१३ मंसिर २०७७ शनिबार
समाज

रातदिन आगो बालिने अग्निशाला

ललितपुर- ललितपुरको कुमारीपाटीबाट एक मिनेट देब्रे लागेपछि अग्निशाला नाम गरेको एउटा भवन आउँछ। भवनको प्रवेशद्वारनजिकै अग्लो रुख पनि छ। रुखको छेउबाट अग्निशालाको प्रवेशद्वार भेटिन्छ। भवनको भित्रि कोठामा पुगेपछि अग्निदेवताको मूर्ति र आगो बलिरहेको देखिन्छ। भवनको भित्रि कोठामा २४ सौं घण्टा बलेको आगो निभ्न दिइँदैन। अग्निशालामा परम्परा जोगाउन चौबिसौं घण्टा आगो बालिन्छ।

२ सय वर्षअघिसम्म उपत्यकाकाभित्र स्थानीयको चुलोमा आगो सल्काउने कुनै स्रोत थिएन। आगो सल्काउने सलाईलाइटरजस्ता उपकरण पनि थिएनन्। त्यसबेला काठमाडौंवासी आगो लिन ललितपुरको कुमारीपाटीस्थित अग्निशालामा पुग्थे। यहीँबाट आगो ल्याएपछि मात्रै स्थानीयको चुलो बल्थ्यो।

अग्निशालाको महत्व अन्य सम्पदाभन्दा फरक छ। पहिला–पहिला आगो सल्काउने कुनै स्रोत नहुँदा यहीँबाटै हरेक दिन सामूहिक रूपमा आगो वितरण गरिन्थ्यो। स्थानीय बुढापाकाका अनुसार अग्निशालाको इतिहास पाँच हजार वर्षको छ। तर, त्यस भनाइलाई पुष्टि गर्ने साक्ष्य शिलापत्र भने हराइसकेको छ। अग्निशालाका ब्रह्म् कवल श्रीकण्ठ राजोपाध्यायका अनुसार आजभन्दा ५ हजार वर्ष पहिले उपत्यका नबन्दै काठमाडौंबाहिर विशालनगर भन्ने बस्ती थियो। त्यही बस्तीमा जन्मेका विज्ञाधर नाम गरेका ब्राह्मणले अग्निशालाको स्थापना गरेका थिए। ‘नेपालको सबैभन्दा जेठो अग्निशाला यही नै हो,' पाटन कुमारीपाटीस्थित अग्निशालाका ८६ वर्षीय राजोपाध्यायले भने, ‘प्राचीन समयदेखि स्थानीयको चुलोमा यहीँबाट आगोको स्रोत लगिन्थ्यो।' अग्निशालाबारे पुस्तान्तरण हुँदै आएको ऐतिहासिक कथन भने रोचक छ। सुन्दा अपत्यारिलो र अचम्मलाग्दो भए पनि त्यो सन्दर्भ यर्थाथ नै रहेको स्थानीयको दाबी छ।  पाटन कुमारीपाटीकै स्थानीय ओमकण्ठ राजोपाध्यायका अनुसार ५ हजार वर्ष पहिले काठमाडौंबाहिर विशालनगर भन्ने बस्ती थियो। उक्त बस्तीमा ब्राह्मण समुदायका मानिस मात्रै बसोबास गर्थे। त्यहाँको एउटा घरमा आएकी नयाँ बुहारीले बेलुकी सबै सुतेपछि अग्निको डिलमा दिसापिसाब गरिन्। भोलिपल्ट उठ्दा उक्त दिसा सुनमा परिणत भयो। अग्निको डिलमा दिसा गरेपछि सुन बन्छ भन्ने सुनेपछि सारा गाउँलेले नै अग्निमा दिसापिसाब गर्न थाले। तर, गाउँका विज्ञाधर र यसोधर भने फरक सोचका थिए। सारा गाउँलेले अग्नि डिलमा दिसा गर्न थालेपछि घिन मान्दै उनीहरु गाउँ छाडेर हिडेँ। विज्ञाधर र यसोधरले बस्ती छाड्दाको भोलिपल्ट स्थानीयलाई अग्निसराप लाग्यो। फलस्वरुप, सारा गाउँ नै जलेर नष्ट भयो। अघिल्लो दिन बस्ती छाडेका विज्ञाधर र यसोधरले बाग्मती र नक्खुखोलाको दोभानमा पर्ने कुमारीपाटीनजिकै आएर एउटा लौरो गाडेर सुते। भोलिपल्ट उठ्दा उक्त लौरोमा हाँगा पलाएर रुख भयो। राजोपाध्याय भन्छन्, ‘आफूले गाडेको लौरो रुख भएपछि सोही स्थानमा विज्ञाधर र  यसोधरले घर बनाई आगो तापेर बसे, त्यसपछि काठमाडौंवासी आगो लिन त्यस ठाउँमा गएका थिए।'

