२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुई दशकमा पनि बनेन् सिद्धिचरण लोकमार्ग

लोकमार्गको कटारी–घुर्मी खण्डमा मर्मत कार्य गरिदै। तस्बिरः महेश्वर

झण्डै दुई दशकदेखि जिर्ण भए पनि राज्यको नजर पुग्न नसकेको ‘मिर्चया–कटारी–घुर्मी–ओखलढुंगा’ जोड्ने सिद्धिचरण लोकमार्ग बजेट अभावमा स्तरोन्नति हुन सकेको छैन।

राज्यको बेवास्ता र सम्बन्धित निकायको लापरबाहीका कारण पछिल्लो २ दशकयता बेवारिसे अवस्थामा पुगेको लोकमार्गमा वर्षेनी मर्मत संभारको नाममा भने करोडौँ खर्च हुँदै आएको पाइएको छ।

तराईलाई सिराहाको मिर्चयादेखि भित्रि मधेसको उदयपुर कटारी हुँदै माथिल्लो सगरमाथाका ओखलढुंगा, सोलुखुम्बु र खोटाङलगायत भूभागलाई जोड्ने दीर्घकालीन प्रभावको यो लोकमार्ग अढाई दशकअघि नेपाली सेनाले निर्माण गरेको थियो। उदयपुरकै पहिलो कालोपत्रे यो लोकमार्गको मिर्चयादेखि कटारी हुँदै घुर्मीसम्म उदयपुर खण्डको अवस्था अत्यन्त जिर्ण छ। सडक बिग्रे भत्के पनि नियमित मर्मत सम्भार र स्तरोन्नति नगरिदा नियमित सवारी आवागमनसम्म गर्न नसक्ने अवस्थामा छ।

सडक बनेका बेला यातायातका साधन नगन्य रुपमा थिए। तर, सो लोकमार्ग बनेपछि सिराहामा खुलेको नीजि क्षेत्रको मारुती सिमेन्ट उद्योगका लागि सिन्धुलीको ककुर ठाकुर डाँडाबाट चुनढुंगा ओसारपसार सुरु भयो। भर्खर निर्मित १० टन भारवहन क्षेमताको सडकमा २५/३० टनभन्दा बढी भारका चुनढुंगा बोक्ने टिफरहरु दिनहुँ जर्दनौ पटक ओहोर दोहोर गर्दा सडकको कालोपत्रे ५ वर्षभित्रै भत्केर धुले सडकमा परिणत हुन पुगेको स्थानीयहरु बताउँछन्। चुनढुंगा बोक्ने टिपरहरु आउजाउ गर्दा मिर्चयादेखि कटारी ११ मा पर्ने बेतिनी भन्ज्याङसम्मको खण्ड सडक वर्षौँअघि धुले सडकमा परिणत भयो भने बेतिनीदेखि घुर्मीसम्मको खण्ड मिर्चया र कटारीदेखि ओखलढुंगा, खोटाङ आउजाउ गर्ने बढी भारवहन क्षमताका ट्रक र टिफरका कारण ध्वस्त भएको स्थानीय कमल श्रेष्ठले बताए।

कटारी नगरपालिका ८ का पूर्व वडाधयक्षसमेत रहेका श्रेष्ठका अनुसार सिंगल लेनको सडक, कमसल कालोपत्रे तर, अधिक भार बोकेका सयौँ संख्याका सवारी आवागमनले सडक ध्वस्त भएको हो। स्थानीयतह पुर्नसंरचना हुनुअघि बजेट अभावमा मर्मत सम्भार हुन नसकेको, नगरपालिका गठन भएपछि सामान्य मर्मत संभार हुने गरे पनि संघीयता कार्यान्वयनपछि संघीय मन्त्रालय अन्तर्गत राखिएकाले सो लोकमार्गको मर्मत र स्तरोन्नतिमा सहज तरिकाले काम गर्न नसकेको जनप्रतिनिधिहरु बताउँछन्। संघ अन्तर्गत परेको योजना भएकाले नगरपालिकाले चाहेर मात्र पनि लोकमार्ग मर्मत र स्तरोन्नति गर्न नसक्ने अवस्थाले पनि दिनदिनै सडक अलपत्र हुदै गएको हो।

स्थापनाकालदेखि सडक डिभिजन लाहान मातहत रेखदेख हुँदै आएको सो लोकमार्गको हेरचाह गर्ने जिम्मा हाल उदयपुरको कटारीमा राखिएको छ। लाहानमा कार्यालय रहेकाले सडकको उचित रेखदेख हुन नसकेको, मर्मत सम्भारमा पहुँच नभएको भन्दै स्थानीयले व्यापक गुनासो गरेपछि उदयपुर २ का तत्कालीन प्रतिनिधिसभा सदस्य सुरेशकुमार राई (हिमाल)को पहलमा कटारीमा कार्यालय स्थापना भएको हो। ०७८ चैत अन्तिममा स्थापना भएर कार्यालय सञ्चालनमा ल्याइए पनि चालु आर्थिकवर्ष मध्येदेखि मात्र काम गर्ने गरी लाहान सडकले योजनाहरु हस्तान्तरण गरेको छ। कटारीमा ‘मिर्चया–कटारी–घुर्मी सडक योजना’ कार्यालय स्थापना गरी रेखदेख सुरु भए पनि पर्याप्त बजेट नपाएको तथा पाएको बजेट पनि समयमा खर्च गर्न अख्तियारी नपाएपछि काम गर्न नसकेको संस्थापक कार्यालय प्रमुख (डिई) केशव ओझाले बताए।

