५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सिन्धुलीका १ सय १३ जना भूकम्प पीडितलाई तेस्रो किस्ता

सिन्धुली – सिन्धुलीमा भूकम्प पीडितलाई तेस्रो किस्ता रकम दिन सुरु गरिएको छ । नेपाल रेडक्रस सोसाइटी सिन्धुलीलले पुनःनिर्माणको जिम्मेवारी लिएको सुनकोसी गाँउपालिका ६ सितलपाटीबाट तेस्रो किस्ता वापतको रकम दिन थालिएको हो । 

रेडक्रसले जिल्लाभरका भूकम्प पीडित मध्येकै सित्तलपाटीमा पहिलो पटक एकसाथ एक सय १३ जनालाई तेस्रो किस्ता वापतको रकम उपलब्ध गराएको हो । गत दुई वर्ष अगाडि वैशाख १२ गते गएको विनाशकारी भूकम्प पछि सित्तलपाटीसहित जिल्लाभर क्षतिग्रस्त भएपछि नेपाल रेडक्रस सोसाइटीले जिल्लाको सित्तलपाटीमा पुनःनिर्माण गर्न जिम्मेवारी लिएअनुरुप तेस्रो किस्ता वापतको रकम उपलब्ध गराइ तिब्र गतिमा पुनःनिर्माण कार्य भइरहेको नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका सभापति असोक श्रेष्ठले जानकारी दिए । 

गाविसभरी ८ सय ८० घर लाभग्राहीको सूचिमा रहेको भएपनि ८ सय ५३ जनाले मात्र पहिलो किस्ता रकम सम्झौता गरी घर बनाउन थालेका थिए । जसमध्ये तीन सय १२ जनाले दोस्रो किस्ता र १ सय १३ जनाले तेस्रो किस्ता रकम पाएको रेडक्रसले जनाएको छ । 

रेडक्रस सभापति श्रेष्ठका अनुसार तेस्रो किस्ता पाउने सबैले घर निर्माण पूर्ण रुपमा गरिसकेका भएपनि घरमा सोलार जडान तथा शौचालय बनाउन बाँकी भएकाले अन्तिम किस्ता २५ हजार भने दिन बाँकी राखिएको हो । सित्तलपाटीका अन्य धेरै तेस्रो किस्ता लिने अन्तिम चरणमा पुगिसकेका छन्, उनले भने–‘एक साता पछाडि दोस्रो किस्ता लिने सबैले तेस्रो किस्ता लिनका लागि योग्य हुनेछन् ।’

सित्तलपाटीमा हालसम्म भूकम्प पीडितलाई ९ करोड ७९ लाख २५ हजार रुपैयाँ आवास पुनःनिर्माण वापत उपलब्ध गराइसकिएको रेडक्रसले जनाएको छ । रेडक्रसले उच्च सक्रियता देखाई सधँै लागि परेकाले पुनःनिर्माणको काम तिब्र भएको हुँदा तेस्रो किस्ता दिन सकिएको प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले टिप्पणी गरे । रेडक्रसको अगुवाइमा भएको जस्तै जिल्लाभर पुननिर्माणलाई तिब्रता दिन म आग्रह गर्छु, उनले भने, दुई वर्ष हावा पानी केही नभनी बसेका भूकम्प पीडित सक्रिय भए यस वर्षको बर्खा अगाडि धेरैले घरमा बस्न पाउनु हुन्छ ।’ 

उनले भूकम्प पीडितका लागि घर बनाउन राज्यले पनि धेरैलाई तालिम दिएर दक्ष बनाएकाले बेलैमा दक्ष जनशक्तिको सदुपयोग गरी स्थानीयले घर बनाउनु पर्ने औल्याए । जिल्लाका दुई नगरपालिका सहित सात गाँउ पालिका रहेको सिन्धुलीमा ३४ हजार ६ सय बढी भूकम्प पीडितको लाभग्राही सुचिमा छन् । जसमध्ये दास्रो र तेस्रो किस्ता रकम पाउने सुनकोसी गाँउपालिका ६ सित्तलपार्टी पहिलो हो । 

तेस्रो किस्ता पाउँदा खुसी

सित्तलपाटीका तेजमान सिंह थापाको तेस्रो किस्ता पाउने चेक हात पार्दा मुहार हसिलो भयो । तेस्रो किस्ताका लागि चेक लिन अगाडि बोलाउँदा उनी मुस्काराउँदै हतारिए । ऋणनै गरेर घर बनाउन हतारिएका थियाँै, उनले भने सरकारले दिने रकम दिने हो वा होइन दुविधामा थिए तर पाइयो ।’

प्रमुख जिल्ला अधिकारीको हातबाट पैसा पाउने चिठ्ठी हात पर्दा उनि मात्र नभएर सित्तलपाटी भरका स्थानीयको मुहार फेरिएको थियो । सित्तलपाटीकै झलकबहादुर कार्की पनि जिल्लाभरमा पहिलो पटक तेस्रो किस्ता लिनेमा आफू सहित आफ्नो गाउँ पहिलो भएकोमा खुसी व्यक्त गरे । घरै नबनाउनेलाई सरकारले रकम दिनु पर्छ भन्ने होइन, हामीलाई बस्नका लागि बास आवश्यकता परेकाले तत्काल बनायौ, अनि पायौ तेस्रो किस्ता उनले मुस्कुराउदै भने ।’

प्रकाशित: १३ वैशाख २०७४ ०६:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App