पछिल्ला दिनमा स्थानीयले आगो सल्काउने वैकल्पिक स्रोत पाउन थालेपछि अग्निीशालामा आगो लिन जाने परम्परा हराएको उनीहरु बताउँछन्। ‘अझै पनि पाटनका केही मानिस अग्निशालाबाट आगो ल्याएर खाना पकाउँछन्,' पाटनका सुरेश शाक्यले भने, ‘अहिले अग्निशाला जीर्ण बन्दै जाँदा पनि मर्मततर्फ कसैको ध्यान गएको छैन।'

अग्निशालामा आगो निभाउन नहुने परम्परा भएकाले २४ सौं घन्टा आगो बलिरहेको हुन्छ। ‘अग्निशालामा आगो निभ्यो भने अशुभ हुने विश्वास छ,' शाक्यले भने, ‘अग्निशालामा बलेको आगो कहिल्यै निभ्दैन र निभाउन पनि हुँदैन।'

श्रीकण्ठ राजोपाध्यायका अनुसार उक्त लौरोबाट बनेको रूख अहिले पनि जीवितै छ। उक्त रूखलाई स्थानीयले बरुणवृक्षको रुपमा पूजा गर्दै आएका छन्। ५० वर्षअघिदेखि नै रुखको जरा बाहिरै निस्किएकाले जरामुनिबाट स्थानीय हिँडडुल गर्छन्।

अग्निशालाको महत्व

प्राचीन समयमा स्थानीयले आगोको स्रोत रहेको  अग्निशालाको महŒव स्थापित गर्ने कथन फरक छ। अग्निशालाको पूजा गरेपछि ग्रहदशालगायतका दोषहरु काटिन्छन् भन्ने मान्यता छ। पाटन क्षेत्रका स्थानीयले बजारबाट किनेर ल्याएको देवताको मूर्तिलाई अग्निशालामा पूजा गरेर मात्रै प्रतिष्ठापन गर्ने गरेको श्रीकण्ठ राजोपाध्यायले बताए। उनका अनुसार अहिले पनि नेपाली समाजमा कागको सम्भोग देख्दा र उडिरहेको कागले टाउकोमा दिसा गरिदिएमा अशुभ हुने मान्यता छ। उक्त दोष कटाउन पनि भक्तजनहरु अग्निशालामा पुग्ने गरेका छन्। अहिले काठमाडौंको साँखुमा पनि अग्निशाला छ तर उक्त अग्निशाला कुमारीपाटीकै अग्निशालाको एउटा भाग रहेको स्थानीयको भनाइ छ। अग्निशालाको महिमा सुनेपछि राजा महेन्द्रले अग्निशाला भवन बनाइदिएका थिए। भवन बनेपछि पूजारी राखेर नै दैनिक रूपमा अग्निशालाको पूजा हुँदै आएको थियो। हिजोआज दिनमा २० जनाभन्दा बढी भक्तजन अग्निको पूजा गर्न आउने राजोपाध्यायले बताए। उनका अनुसार हरेक वर्ष माघ १ गतेका दिन अग्निशाला मेला पनि लाग्ने गर्छ।

प्रकाशित: ८ वैशाख २०७४ ०८:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App