४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

आँगनमा पानी आउँदाको खुशी

लेकवेशी नगरपालिका–१० बडीपाटीकी मनकुमारी खड्का आँगनमै जोडिएको धाराबाट गाग्रीमा खानेपानी भर्दै । तस्बिरः नगेन्द्र उपाध्याय/नागरिक

लेकवेशी नगरपालिका–१० बडीपाटीकी मनकुमारी खड्काले आफ्नो उमेरको अधिकांस समय एक घण्टा टाढाको खोलाबाट पानी ल्याउँदै वित्यो। सदरमुकाम वीरेन्द्रसँग जोडिएको बडीपाटी पूर्वी सुर्खेत जाने बाटोमै थियो । खड्काले बटुवाका लागि चिया–नास्ता पसल सञ्चालन गरेकी थिइन् । खड्काको चिया–नास्ता पसललाई बटुवाहरु तिर्खा मेटाउने ठाउँका रुपमा चिन्दथे ।  

‘त्यहीँ भएर दिनमा आठ–दश गाग्री पानी खर्च हुन्थ्यो,’ खड्काले भनिन्, ‘लोग्ने (श्रीमान) चिया–नास्ता बनाउँथे, म दिनभर पानी बोक्थे ।’ उनको घरदेखि मुहान पुग्न आधा घण्टा लाग्थ्यो । उकालोमा पानीको गाग्री पोकेर घर पुग्दाको थकानको त कुरै गरि साध्य छैन् । ‘अझ अहिलेको जस्तो शौचालय भइदिए कति दुःख हुँदो हो,’ खड्काले भनिन्, ‘उति बेला घाँटी चिस्याउनकै दुःख थिए ।’

उमेरले ७० कटेकी मनकुमारीले आफ्नो जीवनकालमा आँगनमै धारा र पानी आउला सोचेकी थिइनन् । ‘विवाह गरेर २०२८ सालमा यहाँ आएदेखि पानी बोक्न थालेकी हुँ, सुत्केरी हुँदा र विरामी पर्दा बाहेक कहिल्यै पानीको भारी छुटेन्,’ उनले भनिन्, ‘अहिले आँगनमै पानी आउँदा सपनाजस्तो लागिरहेको छ।’

पानी बोक्न जाँदाको दुःखको पहाड ६२ वर्षीया हरिकला खत्रीसँग पनि छ। पानीकै कारण अहिले पनि उनको दुई–तीन जना छिमेकीसँग बोलचाल छैन्। ‘सानो मुलमा गाउँ भरिका आइमाई (महिला) जम्मा हुन्थ्यौं,को पहिले भर्ने भन्ने, कसले धेरै भर्ने भन्ने विषयमा विवाद हुन्थ्यो,’ उनले भनिन्, ‘त्यहीँ विवादले केहीसँग अहिले पनि मेरो बोलचाल छैन् ।’ लेकवेशीको बसाई भएपनि बडीपाटीका स्थानीय पानी लिन वीरेन्द्रनगरको झुप्रा खोला पुग्नु पर्ने बाध्यता थियो ।

आँगनमा पानीको धारा पाउँदा हरिकलाको खुशीको सीमा छैन् । ‘आँगनमा पानी ल्याइदिने हाम्रा लागि भगवान हुन्,’ उनले भनिन्, ‘हामीले पानीकै लागि धेरै दुःख पायौं, अव छोरी–बुहारीले हामीले पाएको दुःख नपाउने भए ।’

लेकवेशी नगरपालिकाका मेयर उमेश पौडेलले बस्ती बसेदेखिनै खानेपानीको समस्या भोग्दै आएका नागरिकलाई खडेरीमा घरघरमा खानेपानीको धारा दिन पाउँदा खुशी लागेको बताए । ‘चुनावका बेला भोट माग्न आउँदा यहाँका नागरिकहरुको एउटै माग खानेपानी थियो,’ उनले भने, ‘एक वर्षमै त्यो माग पूरा गर्न पाउँदा खुशी लागेको छ ।’

उनले पाँच वर्षभित्र लेकवेशीका सबै घरधूरीमा स्वच्छ खानेपानी पु¥याउने उद्देश्य अनुसार काम भइरहेको बताए । ‘नागरिकहरुको पहिलो आवश्यकता खानेपानी हो,’ उनले भने, ‘पाँच वर्षभित्र प्रत्येक घरधूरीमा खानेपानीका धारा पु¥याउने लक्ष्य अनुसार काम गरिरहेका छौं ।’

तिजुबोट बडीपाटी तथा सरसफाई उपभोक्ता समितिले लेकवेशी–१० का अध्यक्ष यामप्रसाद आचार्यले तीन सय १४ घरधूरीलाई २४ सैं घण्टा खानेपानी उपलब्ध गराउन आफूहरु सफल भएको बताए । उनले बडीपाटी, भट्टेघारी र चन्द्रपुरका तीन सय ११ सहित तीन वटा सामुदायिक धाराहरु जडान गरिएको बताए । समाज जागरण केन्द्र (स्याक नेपाल) र हेल्भेटासको सहयोगमा लेकवेशी नगरपालिकाले खानेपानी आयोजना निर्माण सम्पन्न गरिएको उनले बताए । 

वडाध्क्ष पर्शुराम भण्डारीले १४ किलोमिटर टाढाको झुप्राखोलाबाट खानेपानी ल्याइएको बताए । ‘पानीको स्रोत खोज्न धेरै समय लाग्यो,’ उनले भने, ‘सबैको सहयोगका कारण छोटो समयमै खानेपानी घर–घरमा ल्याउन सफल भयौं ।’ उनले आयोजना सुरु भएको छ महिनामै आफूहरुले खानेपानी ल्याउन सफल भएको बताए ।

प्रकाशित: ९ असार २०८० ०७:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App