२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नगरले तरकारी किन्न थालेपछि चौताराका किसानमा उत्साह

तरकारी फलाउने चौतारा साँगाचोकगढी नगरपालिकाका किसानले आफूले उत्पादन गरेका तरकारी बेच्न बजारका घरपसल धाउनुनपर्ने भएको छ। नगरपालिकाको कार्यालयले किसानका उत्पादन खरिद गर्न थालेपछि यस्तो बाध्यता हटेको हो। कृषि क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेको नगरले कृषिमा किसानलाई आकर्षित गर्न उनीहरूका उत्पादन आफैं खरिद गर्न थालेको हो। सदरमुकाम चौताराको मुख्य बजारमा तरकारी संकलन तथा चिस्यान केन्द्र सञ्चालनमा ल्याएर नगरले दुई सातादेखि किसानका उत्पादन खरिद गरिरहेको छ। संकलित तरकारी यही केन्द्रबाट बिक्री हुने गरेको छ।

बजारमा खपत हुन नसकेको तरकारी राजधानी लगेर बेच्ने व्यवस्था नगरपालिकाले मिलाएको छ। बजार खोज्नुपर्ने बाध्यता हटेपछि स्थानीय किसान उत्साहित भएका छन्। यसअघि तरकारी बोकेर बजारका घरपसल धाउनुपर्ने बाध्यता उनीहरूलाई थियो। त्यति गर्दा पनि सबै तरकारी बिक्री नहुँदा सस्तोमा छाड्नुपर्ने या घरमै फर्काउनुपर्ने अवस्था थियो। नगर प्रमुख कृष्णप्रसाद सापकोटा कृषिलाई व्यावसायिक बनाउन किसानमा ऊर्जा भर्ने उद्देश्यले उनीहरूको उत्पादनको बजारीकणको जिम्मेवारी नगरपालिकाले लिएको बताउँछन्। ‘कृषिलाई व्यावसायिकतासँग जोड्न सके मात्र नगरवासीको जीवन उत्थान हुन्छ भन्ने मान्यता नगरले लिएको छ,’ उनले भने। तरकारीमा नगरपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको प्रमुख सापकोटा बताउँछन्।  

नगरले किसानका तरकारीजन्य सबै उत्पादन खरिद गरिरहेको छ। अहिले नगरको केन्द्रमा गोलभेंडा, साग, सिमी, काँक्रो, फर्सी, खुर्सानी, करेला, घिरौंलालगायत मौसमी उत्पादन संकलन भइरहेको छ। किसानसँग खरिद गरेको तरकारीको भुक्तानी हरेक १५ दिनमा दिने व्यवस्था नगरले गरेको छ। नगरले किसानको बैंक खातामा सिधै रकम जम्मा गरेर भुक्तानी गर्दै आएको छ। बजारमा चलेको भाउ किसानले पाउने नगरले जनाएको छ।  

तरकारी बिक्रीका लागि नगरको संकलन केन्द्रमा आउने किसानको संख्या दिनदिनै बढिरहेको केन्द्र सञ्चालनको जिम्मेवारी पाएका कृष्णबहादुर श्रेष्ठले जानकारी दिए। उनका अनुसार सिजन भएकाले अहिले धेरै मात्रामा संकलन भइरहेको छ। ‘दिनमै २०० केजीसम्म गोलभेंडा संकलन हुन्छ। यहाँ खपत हुन नसकेको गोलभेंडा कालीमाटी लगेर बेच्छौं,’उनले भने। अन्यत्र बजार नपाएर किसानले गोलभेंडा फालिरहँदा यहाँका किसा सहजै बजार र मूल्य पाइरहेका छन्। ४० केजीबाट सञ्चालनमा आएको केन्द्रमा अहिले गोलभेंडाबाहेक अन्य तरकारी नै दैनिक १०० किलोसम्म संकलन भइरहेको छ। नगरको चौतारा, गैरीगाउँ, कुबिन्डे, कल्लेरी, डडुवालगायत क्षेत्र मौसमी÷बेमौसमी तरकारी उत्पादनका लागि चर्चित छन्।  

कुबिन्डेका आलु र दुध ‘ब्रान्ड’ नै बनेका छन्। त्यस्तै काउली, गोलभेंडा, मुला, साग, खुर्सानीलगायत उत्पादनमा पनि नगर अग्रणी छ। नगरको मौसमी लेकाली निउरो र डल्ले मुलाको स्वाद सेना, प्रहरी, कर्मचारी र उनीहरूको परिवारको जिब्रोमा झुन्डिएको छ।  

नगरपालिकाले किसानका उत्पादन खरिद गर्न थालेपछि तरकारीको व्यावसायिक खेती बढ्नेमा नगर ढुक्क छ। नगर प्रमुख सापकोटा आफैंमा किसान हुन्। कुबिन्डेका उनी विगत्मा उनी आलु खेती गर्थे। २०७९ सालको स्थानीय निर्वाचनमार्फत उनी नगरपालिकाको नेतृत्वमा आएपछि नगरले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम बनाउँदै आएको छ। दोस्रो कार्यकालमा कृषि क्षेत्रको बजेट अझै बढाउने तयारीमा प्रमुख सापकोटा जुटेका छन्।  

नगरले कृषि उत्पादनमा कृषकलाई उत्साही बनाउँदै संकलन केन्द्र थप व्यवस्थित बनाउन चौतारा साँगाचोकगढी नगरपालिका–४ कुबिन्डेमा चिस्यान केन्द्र निर्माण गरिरहेको छ। नगरको २ करोड र संघीय सरकारको ५० लाख अनुदानमा निर्माण भइरहेको यो केन्द्रलाई नगरले आफ्नो गौरवको आयोजनाका रूपमा लिएको छ। चिस्यान केन्द्र आगामी माघसम्म सम्पन्न भएर सञ्चालनमा आउने नगरले जनाएको छ। छिट्टै नै नगरले कृषि एम्बुलेन्सको व्यवस्था गर्न लागेको प्रमुख सापकोटाले जानकारी दिए।

प्रकाशित: १२ असार २०८० ०१:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App