२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मैनामैनी वन फँडानी अपडेटः १४ सय क्युफिट काठ जंगलमै अड्कियो

मैनामैनीमा काटिएको काठ डिभिजन वन परिसरमा नापजाँच गरिदै। तस्बिरः महेश्वर

दुईसाता अघि वन कर्मचारी घट्नास्थलमै रहेका बेला रातारात हराएको अवैध काठ फरक फरक जंगलमा लुकाएको अवस्थामा फेला परे पनि आधा गोलीया जंगलमै छाड्नु परेको छ।

हराएको काठ वन कर्मचारी टोलीले सातादिन लगाएर पत्ता लगाए पनि भौगोलिक कठिनाइका काराण निकाल्न नसकेपछि जंगलमै छाडेर टोली सदरमुकाम फर्केको हो।

उदयपुरको बेलका नगरपालिका ७ मैनामैनीको दुधकोसी सामुदायिक वन उपभोक्ता समूहको जंगलमा विना अनुमति फँडानी भएका ३७ वटा हरिया रुखका गोलीया टुनाहरु निरीक्षण अनुमगन भइरहेकै बेला आधाभन्दा बढी हराएका थिए।

डिभिजन वन कार्यालय गाईघाटबाट खटेको टोलीले रातदिन गरेर एकसातामा भिन्न भिन्न ठाउँमा लुकाएको अवस्थामा पत्ता लगाए पनि अनकन्टार जंगलका भीर र खोँचमा लुकाइएकाले निकाल्न नसकेपछि त्यही छाडिएको हो। ३६ वटा साल र एउटा चिलाउनेको हरिया रुख ढालेर गोलीया टुना बनाई केही चिरानसमेत गरेको अवस्थामा उजुरी परेपछि डिभिजनले वन कर्मचारी परिचालन गरेर निरीक्षण अनुगमन गरेको थियो।

आधादर्जन बढी स्थानीयले जेठ २३ गते दिएको लिखित उजुरीका आधारमा खटेको डिभिजन वन कार्यालय गाईघाटका सहायक वन अधिकृत रामभगत यादव नेतृत्वको टोली २५ गतेदेखि असार १ गतेसम्म घट्नास्थलमै रहेर काटिएको काठको लगत संकलन गरेको थियो। कर्मचारी टोरी फिल्डमै रहेका बेला रातारात गोलीया हराउन थालेपछि बाँकी काठ सदरमुकाम ल्याउन थालियो। जस अनुसार टोलीले १ सय क्युबिकफिट चिरान र १ हजार १ सय क्युबिकफिटको १ सय २० थान गोलीया काठ सदरमुकाम ल्याइसकेको छ। जसमा चिरान १ सय १० थान कडी (बटम) र १ हजार १ सय क्युविकफिट बराबरको १ सय २० थान गोलीया ल्याईसकिएको डिभिजन वन अधिकृत (डिएपओ) डा. इन्द्र सापकोटाले बताएका छन्।

सापकोटाका अनुसार हराएका गोलीयामध्ये ३१ थान जेठ अन्तिममा फेला पारेर गाईघाट ल्याइएको छ। ती गोलीया घट्नास्थलभन्दा ३ किलोमिटर टाढा अनकन्टार जंगलमा लगेर लुकाईराखेको अवस्थामा फेला परेको उनले बताए। बाँकी १ हजार ४ सय क्युविकफिट बराबरका गोलीया त्यो भन्दा बिकट ठाउँमा लुकाएर राखेको पाइएकाले निकाल्न नसकेर त्यहीँ चिरान गर्नगरी छाडिएको उनको भनाइ छ। ‘काठ रातारात लुकाउन थालेपछि हामीले व्यापक खोजविन थाल्यौँ, खोज्ने क्रममा ३÷४ किलोमिटर टाढासम्म लगेर अप्ठेरो र भीरमा लुकाएर राखेको अवस्थामा फेला पर्यो’ डिएफओ सापकोटाले भने ‘निकाल्नसक्ने जत्ति गाईघाट ल्याईसकियो, तर, आधाभन्दा बढी गोलीया निकाल्नै नसक्ने ठाउँमा लुकाएको अवस्थामा फेला परेको छ।’

