९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

२४ वर्षदेखि सडककाे अवरोध पन्छाउँदै तुलाराम भट्टराई

२४ वर्षदेखि सडक मर्मत गर्दै आएका ६१ वर्षका तुलाराम भट्टराई । तस्विरः गोविन्द केसी/नागरिक

वीरेन्द्रनगर नगर पालिका –१४ न्याउली खोलाका ६१ वर्षका तुलाराम भट्टराई अनुभव कम्ति छैन्। उनले २४ वर्षदेखि एउटै ठाँउमा सडक मर्मत सम्भारको काम गरिरहेका छन्। उनले आँखै अगाडी गाडी गुड्नै मुस्किल हुने धुलाम्मे र हिलाम्मे सडकदेखि अहिले चिल्लो कालोपत्रे सडकसम्म हेरेका छन्।  

३ किलोमिटर सडक खण्डमा ३ देखि ४ घण्टासम्म लगाएर वर्षातमा गाडीहरु मुस्किलले पार गरेको उनले देखेका छन् । अहिले त्यो खण्ड पार गर्न ५ मिनेट पनि लाग्दैन् । अहिलेसम्म लाखौं यात्रु, हजारौं सवारीसाधन तुलारामले मर्मत गरेको सडक भएर गन्तब्य तिर पुगीसके । तर, तुलाराम यही सडकमै कहिले नाली सफा,  पहिरो हटाउँदै त कहिले झार उखाल्दै गरेका हुन्छन् ।

खल्डाखुल्डी सडकमा गाडीको विजोक अवस्था हुँदा सडक मर्मतको सारथी बनेका तुलाराम अहिले उती बेलाको जस्तो दुःख नभएपनि सडक सफा राख्न बिहान ८ बजेदेखी साँझ ५ बजेसम्म सडकमै हुन्छन्। बिहानको खाना बोकेर आउने उनी साँझ मात्र घर पुग्छन्। सडक नै प्यारो लाग्ने गरेको अनुभव तुलारामले सुनाउँछन्।  

२०५६ साल मंसिरदेखि काम गर्दै आएको तुलाराम सडकमा नआएको दिन घरमा बस्न समेत गाह्रो हुने बताउँछन्। उनले उति बेला दैनिक ५५ रुपैँया र मासिक १६ सय रुपैँया तलव हुने पाउर्थे। अहिले उनको मासिक तलव २४ हजार पुगेको छ। ‘सडक नै प्यारो लाग्न थाल्यो ।’ तुलाराम भन्छन् ः ‘२०५६ सालदेखि यही सडक सुधारमा लागि रहेको छु।’ यहाँ काम गर्दा मलाई निकै आनन्द लाग्छ। उनलाई सडक डिभिजन कार्यालय सुर्खेतबाट खटिएका सुपरभाईजरले बेलाबेलामा काम दिने र अनुगमन गर्ने गर्दछन्।  

कर्णालीमा तुलाराम जस्ता मर्मत सम्भार कार्यमा १ सय २५ खटिएका छन्। जसमा २३ जना सुपरभाईजर रहेका छन्। उनीहरुले सडक सुरक्षाका लागि काम गर्दछन् । दैलेख–सुर्खेत, हर्रे–सुर्खेत, कर्णाली राजमार्ग, सुर्खेत–जाजरकोटमा ज्यालादारीमा सडक डिभिजन सुर्खेतले मर्मत सम्भारका लागि स्थानीयहरुलाई रोजगारी दिएको हो।

प्रकाशित: ३१ जेष्ठ २०८० ०६:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App