५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

मधेस प्रदेशमा सुरक्षाकर्मी, भन्सारकर्मी र तस्करको त्रिकोणात्मक ‘सेटिङ’

लाइन मिलाएर मधेस प्रदेशमा तस्करी

मकवानपुर प्रहरीले पक्राउ गरेको मधेस प्रदेशको ठाढी नाकाबाट भित्रिएको भन्सार छलीका सामान। तस्विरः नागरिक

‘सुरक्षाकर्मी र भन्सारकर्मी मिलेपछि जे पनि वारपार गर्न सम्भव छ’ मधेस प्रदेशको ठाढी भन्सार नजिक भेटिएका रामजीवन यादवको भनाइ हो यो।

यादवको प्रतिनिधि भनाई अचेल मधेस प्रदेशको सीमा क्षेत्रका बासिन्दाको आम भनाई बनेको छ। यो भनाइले मधेस प्रदेशमा भन्सारकर्मी र सुरक्षाकर्मीको सेटिङमा बेरोक चलेको तस्करी धन्दालाई दर्शाउँछ।

मधेस प्रदेशको सीमा क्षेत्रवासीको भनाइलाई बागमती प्रदेशको मकवानपुर प्रहरीको कार्यले पुष्टि प्रायः गरिदिएको छ। सिरहाको ठाढी भन्सार नाकाबाट भारतीय नम्बरको ट्रकमा प्याजको बोरा तल भन्सार छलीका कपडा राखेर लैजाँदै गर्दा मकवानपुर प्रहरीले जेठ १ गते रातोमाटेमा पक्राउ गरेर मधेस प्रदेशमा सेटिङमा चलेको तस्करी धन्दालाई उजागर गरिदिएको छ। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरले भारतीय नम्बरको ट्रक नियन्त्रणमा लिएर चेकजाँच गर्दा प्याजका बोराहरूको तल ठूलो परिमाणमा भन्सार छलीका कपडा तस्करी गर्न लागिएको तथ्य छताछुल्ल भयो।

पक्राउ परेको ट्रकमा विभिन्न किसिमका ९० बोरा भन्सार छलीका कपडाहरू रहेको मकवानपुर प्रहरीले जनाएको छ। ट्रक चालक भारत पन्जाब राज्य जिल्ला लोदियाना ग्राम रसलपुर वडा नं ७ बस्ने वर्ष ३३ को रन्जौद सिंह र सह चालक भारत बिहार राज्य जिल्ला मुझफरपुर ग्राम माहामाद बस्ने वर्ष २६ को सुधीर कुमार सहनीलाई नियन्त्रणमा लिइएको छ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालय समेतको निगरानीमा खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा तस्करीका उक्त सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख बामदेव गौतमले बताए।

हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्ट अगाडी पूर्व पश्चिम सडक खण्डमा सिराहाको ठाढी नाकाबाट भित्रिएको ०६ जीई ५०५३ नम्बरको भारतीय ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा सो ट्रकको पछाडिको भागमा चारैतिरबाट प्रति बोरा ५० किलोको १६८ बोरा प्याजको भन्सार काटी प्याजकै बोराहरूले छोपीबीच भागमा कपडा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्स्पेक्टर रामचन्द्र घिमिरेले बताए।

बरामद गरिएको सामग्री थप अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यालय हरिहर भवन ललितपुर पठाइएको घिमिरेले बताए। बरामद सामानहरुमा पाइन्टको कपडा १ करोड २८ लाख ९६ हजार मूल्यको रहेको छ। यसैगरी सुटको कपडा ३ लाख, सर्टको कपडा १६ लाख ७६ हजार २५० रुपैयाँको रहेको प्रहरीले अनुमान गरेको छ। यसैगरी कुर्था १ लाख ३ हजार रुपैयाँको, कोरा कपडा ५ लाख २५ हजार ४४७ रुपैयाँको रहेको प्रहरीले जनाएको छ। 

ढुवानीमा प्रयोग भएको ट्रकको अन्दाजी मूल्य २० लाख र ट्रकमा ढुवानी गरिरहेको अन्दाजी ८४ क्विन्टल प्याजको करिब २५ लाख २० हजार मूल्य अनुमान गरिएको छ। जम्मा १ करोड ७७ लाख ५२ हजार ६ सय १७ रुपैयाँ बिगो सहित पक्राउ सामान आन्तरिक राजश्व कार्यालय पठाइएको घिमिरेले बताए।