दुई महिनाअघि नै सरुवा भइसकेका ओझाका अनुसार कार्यालय खुले पनि बजेट परिचालन र खर्च गर्ने अधिकार नदिएर सबै कामको जिम्मा डिभिजन सडक लाहानले नै ओगटेपछि सोँचेजस्तो काम गर्न नसकेको उनको भनाइ छ। ‘म कार्यालय प्रमुख भएर त्यहाँ आएँ तर, बजेट परिचालन गर्ने, खर्च र काम गर्ने सबै अधिकार लाहान सडकमै थियो, मलाई कुनै अख्तियारी दिइएन’ हाल विभागमा रहेका ओझाले भने ‘बरु डिभिजन लाहानले पहिल्यै लगाएको २५ करोड हाराहारीको मर्मत र स्तरोन्नतिको ठेक्का हामीलाई हस्तान्तरण गरेको छ। त्यो काम भइरहेका बेला मेरो सरुवा भयो।’ उनले कार्यालय प्रमुखको जिम्मेबारी सरकारले दिए पनि बजेट खर्च गर्ने अख्तियारी नदिदा काम गर्न नपाएकाले बजेट खर्च नहुने अवस्था हुँदैगर्दा आफ्नो सरुवा भएको बताए।

कार्यालयका इन्जिनियर शम्भु मोदीले लाहान सडकबाटै पहिले लागेका ठेक्काहरुको काम मात्र कार्यालयबाट निरन्तरता दिने काम भईरहेको बताएका छन्। उनले मिर्चयादेखि बेलसोतसम्मको १० किलोमिटर दूरीमा ६ खण्डमा सडक स्तरोन्नतिको काम भईरहेको बताए। सो दूरीमा स्तरोन्नति गर्ने गरी लाहानले लगाएको २५ करोड हाराहारीको ठेक्कालाई पछि बनाइएको ‘मिर्चया कटारी घुर्मी’ डिपिआर (विस्तृत परयिोजना प्रतिबेदन)को इस्टीमेट अनुसार ढालेर काम भईरहेको इन्जिनियर मोदीले बताएका छन्। त्यसैगरी कटारीदेखि घुर्मी खण्डका विभिन्न ठाउँमा पनि लाहानबाट लागेकै ठेक्का अनुसार मर्मत कार्य र सामान्य ग्रेडिङ स्तरोन्नति भइरहेको इन्जिनियर मोदीको भनाइ छ।

योजना प्रमुख सञ्जय मिश्रले नयाँ कार्यालय खुले पनि समयमा बजेट खर्च गर्ने अख्तियारी नपाउँदा काम गर्न नसकेर बजेट फिर्ता लाने अवस्था सिर्जना भएको बताए। आफू भर्खरै सरुवा भई आएकाले विस्तृत जानकारी पाईनसकेको बताउने डिई मिश्रका अनुसार अघिल्लो वर्ष लागेका ठेक्काका कामरहरु नै अहिले कार्यान्वयन गराईरहेको बताए। डिपिआर अनुसार मिर्चया कटारी घुर्मी खण्डको सडक बनाउन १० अर्ब हाराहारीको प्राविधिक इस्टीमेट भएको तर, सरकारले स्रोत सुनिश्चित नगरेको पनि उनको दुःखेसो छ। ‘लोकमार्गलाई अहिलेको अवस्था अनुसार स्तरोन्नतिसहित कालोपत्रे गर्न झण्डै १० अर्ब लाग्ने डिपिआर तयार भएको छ’ डिई मिश्रेले भने ‘तर, सरकारले माग बमोजिमको स्रोत सुनश्चित गरिदिएको छैन । त्यसैले समयमा सडक बनाउन सकिने अवस्था छैन।’ मिर्चयादेखि कटारी, बेतिनी हुँदै घुर्मीसम्म लोकमार्गको दूरी ७२ किलोमिटर रहेको छ।

तत्कालीन शाही नेपाली सेनाले ०५८ मा कालोपत्रेसहित निर्माण गरेको यो लोकमार्ग लगभग ५ वर्ष चल्न नपाई ध्वस्त भएको हो। सडक मर्मत गर्ने नाममा डिभिजन सडक लाहानले वर्षेनी मर्मत सम्भारको नाममा राज्यको करोडौँ बजेट दोहन गर्नेबाहेक दिगो काम केही गर्न नसक्दा पूर्णत कच्ची र धुले ट्«याकमा रुपान्तरण भइसकेको छ।

प्रकाशित: ३ असार २०८० ०९:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App