स्थानीयतहहरुमा चरम भ्रष्टाचार र बेथिति मौलाइरहेको भन्ने जनगुनासो व्यापक आइरहेका बेला उदयपुरमा वडा कार्यालयको घेरावार (कम्पाउण्ड) पर्खाल हावाहुरीले भत्काइदिएको छ।
जिल्लाको उदयपुरगढी गाउँपालिका ६ को वडा कार्यालय परिसरको घेरावार पर्खाल सामान्य हावाहुरीले नै भत्काउनुले पूर्वाधार विकासको काममा गुणस्तर कायम नभएको जनगुनासोलाई बल पुगेको छ।
नेपालटारस्थित गाईघाट–कटारी खण्डको मदन भण्डारी लोकमार्गसँग जोडिएको जमिनमा निर्मित वडा भवन परिसरमा लगाइएको इँटा र सिमेन्ट जडित १० इन्च मोटाईको पर्खाल मंगलबार साँझको सामान्य हावाहुरीले नै भत्काएको प्रत्यक्षदर्शी स्थानीयले बताए।
प्रत्यक्ष दर्शीहरुका अनुसार वर्षासँगै हावाहुरी चलिरहेका बेला हेर्दाहेर्दै पर्खाल गल्र्याम्म ढलेको थियो। पर्खाल झण्डै ५/६ मिटर भत्केको छ। सिमेन्ट र इँटा जडित पक्की पर्खाल यसरी सामान्य हावाले ढाल्नुमा त्यसमा प्रयोग भएको सिमेन्ट र बालुवालगायत कच्चा पदार्थको संमिश्रणमा कमजोरी भएको हुनसक्ने स्थानीय बताउँछन्।
वडाध्यक्ष कृष्ण खत्रीले भने निकै जोडले हावाहुरी चल्दा पर्खाल भत्किएको बताए। उनका अनुसार गत वर्ष गाउँपालिकाले दिएको बजेटबाट भवनको पूर्वतर्फ लगाइएको पर्खाल भत्किएको हो। पर्खाल निर्माण गर्दा आवश्यकता अनुसार क्युरिङ (पानी) नपुगेर कमजोर हुन गई भत्किएको अनुमान उनले गरेका छन्।
खत्रीले केही मिटर पर्खाल हावाले भत्काएपछि अरू पनि भत्काउला भनेर बाँकी पर्खाल पनि भत्काइएको बताए। भत्केको पर्खाल पुनः निर्माण गर्न प्राविधिक इस्टीमेट गराई आवश्यक बजेटका लागि गाउँपालिकासँग अनुरोध गर्न लागेको वडाध्यक्ष खत्रीले बताए।
गाउँपालिकाका इन्जिनियर सन्तोष थारुले हावाहुरीले पर्खाल भत्काएको भन्ने खबर भर्खर आफूले पाएको भन्दै कसरी भत्क्यो भन्नेबारे घटनास्थल पुगेर मात्र भन्न सक्ने बताए। सामान्यतया हावाले पर्खाल नभत्काउनुपर्ने भन्दै उनले गत वर्ष निर्माण भएको सिंगल इँटाको ५ इन्च पर्खाल भएकाले कमजोर भएकै कारण भत्केको हुनसक्ने बताए। अघिल्लो वर्षको कार्यक्रम भएकाले यकिन बजेट कति खर्च भएको भन्ने कुरा पनि फाइल हेरेपछि मात्र भन्न सक्ने उनले बताए।
गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले वडागत बजेटबाट निर्माण भएको घेरावार पर्खाल हावाले ढाल्यो भन्ने खबर आएकाले के भएको भन्नेबारे बुझ्ने काम भइरहेको बताए। उनले केही दिनयताको हावाहुरीले जताततै विद्यालय, भवन, घर, गोठ र अन्य भवनका छानाहरु पनि उडाएर क्षति पुर्याईरहेको भन्दै घेरावार पर्खालसमेत भत्काएर गाउँपालिकालाई क्षति पुर्याएको बताए। सो पर्खा एक वर्षअघिको वडागत सिलिङ बजेटबाट वडाध्यक्ष र सदस्यहरुकै रेखदेखमा निर्मित घेराबार भएकाले भत्के/बिग्रेमा उनीहरु नै जिम्मेवार हुने पनि अध्यक्ष मगरले बताए।
प्रकाशित: ६ असार २०८० १२:४३ बुधबार