यता भन्सार कार्यालय ठाढीका नायव सुब्बा वसन्त कुशवाहाले जेठ ३२ गते दिउँसो ११ बजे सो ट्रकमा पारिबाट भित्रिएको प्याजको प्रज्ञापन गोदावरी माता इन्टरनेशनल भगवानपुर, सिरहाको नाममा जारी भएको बताए। ५० किलोको ३४५ बोरा प्याजको प्रज्ञापन जारी भएको उनले बताए।

‘भगवानपुरसम्म जाने माल कसरी मकवानपुर पुग्यो थाहा भएन।’ ‘हामीले प्याज पठाएका हौँ’ उनले भने,‘प्याजमा कपडा कसरी पस्यो थाहै भएन। हामीले माथिको चार वटा प्याजको बोरा चेकजाँच गरेर पठाएका थियौं, प्याजको बोरा तल कपडाबारे पत्तै पाएनौँ।’

ठाढी भन्सार प्रमुख धु्रवप्रसाद कोइरीले भने ‘म असार १ गतेदेखि बिदामा थिए। आज अफिस फर्किँदै छुँ, बुझेर भनौंला। यो घटना त जेठ ३२ गतेकै हो नि प्रश्नपछि उनी अलमलमा परें। भने, ‘अँ अँ यो त काठमाडौंतर्फ जाँदै थियो अरे, हामीले यहाँबाट माल काठमाडौं पठाएकै होइनौं। यति भन्दै भन्सार प्रमुख कोइरीले पछि कुरा गरौंला भन्दै फोन काटे।

सिरहाको ठाढी नाकाबाट भित्रिएको भन्सार छलीका सामान लोड गरिएको भारतीय नम्बरको ट्रक मधेस प्रदेशको सात वटा जिल्लाका दर्जनौ सुरक्षा र ट्राफिक पोष्ट पार गर्दै बागमती प्रदेश पुगेपछि मात्र समातियो। यस तस्करीमा मधेस प्रदेशको सुरक्षा, अनुसन्धान र भन्सारको सेटिङ रहेको प्रष्ट भैसकेको बारा पथलैयाका एक बुद्धिजीवीले भने।

सबभन्दा पहिला त जुन जिल्लाबाट यती ठूलो परिमाणमा भन्सार छलीका मालसामान भित्रियो त्यो जिल्लाको अनुसन्धान र प्रहरीले समात्नुपर्थ्यो। जिल्ला राष्ट्रिय अनुसन्धान कार्यालयका अनुसन्धान कर्मचारीहरु अहिले हरेक सहरमा छन्। उनीहरुको काम नै खुफिया जानकारी संकलन गरी सम्बन्धित निकायमा जाहेर गर्नु हो। तर, यहाँ प्रदेशभरिका सबै सुरक्षा निकाय आँखा चिम्लिनु सन्देहपूर्ण छ, उनले भने।

सिरहाको ठाढी, माडर र बरिया पट्टी नाका पछिल्लो समय तस्करको सुरक्षित अखाडा बनेको छ।

मधेस प्रदेशको सप्तरीको सीमानाका तस्करको उर्वर भूमि बनेको छ। यहाँको विभिन्न नाकाबाट स्याउसहितका सामग्रीको भारत तस्करी फस्टाएको छ। बलान बिहुल गाउँपालिकाको बेल्ही नाकाबाट स्याउ तस्करी व्यापक छ।

जिल्लामा लाइन मिलाएर स्याउ तस्करी फस्टाएपछि जेठको पहिलो साता मधेस प्रदेश प्रहरी कार्यालयको टोली आएर बलानबिहुल गाउँपालिका–४ बेल्ही नाकाबाट ११ लाख रुपैयाँ बजार मूल्य पर्ने ३ सय ८५ कार्टुन स्याउ बरामद गर्‍यो। यो सहितको सीमा नाकाबाट पछिल्लो समय सुन, सुपारी र स्याउ तथा मटर, मरीच र मदिरा तस्करी व्यापक छ। पातो, छिन्नमस्ता, सोभरणपटी र बेल्ही लगायतका नाकाबाट स्याउ, सुन, सुपारी, मदिरा तस्करीको सुरक्षित नाका मानिन्छ।

स्थानीय सन्तोष यादवको घरमा स्याउ रहेको सूचनापछि प्रहरीले घरधनी नभएपछि रातभर घरलाई घेरा हालेर बसेको थियो। भोलिपल्ट बिहान सटर फोडेर ३ सय ८५ कार्टुन स्याउ नियन्त्रणमा लिइएको थियो।

