९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

राप्तीको बाढीले वर्षेनी खेतीयोग्य जमिन कटान

राप्ती सोनारी–२ कचनापुरस्थित मदुईमा राप्ती नदीले गरेको कटानमा ‘आपतकालिन तटबन्ध’ निर्माण गरिँदै। तस्बिर: अर्जुन ओली/नागरिक

बर्खायाम सुरु हुन थालेपछि बाँके, कचनापुरकी मुन्नीकुमारी थारुलाई रातभर निन्द्रा लाग्दैन। राप्तीको बाढी गाउँ नजिकै आइसकेकाले उनको परिवारले नसुतेरै रात कटाउँछ। उनीसँग भएको जमिनमा राप्ती नदी बगिरहेको छ।

आफूसँग रहेको ८ कठ्ठा जमिनमध्ये ७ कठ्ठालाई राप्तीको बाढीले कटान गरिसकेको मुन्नीकुमारी बताउँछिन्। उनको जमिनमा गत वर्ष देखी राप्तीले कटान गर्न सुरु गरेको हो।

‘लालपुर्जा बाकसमा छ, जग्गा जमिन सबै नदीले लगिसक्यो,’ उनले नागरिकसँग भनिन् ‘समयमै पक्की तटबन्ध गरेको भए हाम्रो जग्गालाई राप्तीले लैजाने थिएन।’

अहिले तत्कालका लागि आपतकालिन तटबन्ध बनाउन लागेकाले कटान केही मात्रामा रोकिने आशा गरे पनि दीर्घकालीन रुपमा नटिक्ने उनको बुझाई छ।

मदुईकी माया चौधरीको पीडा पनि उस्तै छ। आफूसँग रहेको ५ कठ्ठा जमिन मध्ये राप्तीले कटान गरेर अब आधा कठ्ठा मात्रै बचेको छ। त्यो पनि नदीको उच्च जोखिममा छ। मायाको जमिन भएर अहिले राप्ती नदी बगिरहेको छ।

‘नदी जहाँबाट बगिरहेको छ, त्यहाँ हाम्रो जमिन छ, पाँच कठ्ठा जति जमिन सबै नदीले लग्यो, अब आधा कठ्ठा जति बचेको छ,’ उनले दुखेसो पोख्दै भनिन्।

बाढीले आफूसँग भएको जमिन त काटेर लग्यो, आउने बर्खामा घर परिवारलाई नै बगाउने हो कि भन्ने चिन्ताले उनलाई सताउँछ।

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ कचनापुरस्थित मदुई गाउँमा २०७४ साल देखी राप्तीको बाढीले खेतीयोग्य जमिन निरन्तर कटान गर्न सुरु गरेको हो। बाढीले पूर्व मन्त्री समेत रहेका कचनापुरका स्थानीय बासिन्दा प्रेमबहादुर भण्डारीको पनि करिब १२ बिघा जमिन कटान गरिसकेको छ। राप्तीले २०७४ साल देखी हालसम्म उक्त गाउँको ३० बिघा पक्का जमिन कटान गरिसकेको छ।

‘नदीले कचनापुर गाउँलाई लक्षित गरेको जस्तो देखियो, करिब ३० बिघा पक्का जमिन कटान भइसकेको छ, जुन बिनौना र मदुवाको बीचमा पुल छ, त्यो पुलमा पनि क्षति हुन सक्ने सम्भावना देखिएको छ,’ राप्रपाका नेता समेत रहेका भण्डारीले भने।

नदी नियन्त्रणका लागि ठेक्का लागे पनि ठेकेदारले कामै नगरेपछि बाढीले थप क्षति पुर्‍याएको उनको गुनासो छ। सरकारले त्यस्ता ठेकेदारलाई अविलम्ब नियन्त्रणमा लएर कानुनी कारबाही गर्नुपर्नेमा अहिलेसम्म कारबाही नगरेको भण्डारीले बताए।

राप्तीमा ‘आपतकालिन तटबन्ध’

