४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रहरी हिरासतमै भोक हड्ताल

दलितका लागि दलित आन्दोलन नेपालका संयोजक खगेन्द्र सुनार तीन दिनदेखि प्रहरी हिरासतमै रहेर भोक हड्तालमा बसेका छन्। 

असार एक गते प्रदेशसभा भवन अगाडि आन्दोलन गरिरहेका उनीसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको थियो। प्रदेश सरकारले सार्वजनिक गरेको बजेट दलित मैत्री नआएको भन्दै आन्दोलन गरेका दलित अगुवाहरुलाई प्रहरीले पक्राउ गरेको थियो।

आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा प्रमुख योगेन्द्र सिंह थापासहित १४ जना प्रहरी र केही आन्दोलनकारी घाइते भएका थिए। दलितका लागि दलित आन्दोलनका संयोजक सुनारले पक्राउ परेसँगै भोक हड्ताल सुरु गरेका हुन्।

हिरासतमै भोक हड्ताल गरिरहेका सुनारको स्वास्थ्य अवस्था बिग्रिन थालेपछि प्रहरीले उनलाई कर्णाली प्रदेश अस्पतालमा भर्ना गरेको छ। हिरासतमा राखिए देखिनै सुनारले पानी पनि नखाएको प्रहरीले बताएको छ। ‘खाना नखाएकाले अस्पताल भर्ना गरेका छौं,’ उनले भने। प्रहरीले पक्राउ परेका आन्दोलनकारीहरुलाई सार्वजनिक अपराध विरुद्धको कसुरमा मुद्दा दर्ता गरेको छ।

डा. केसीको समर्थन

सामाजिक क्षेत्रमा सक्रिय लेखक एवम् बाल रोग विशेषज्ञ डा. नवराज केसीले दलितका लागि दलित आन्दोलनलाई समर्थन गरेका छन्।

फेसबुकमा फोटो सेयर गरेर डा. केसीले दलित समुदायको विकासमा लगानी गरेर मात्रै जातीय विभेद अन्त्य हुने बताउँदै कागजी घोषणाले नहुने उल्लेख गरेका छन्।

‘जातीय विभेद अन्त्य नगरी मानव विकास सम्भव छैन, युगौँदेखि अवसर/अभावमा कर्णालीको जनसंख्याको करिब २२ प्रतिशत दलित समुदायको विकास/विचार नगरी हाम्रो प्रदेशको उत्थान कसरी होला ?,’ उनले लेखेका छन्।

डा. केसीले प्रहरी नियन्त्रणमै भोक हड्तालमा रहेका दलित समुदायका अगुवा खगेन्द्र सुनारलगायत सम्पूर्ण दलित समुदायसँग शान्तिपूर्ण र सृजनात्मक ‘दलित विकास केन्द्रित योजना’ निर्माणमा लाग्न पनि आग्रह गरेका छन्।

प्रकाशित: ३ असार २०८० ०९:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App