घटनाका कारण मृत्यु भएको छ।

नेपाल स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षण, २०२२ अनुसार सडक दुर्घटनामा मृत्यु हुनेमा महिला र बालिकाभन्दा बढी पुरुष र बालक छन्। सर्वेक्षणमा सडक दुर्घटनामा पुरुष र बालकको मृत्यु प्रतिएक लाखमा ११ जना तथा महिला र बालिकाको मृत्यु प्रतिएक लाखमा तीनजना रहेको देखाइएको छ। सर्वेक्षणअनुसार मोटरसाइकल दुर्घटना गाउँमा भन्दा बढी सहरी क्षेत्रमा र हिमाली क्षेत्रमा भन्दा बढी तराईमा हुने गरेको छ। उपत्यका ट्राफिक कन्ट्रोल कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार मोटरसाइकल दुर्घटनामा दुईजना चढेको अवस्थामा पछि बस्नेलाई बढी क्षति हुने गरेको छ।

ट्राफिक नियम पालना नगर्दा दुर्घटना

मोटरसाइकल दुर्घटनाका कारण तीव्र गति, ट्राफिक नियम उल्लंघन, जथाभावी ओभरटेकलगायत हुन्। उपत्यका ट्राफिक कन्ट्रोल नियन्त्रण कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भन्छन्, ‘दुईपांग्रे मोटोरसाइकल-स्कुटीको बढी दुर्घटना हुने मुख्य कारण ट्राफिक नियम पालना नगर्नु नै हो।’ नेपाल अटोमोबाइल एसोसिएसनका पूर्वमहासचिव तथा सडक सुरक्षाविज्ञ आशिष गजुरेलका अनुसार चारपांगे्रको तुलनामा दुईपांगे्र सवारीसाधन बढी दुर्घटनामा पर्ने गरेका छन्। जसमा दुईपांग्रे मोटरसाइकल-स्कुटीको दुर्घटना ८० प्रतिशत र चारपांगे्र गाडीको दुर्घटना २० प्रतिशत छ।

नेपालमा सार्वजनिक यातायात सेवा राम्रो छैन, सडकको अवस्था पनि कमजोर छ। मोटरसाइकल-स्कुटी विपन्न तथा मध्यम वर्गको पहुँचमा भएकाले धेरैले यसैको प्रयोग गर्छन्।  

चारपांग्रेको तुलनामा मोटरसाइकल चलाउनेको संख्या बढी भएकाले पनि तुलनात्मक रूपमा दुर्घटना बढी र मृत्यु पनि बढी हुने गरेको गजुरेल बताउँछन्। सार्वजनिक यातायात छिटोछरितो र व्यवस्थित नभएकाले पनि धेरैको रोजाइ र बाध्यता मोटरसाइकल र स्कुटी बन्दै गएको गजुरेल बताउँछन्।  नेपालमा सडकको अवस्था पनि राम्रो छैन। तथ्यांकअनुसार नेपालमा १ लाख किलोमिटर सडक छ। जसमा सुरक्षित सडक २५ हजार किलोमिटर मात्र छ। सडक विभागको निगरानीमा बनेका सडकमात्र इन्जिनियरिङ हिसाबका छन्। ७५ हजार किलोमिटर सडक स्थानीय निकायको भरमा बनेका छन्। स्थानीय निकायले बनाएका सडक इन्जिनियरिङ मापदण्डका नभएकाले सुरक्षित छैनन्। यसकारण पनि बढी मात्रामा सवारी दुर्घटना हुने गरेको सडक सुरक्षाविज्ञ गजुरेल बताउँछन्।

ट्राफिक नियमपालना नहुनु, थोत्रा सवारीसाधन गुडाउन अनुमति दिनु, नियम उल्लंघन गर्नेलाई कडा कारबाही नहुनु, पैदल यात्रुले पनि नियम उल्लंघन गर्नु, सडक पूर्वाधार सुरक्षित नहुनुजस्ता कारणले नेपालमा दुर्घटना बढ्दै गएको गजुरेल बताउँछन्। ‘ठुला र साना दुवै सवारीसाधनले अनुशासन पालना गर्दैनन्,’ उनले भने।

के हुनसक्छ समाधान ?

सडक सुरक्षामा कुनै एक पक्षको मात्र हात नहुने भएकाले तीन पक्षीय व्यवस्थापन गुणस्तरीय हुनुपर्ने गजुरेल बताउँछन्। सरकारले नयाँपुराना सडकको सुरक्षा मापदण्ड जाँच गरी सुधार गर्नुपर्ने, सडक प्रयोगकर्ता, सवारीचालक, पैदलयात्रुलगायतले ट्राफिक नियम पालना गर्नुपर्ने उनको सुझाव छ। मुख्यगरी दैनिक सडक सुुरक्षा अवस्था निगरानी गर्न सडक सुरक्षा परिषद् स्थापना गनुपर्ने उनले बताए। ‘सडक सुरक्षा परिषद् ऐन बनाएर कडाइपूर्वक लागु गर्ने एक मात्र निकाय हुनुपर्छ। अहिले सडक सुरक्षा अधिकार धेरै निकायमा विभाजित भएर समस्या भएको छ,’ उनले भने।

चालकले तीव्र गतिमा सवारीसाधन नचलाउने र पैदलयात्रीदेखि चालकसम्मले ट्राफिक नियम पालना गरेमा दुर्घटना अहिलेको अवस्थामा नहुने उपत्यका ट्राफिक कन्ट्रोल कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भट्ट बतउँछन्। ‘मुख्य अनुशासित सडक प्रयोगकर्ता हुनुपर्छ, तीव्र गतिमा नचलाउँदा र जथाभावी ओभरटेक नगर्दा दुर्घटनामा कमी आउँछ,’ उनले भने।

प्रकाशित: १३ असार २०८० ००:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App