बेल्हीका स्थानीय भन्छन्, ‘प्रहरीकै संरक्षणमा स्याउ लगायतका मालसामान तस्करी हुन्छ। महिनाबारी दिन ढिलाई भएपछि वा महिनावारी लाइन नपाउने प्रहरी मालसामान समातेर लाइन जोड्न दबाब दिन्छन्, प्रहरीको ‘सेटिङ’ नभई कसैले पनि तस्करी गर्ने आट गर्दैनन्। लाइन दिन ढिला गर्‍यो कि माल समातिहाल्छ। नेपाल भारत दुवैतिरका सुरक्षाकर्मीले ग्रिन सिग्नल दिएपछि पारि छिराउँछन्।

धनुषाको जटहीमा भेटिएका जसोधर साह आश्चर्य व्यक्त गर्छन्, ‘प्रहरीको उपस्थिति रहेको सीमानाकाबाट तस्करले भन्सार राजश्व छली गरी निर्धक्क मालसामान वारपार गर्नु मामुली कुरा हो, सर !’ सुरक्षाकर्मीको उपस्थिति रहेकै सीमानाकाबाट तस्करको राज चलेको मधेस प्रदेशको नामी जिल्ला हो, धनुषा। नातासम्बन्धका कारण सिरहा धनुषा बाक्लै आउजाउ गर्ने धनुषाका साह भन्छन्,‘ सिरहा र धनुषाका सीमानाका अहिले तस्करलाई जिम्मा लगाइदिए जतिकै महसुस हुन्छ।’

यहाँका नाकाबाट चिनी, कपडा, मोटरपार्टस्, पान मसाला, तेल, दाल, चामल, मैदा, सुर्तीजन्य पदार्थ (रजनीगन्धा, गुट्खा) देखि हरेक सामान भन्सार राजश्व छली गरी भित्रिन्छ। यताबाट (वारिबाट) मदिरा, चाइनिज स्याउ, सुपारी पारि पुर्‍याइन्छ। सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सारसँगको त्रिपक्षीय सेटिङमा (लाइन मिलाएर) यहाँ तस्कर राज चलेको सीमावर्ती क्षेत्रका स्थानीय बताउँछन्।

सुरक्षाकर्मीबाट (घुमुवा) ‘लाइन क्लियर’ रहेको संकेत पाएपछि अन्धाधुन्ध वारिपारि सामान ढुवानी सुरु हुन्छ। सीमादेखि सहरसम्म लाइन क्लियर गर्न मोटरसाइकलमा तस्कर र प्रहरीका प्रतिनिधि (घुमुवा) खटिएका हुन्छन्।

सडक छेउमै घर हुने माडरका एक स्थानीयले भने, ‘हामीसँग आँखा, कान र मुख थुनेर बस्नुको विकल्प छैन। राज्यको निकायले नै तस्करलाई लाइन खोलिदिएपछि निहत्था हामीमा कसरी मुख खोल्ने आट पलाउँछ ? उनले भने।’

उनको सीधा बुझाइ छ सीमादेखि सहरसम्मका प्रहरी तस्करसँग नमिल्ने हो भने भन्सार राजश्व छलेर सामान वारपार गर्ने आट पुग्दैन्।

उनले भने, ‘प्रहरीका ‘घुमुवा’ ले नै तस्करका बाटो पहिल्याइदिने गरेको पाइन्छ। सीमा क्षेत्रमा तस्कर र प्रहरीसँगै बसेर खानपिन गर्छन्। तस्करसँग हिमचिम र जनतासँग रुखो प्रहरीको व्यवहारले सीमा क्षेत्रका बासिन्दामा राज्यप्रति नफरत पलाउँदै गएको छ। रातभर मोटरसाइकल, पिकअप, ट्रक र टेम्पोमा सामान वारपार भइरहेको जनताको आँखाले देख्ने तर प्रहरीले नदेख्ने कस्तो खेला हो !

