१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

काष्ठमण्डपको कायाकल्प हुने

काठमाडौं- काठमाडौंको नाम कसरी जुरेको होला? खोजीनीति गर्दै जाँदा वसन्तपुरको काष्ठमण्डपको गौरवपूर्ण गाथासम्म पुग्न सकिन्छ। कल्पवृक्षको एउटै रूखको काठबाट काष्ठमण्डप नामक सत्तल बनाइयो र सोही सत्तलका नाउँबाट काठमाडौं नामाकरण भयो।

विश्वसम्पदामा सूचीकृत काष्ठमण्डपको अस्तित्व अहिले छैन। २०७२ वैशाख १२ मा गएको महाभूकम्पले काष्ठमण्डप ध्वस्त भयो। काष्ठमण्डप रहेको ठाउँ अहिले उराठलाग्दो छ। भुइँचालोकै कारणले वरपरका अरू मन्दिर, देवल, सत्तल, दरबार आदि क्षतिग्रस्त भए पनि ती सम्पदा कम्तीमा ठडिएका छन्।

काष्ठमण्डप ढलेको मंगलबार २ वर्ष पुग्छ। तर, पुनर्निर्माणको सुरसार छैन। सरकारले दुई वर्षयता दुईपटक काष्ठमण्डपको उत्खनन गरायो। यसबाट १२ औं शताब्दीमा बनेको भनिएको काष्ठमण्डप सातौं शताब्दीमा नै बनेको पुष्टि भयो। पुरातत्व विभाग र बेलायतको स्टरलिङ विश्वविद्यालयको दोस्रोपटकको अनुसन्धानले यो पत्ता लगाएको थियो। विगतमा यकिन गरिएभन्दा पनि पुरानो सम्पदा भएको तथ्य स्थापित हुँदा पनि काष्ठमण्डपको पुनर्निर्माणमा सरकारले चासो लिएको छैन।

दुई वर्षसम्म पनि सरकारले पुनर्निर्माण कार्य अगाडि नबढाएपछि स्थानीय नै काष्ठमण्डपको पुनर्निर्माणमा जुटेका छन्। काष्ठमण्डप पुनर्निर्माणका लागि अभियान नै थालिएको छ। दुई वर्षअघि वैशाख १२ गते काष्ठमण्डप ढलेकै समय ११ः५६ मा पुनर्निर्माण सुरुवातको उद्घोष हुने भएको छ। ‘सरकारको मुख ताक्दा दुई वर्ष बित्यो,’ पुनर्निर्माण अभियानका अध्यक्ष तथा वसन्तपुरका पुराना बासिन्दा वीरेन्द्रभक्त श्रेष्ठले भने, ‘अब सरकारलाई कुर्दैनौं। पूर्खाले बनाएका सम्पदालाई हामी आफैले बनाउने छौं।’ काष्ठमण्डप पुनर्निर्माणका लागि स्थानीयको सहभागितामा संस्थासमेत दर्ता गरिएको छ।

सरकारले केही सम्पदा पुनर्निर्माण थोलेको पनि थियो। तर, ती सम्पदामा मौलिकता कायम रहन सकेन। रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर पुर्निर्निर्माणमा क्रंकिट प्रयोग भयो। वसन्तपुरका माजु देवल, जैशी देवल, त्रैलोक्यश्वर मन्दिरमा पनि सोही समस्या दोहोरियो।

सय वर्ष पुराना संरचनालाई सम्पदा मानिन्छ। यी सम्पदा पुनर्निर्माणमा पुरातात्िवक सामग्रीको प्रयोग गरिनु पर्छ। सरकारले ठेक्का बन्दोबस्त गरेर पुनर्निर्माण गराउँदा पुरातात्िवक सामग्रीको प्रयोग गरिएन। संरचनाको जीर्णोद्धार हुँदा तत्कालीन समाजले प्रयोग गर्ने शैली पनि कायम राखिएन। जसले गर्दा पुनर्निर्माण रोक्नुपर्ने अवस्था आयो। यसरी रोकिएका ठाउँमा सम्पदा सुधार्ने  काम अहिलेसम्म सुरु गरिएको छैन।

