२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

अबैध काठ हराउन थालेपछि सदरमुकाम ल्याइयो

जंगलमै रुख ढालेर चिरान गरेको अवस्थामा फेला परेको काठ । तस्विरः महेश्वर/नागरिक <br>

सातादिनअघि उदयपुरको मैनामैनीस्थित दुधकोसी सामुदायिक वन उपभोक्ता समूहमा अवैध रुपमा काटिएको काठ हराउन थालेपछि संकलन गरेर सदरमुकाम ल्याइएको छ । बेलका नगरपालिका ७ मैनामैनीस्थित समूहको जंगलमा अनुमति नदिइ जथाभावी फँडानी गरी गोलीया र चिरान बनाइएको काठ वन कर्मचारीले सदरमुकाम ल्याएका हाे।

जताततै बग्रेल्ती सालका रुख ढालेर घाटगद्धी र चिरानसमेत भईसकेको भन्दै आधादर्जन उपभोक्तोल लिखित उजुरी दिएपछि डिभिजनबाट अनुमगनका लाििग कर्मचारी टोली खटाइएको थियो। सहायक वन अधिकृत रामभगत यादव नेतृत्वमा खटेको टोली घट्नास्थल पुगेर अनुगमन गर्दै गर्दा रातिको मौका पारेर केही थान टुना र चिरान काठ हराउन थालेको स्थानीयले गुनासो ग रेका थिए। यसरी वन कर्मचारीकै निगरानी हुँदाहुँदै काठ हराउन थालेपछि असुरक्षित भएको भन्दै सदरमुकाम ल्याइएको हो।  

बेलका ७ स्थित जंगलका रुख ढालेर गोलीया टुन र चिरान गरी ८ वडाको आरङ्गा चौरीमा घाटगद्धी गरेको चिरान काठ वन कर्मचारीकै आँखा अगाडि हराउन थालेको गुनासोपछि छरिएका काठहरु संकलन गरी गाईघाट ल्याइएको सहायक वन अधिकृत यादवले बताए। यादवका अनुसार जंगलमा ढालिएका हरिया रुखमध्ये एउटा करम र बाँकी ३५ थान साल छन्। घट्नास्थलमा हरिया रुखका ७९ वटा टुना फेला परेको छ भने चिरान काठ १ सय १० थान (परिमाणमा पनि १ सय १० क्युविक फिट) बरामद भएको छ।

चिरान काठमध्ये ३१ थान बटम (कडी) र केही थान गोलीया घाटगद्धीबाटै रातारात गायव भएको भन्दै स्थानीयले काठ मिलेमतोमा कतै बेचेको आशंका गरेका छन्। स्थानीय उपभोक्ताबाट गुनासो आउनुका साथै असुरक्षित पनि हुने संकेत देखिएपछि डिभिजनको कर्मचारी टोलीले काठ सुरक्षित गर्न सदरमुकाम ल्याएको यादवले बताए। लगातार ४-५ दिन घट्नास्थलमा खटेर संकलन गरेको काठ मंगलबार रातिदेखि बुधबार विहानसम्म लगाएर गाईघाट ल्याइएको यादवले बताएका छन्।  

डिभिजन वन अधिकृत (डिएफओ) डा. इन्द्र सापकोटाले वन कार्यालयसँग कुनै अनुमति नलिइ हरिया रुख फँडानी गरेको प्रमाणित भएकाले वनसम्बन्धी अपराध भएको बताए। उपभोक्ताको उजुरीपछि खटेको वन कर्मचारी टोलीले स्थलगत अध्ययन गर्दा दर्जनौँ हरिया रुख ढालेको अवस्थामा फेला पारेको तर, पूर्व अनुमति भने लिएको नपाइएको उनको भनाई छ। वन ऐन अनुसार समूहले काठ निकाल्नु पर्दा स्थानीय सबडिभिजन वनको सिफारिस अनुसार डिभिजनबाट स्वीकृति लिनुपर्ने प्रावधान छ। तर, सो समूहमा सवडिभिजनबाट सिफारिस नै नआएकोले काठ कटान, छपान र निकासीको कुनै अनुमति नदिएको अवस्थामा कटान हुनु भनेको गैरकानुनी कार्य भएको डिएफओ सापकोटाले बताए।

सापकोटाका अनुसार जेठ २३ गते स्थानीय उपभोक्ताले दिएको पत्र अनुसार २५ गते खटाइएको टोलीले ५ दिन स्थलगत अनुसन्धान गरेर हरिया रुख अवैध रुपमा काटेको निश्चित भएपछि कारबाही प्रक्रिया अघि बढाइएको छ। वन फँडानी हुनुमा उपभोक्ता समूहका पदाधिकारीकै संलग्नता हुनसक्ने अनुमान डिभिजनको छ। स्थलगत अनुगमन, उपभोक्ताको भनाई र प्रारम्भिक अनुसन्धानले समूहकै पदाधिकारीको कमजोरी देखिएकाले सोधपुछ गर्न चाहे पनि फरार रहेकाले पक्राउ पुर्जी जारी गरिएको छ । डिभिजनले फरार रहेका समूहका अध्यक्ष मणिराज राई, सचिव दिनेश राई र पूर्व कोषाध्यक्ष ज्योति राईविरुद्ध पक्राउ पुर्जी जारी गरेको जनाएको छ।  

डिएफओ सापकोटाले वन फँडानी गर्नेहरुलाई तदारुक्ताका साथ खोजी कार्य भईरहेको बताउँदै छिट्टै अपराधी पत्ता लाग्ने बताए। शंकास्पदमध्ये कुनै एकदुईजनालाई पक्राउ गर्न पाए बयानका आधारमा सबै कुरा खुल्ने उनको अनुमान छ। ‘समूहका पदाधिकारी नै फरार रहेकाले हामी उनीहरुको खोजी कार्य गरिरहेका छौँ’डिएफओ सापकोटाले भने ‘कुनै एकजना पक्राउ गर्न सफल भइयो भने उनीहरुकै बयानबाट सबै स्पष्ट कुरा खुल्दै जाला।’ 

प्रकाशित: ३१ जेष्ठ २०८० ०८:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App