सीमादेखि सहरसम्म सुरक्षाकर्मी र भन्सार कर्मचारीको धापका कारण देशकै प्रमुख वीरगन्ज भन्सार र सीमा क्षेत्रमा तस्करहरू सलबलाइरहेका छन्। पछिल्लो समय पर्सामा सेटिङमा तस्करी फस्टाउँदो छ। पर्साको साहायक अमरपट्टी र भिस्वा नाकाबाट तस्करी बढ्दो छ।

रक्सौलको भेलाही नाका हुँदै पर्साको अमरपट्टी र भिस्वा नाकाबाट ठूलो परिमाणमा भन्सार राजस्व छली कपडा, मोटरपार्ट्स लगायतका सामान भित्रिने गरेको सीमावासी बताउँछन्। वारिका सुरक्षा अधिकारीसँग सेटिङ मिलाएर हुने तस्करीलाई भारतीय सीमा सुरक्षा बलले रोक्न खोज्दा तस्कर जाइलाग्छन्।

विभिन्न सीमानाकाबाट भित्रिने भन्सार राजश्व छलीका कपडालगायतका सामान वीरगन्जको गोदाममा भण्डारण गरी कारोबारीले देशको विभिन्न सहरमा पुर्‍याउने गरेका छन्।

‘भित्र बोरा र पोकामा के भरिएको हुन्छ त्यो त हामीलाई थाहा हुने कुरा भएन’ वीरगन्जका एक स्थानीयले भने,‘तस्करका बोरा र पोका प्रहरीले हेर्दा पनि हेर्दैनन्।’ 

यहाँका नाकाबाट भित्रिने मालसामान सीधै वीरगन्ज स्थित तस्करको गोदाममा पुग्छ।

पछिल्लो मधेस प्रदेशका धनुषा, महोत्तरी, सप्तरी, सिरहा, रौतहट, सर्लाही, बारा र पर्सा जिल्लाका सीमा नाकामा तस्करको राज छ। सप्तरीको बेल्ही, छिन्नमस्ता, कुनैली, गोबरगाढा, बरसाइन, सिरहाको ठाढी, माडर र बरिया पट्टी, धनुषाको मैनाथपुर, भररिया, खौना, जटही, इनर्वा, दुहबी, अकौरा, दिबदिहा, खजुरी, महोत्तरीको सम्सी, इटहर्वाकटी, मरुवाही, मटिहानी, जलेश्वर, भिठामोड, सर्लाही पर्सा, रौतहटको बंकुल, सरमुजवा, रामपुरखाप, लक्ष्मनपुर बेलबिचवा, सेरवाब्रहमपुर, बाराको कचोरवा, सिमरौनगढ, बेलदारी, कबही, मटिअर्वा, छतवा, गण्डक र पर्साको इनर्वा, छपकैया, अलौ, अमरपटी, परसौनी, खेस्राहा, सबैठबा, भिस्वा, टिहुकी, मिर्जापुर, जानकी टोला, विजयवस्ती, ठोरी नाकामा तस्करको रजाइँ छ।

यी नाकाबाट पछिल्लो समय मदिरा, चाइनिज स्याउ, मरीच, मटर, सुन, छोकरा पारि तस्करी हुने र पारिबाट दैनिक उपभोग्य सामानसहित लत्ताकपडा र मोटरपार्टस वारि तस्करी हुने गरेको छ। सुरक्षाकर्मी र भन्सार कर्मचारीसँगको सेटिङमा तस्करको संगठित सञ्जालमार्फत सीमा वारिपारि तस्करी फस्टाएको सीमाक्षेत्रबासी बताउँछन्।

तस्करलाई लाईनमा ल्याउन भन्सारका कर्मचारी र राजमार्गतिरका प्रहरीले कहिलेकाहीँ केही सामान समात्ने गरेको पाइन्छ। लाईन मिलेपछि सबै नदेखे झैँ गरेर चुप बस्ने गरेको सीमाक्षेत्रबासी बताउँछन्।

प्रदेश प्रहरी र सशस्त्र प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, प्रहरी चौकी, राष्ट्रिय अनुसन्धानको प्रदेश र जिल्ला कार्यालयका सादा पोशाकका प्रहरी (घुमुवा) सीमा क्षेत्र र सहरमा अखाडा बनाएर तस्करको लाइन मिलाउँछन्। सीमाबाट सहरका गोदामसम्म तस्करलाई सघाउने काम यीनै घुमुवाहरुले (सशस्त्र, नेपाल र अनुसन्धानका सादा पोसाकधारी) गर्छन्। घुमुवाहरु बारम्बार विवादित भइरहँदा पनि उनीहरुलाई केही समय ब्रेक दिएर पुनः जिम्मेवारमा फर्काइने गरिएको छ।

वर्षौँदेखि घुमुवाको जिम्मेवारीमा रहँदा तस्करजती सबैसँग उनीहरुको घनिष्ठता र हिमचिम रहेको सीमाक्षेत्रबासी बताउँछन्।

प्रकाशित: ६ असार २०८० ०९:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App