निकाल्न नसकिएका गोलीया त्यहीँ चिरान गरेर ल्याउन लागिएको छ। तर, चिरान गर्नका लागि अदालतबाट आदेश चाहिने भएकाले त्यसको प्रक्रियाका लागि कार्यालय अघि बढेको उनले बताए। चोरी निकासीका काठ घट्नास्थलमै चिरान गर्नु परे अदालतको आदेश चाहिने भएकाले कानुनी प्रक्रिाय अघि बढाएको उनले बताए। अदालतले कहिले आदेश दिन्छ, अनि त्यहीँ चिरान गरेर ल्याउने उनले बताए। ‘हराएका सबै काठ फेला परेकोमध्ये निकाल्न सक्ने गोलीया ल्याईसक्यौँ’ डिएफओ सापकोटाले भने ‘१ हजार ४ सय क्युविकफिट गोलीया अत्यन्त भिरालो ठाउँमा रहेकाले निकाल्न नसक्ने हुँदा अदालतको आदेश लिएर चिरान गर्न लागिएको छ।’

घट्नास्थलमा खटेका सहायक वन अधिकृत यादवले वन फँडानी कार्यमा समूहकै अध्यक्ष मणिराज राई र सचिव दिनेश राईले अगुवाई गरेको प्रारम्भिक अनुसन्धानले देखाएको बताएका छन्। अध्यक्ष र सचिवकै मिलेमतो रहेकाले रुख ढालेर टाढाटाढा लगेर लुकाएको अवस्थामा धेरै मेहनेत गरेर पत्ता लगाएको उनले बताए। तर, पत्ता लागे पनि निकाल्न नसकेपछि त्यहीँ चिरान गर्ने गरी स्थनीय सवडिभिजन कार्यालयको जिम्मा छाडेर फर्केको यादवले बताए। यादवका अनुसार बेलका ८ को सोमबारेदेखि ७ को मैनामैनी मुलगाउँ जाने सडकको आसपासका ठूला रुखहरु सबै ढालेर अन्यत्र लगी चिरान र घाटगद्धीमा लुकाएको अवस्थामा काठ फेला परेको छ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी जागेश्वर साहका अनुसार काठ काट्ने दोषीहरु अहिले नै पत्ता लागिनसकेको र हालसम्म कोही पक्राउ पनि परेका छैनन्। घट्नाबारे अनुसन्धान भईरहेको र हाललाई समूहका अध्यक्ष, सचिव र पूर्व कोषाध्यक्षमाथि वन कर्मचारीको नजर सोझिएको छ। जस अनुसार उनीहरु ३ जनामाथि अदालतबाट पक्राउ पुर्जी जारी गरेर खोजी कार्य भइरहेको छ। घट्नालगत्तै उनीहरु फरार रहेकाले पनि स्वभाविक रुपमा उनीहरु शंकाको घेराभित्र पर्ने भएकाले पक्राउ पुर्जी जारी गरेर खोजी सुरु भएको छ। आरोपितहरु स्वयं उपस्थित भएमा घट्नाबारे अनुसन्धान गर्न सहज हुने तथा लागेको आरोपको प्रतिरक्षा गर्न पनि सहज हुन भएकाले सकेसम्म आत्मसमर्पण गर्न ओरोपितहरुलाई साहले आग्रह गरेका छन्।

अपराधी पत्ता नलागे पनि दोषीमाथि वन ऐन अनुसार कारबाही प्रक्रिया अघि बढिसकेको छ। वन ऐन ०७६ अनुसार अवैध काठ काट्ने दोषी प्रमाणित भएमा बिगो, बिगोको दोब्बर जरिवाना र कैद सजाय या दुवै सजाय हुनसक्ने प्रावधान छ। वन ऐन ०७६ को दफा ५० को उपदफा ६ (च) ले व्यवस्था गरेको व्यवस्था अनुसार ५ लाखभन्दा माथि मूल्यको काठ भएमा मूल्य बराबरको बिगो र बिगोको दोब्बर जरिवाना तथा २ वर्ष कैद वा दुवै सजाय हुने प्रावधान छ। यो घट्नामा २२ लाखभन्दा बढी मूल्यको काठ काटेको पाइएकाले सो बराबरको बिगो, बिगोको दोब्बर जरिवानासहित २ वर्ष कैद वा दु्वै सजाय आकर्षित हुनसक्ने सूचना अधिकारी साहले बताएका छन्।  

प्रकाशित: ६ असार २०८० ११:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App