बर्षेनी तीव्र रूपले कटान भइरहेको मदुईमा ‘आपतकालिन तटबन्ध’ निर्माणको काम सुरु गरिएको छ। बाढीले क्षति गरेर थुप्रै स्थानीय बासिन्दा घरबार विहीन हुने अवस्थामा पुगेपछि स्थायी तटबन्ध निर्माण गर्नुपर्ने माग स्थानीय स्तरमा उठ्दै आएको थियो। विगत दुई दिन देखी राप्तीमा कटान नियन्त्रण सम्बन्धी काम सुरु भइसकेको जनताको तटबन्ध कार्यालय लमही दाङका इन्जिनियर सूर्यदेव नायकले बताए।

राप्तीमा पानीको बहाव बढेकाले तारजालीको तटबन्ध गर्न समस्या हुने भएपछि आकस्मिक रोकथामको प्रयास स्वरूप अहिले ठुलठुला ढुंगा नदी छेउमा राख्ने गरिएको छ। उक्त क्षेत्रमा करिब २ सय २५ मिटर बराबर तटबन्ध गर्ने योजना रहेको उनले सुनाए।

इन्जिनियर नायकका अनुसार यस्तो प्रविधिको प्रयोग कार्यालयले यसअघि कर्णाली नदी नियन्त्रणमा गरेको थियो। त्यहाँको प्रयोग सफल भएपछि कचनापुरमा पनि यसलाई प्रयोग गरिएको उनले बताए।

‘नदीमा पानीको सतह बढेको छ, यो अवस्थामा तारजालीको काम गर्न पनि सकिँदैन,’ उनले भने ‘बरु ठुला ढुंगा राखेपछि नदीले काट्न पाउँदैन, हाम्रो स्टिमेटमा ३० सेन्टीमिटर भन्दा तलको ढुंगा नराख्ने भनेका छौं।’

लुम्बिनी प्रदेशकी सांसद कृष्णा केसी ‘नमुना’ ले बर्षेनी नदीले कटान गर्दा स्थानीय स्तरबाट पटक–पटक तटबन्ध गर्नुपर्ने माग भइरहेको अवस्थामा संघीय सरकारमार्फत आकस्मिक बजेट ल्याएर काम सुरु गरिएको बताइन्।

कचनापुरको मदुई, फत्तेपुरको खल्ला झगडिया, नरैनापुरको भोजभगवानपुर लगायत ९ स्थानमा कटान नियन्त्रण गर्नका लागि बारम्बार प्रधानमन्त्री कार्यालय, ऊर्जा तथा जलस्रोत मन्त्रालय र अर्थ मन्त्रालयमा पुगेर अनुरोध गरिएकोमा बजेट निकासा भएर अहिले कचनापुरको मदुईमा पहिलो चरणको काम काम सुरु भएको उनले बताइन्।

‘यहाँको जन दबाब र हामीले जसरी पहल गर्‍यौँ, प्रधानमन्त्री ज्यु, ऊर्जा जलस्रोत मन्त्री ज्यु, अर्थमन्त्री ज्युले ठाडो आदेशमा बजेट पठाउनु भएको छ, अहिले काम पनि सुरु भएको छ,’ केसीले भनिन् ‘काम गर्दै गर्नुस्, अरू थप बजेट पुगेन भने हामी दिन्छौँ भनेर प्रधानमन्त्री ज्युले आश्वासन दिनु भएको छ,’ उनले भनिन्।

सांसद केसीका अनुसार अहिले आकस्मिक रुपमा तटबन्ध गर्नका लागि बजेट दुई करोड निकासा भएको छ। तटबन्ध निर्माण स्थलमा पुगेर सांसद केसीले मनसुन नजिक आइसकेकाले दिनरात गरेर भए पनि काम सम्पन्न गर्न ठेकेदार तथा कर्मचारीलाई अनुरोध गरिन्।

पूर्व मन्त्री भण्डारीले भर्खरै बजेट निकासा भई काम सुरु भएकोमा कटान नियन्त्रण हुनेमा केही आशा जागेको बताए।

‘वर्षातले कति साथ दिने हो, श्वास छँदासम्मको आस भनेझैँ केही संरक्षण हुन्छ कि भन्ने सोच बनाएका छौं,’ उनले भने। 

यसका लागि प्रदेश सांसद केसीको पनि योगदान रहेको भण्डारीले बताए।

प्रकाशित: ९ असार २०८० ०९:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App