‘सम्पदा सपार्ने सरकारी शैली हेरियो,’ सम्पदा जोगाऔं अभियानमा संलग्न आलोकसिद्धि तुलाधरले भने, ‘समयमा काम सुरु नै भएन। काम गर्ने ठेकेदारको लापरबाहीले सम्पदाको मौलिकता नरहनुसँगै उम्दा निर्माण पनि भएन। त्यसैले हामी आफैंले काष्ठमण्डप बनाउने अभियान थालेका हौं।’ उनका अनुसार अभियानले पहिलोचरणमा काष्ठमण्डपको पुनर्निर्माण गरेर देखाउने र त्यसपछि थप सम्पदा पनि पुनर्निर्माण गर्ने योजना बनाएको छ।

सम्पदाको आ–आफ्नै खालको महत्व हुन्छ। पुनर्निर्माण गर्दा पनि सोही महत्वअनुसार काम गर्नुपर्ने हुन्छ। यी सबै महत्व ठेकेदारले नबुझ्ने हुँदा स्थानीयले नै सम्पदाको पुनर्निर्माण थाल्नुपर्ने आवश्यकता देखिएको पुनर्निर्माण अभियन्ता गोविन्द अधिकारीले बताए। ‘गाईलाई खानेकुरा खुवाउने, झन्डा फहराउनेलगायतका संस्कृति तथा परम्परा हुन्छन्,’ अभियानका सचिवसमेत रहेका अधिकारीले भने, ‘ठेकेदारले यी सबै काम गर्दैनन्। सम्पदा भनेकै संस्कृति हो। संस्कृतिअनुसार काम पूरा नभएपछि पुनर्निर्माणको अर्थ हुँदैन।’

भुइँचालोपछि काष्ठमण्डपमा हुने दैनिक पूजा पनि रोकिएको छ। काष्ठमण्डपको चारै कुनामा गणेशका मूर्ति थिए। नारायण, गोरखनाथ, गणेशको पूजा हुन्थ्यो दैनिक। अहिले न मूर्ति छन् न त पूजा नै हुन्छ। वज्रयानी दर्शनमा बनेको काष्ठमण्डपमा वज्राचार्यले विशेष चासो राख्छन्। अहिले काष्ठमण्डप उठाउन भित्री सहरका मात्रै होइन, धेरै सँख्यामा अन्यत्रका जनता पनि जुटेको अभियानी गणपतिलाल श्रेेष्ठले जनाए। उनका अनुसार काष्ठमण्डप पुनर्निर्माणका लागि पुरातत्व विभाग, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायतसँग समन्वय भइसकेको छ। ‘पुनर्निर्माण हामीले थाले पनि पुरात्व विभागले प्रत्यक्ष निगरानी गर्नेछ,’ गणपतिलालले भने, ‘जसरी भए पनि हामीले सम्पदाको आत्मालाई जोगाउने छौं।’ दुई वर्षभित्र काष्ठमण्डप पुनर्निर्माण गर्ने प्रतिबद्धतासहित अभियानीहरू जीवित कुमारीसमक्ष सपथ खानेछन्।

काष्ठमण्डपको पुनर्निर्माणका लागि नेपालबाहिर र भित्र रहेका नेपालीबाट आर्थिक सहयोग लिने अभियानले जनाएको छ। यद्यपि सरकारले पनि दिएको खण्डमा स्विकार्ने अभियानले जनायो। काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले करिब २० करोड रुपैयाँ लाग्ने अनुमान गरेको थियो। अभियानले भने २० करोडभन्दा कम लाग्ने गरी निर्माण गर्ने जनाएको छ।

यता विभाग पनि काष्ठमण्डप बनाउने स्थानीयको अभियानमा सघाउन सहमत भएको छ। ‘हामीले आर्थिक, प्राविधिकलगायतका आवश्यक सबै सहयोग गर्नेछौंं,’ विभागका महानिर्देशक भेषनारायण दाहालले भने, ‘स्थानीयले परम्परागत सामग्री र शैलीमा काष्ठमण्डप बनाउने छन्।’

प्रकाशित: ११ वैशाख २०७४ ०२:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App