६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

प्रहरी कुट्ने महिलालाई कारबाही भएन

काठमाडौं- ललितपुर प्रहरीले आफ्नै जवानलाई सार्वजनिक स्थलमा गालीगलौज तथा लछारपछार गर्ने महिलालाई कारबाही नगरी छाडेको छ।

महानगरीय प्रहरी परिसर ललितपुर प्रमुख एसएसपी ठुले राईले ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेलाई कुटपिट गर्ने शोभा कार्कीलाई राजनीतिक दबाबमा मानसिक रोगी भएको भन्दै छाडेका हुन्। परिसर र ललितपुर ट्राफिकका अधिकांश अधिकारी कारबाहीका पक्षमा रहे पनि राईले नेपाली कांग्रेसका संासद् जगदीशश्वरनरसिंह केसी र मन्त्री अर्जुननरसिंह केसीको दबाबमा कार्की र चालक दुवैलाई उन्मुक्ति दिएका हुन्।

एसएसपी ठुले राईले ट्राफिक प्रहरीलाई कुटपिट गर्ने शोभा कार्कीलाई राजनीतिक दबाबमा मानसिक रोगी भन्दै छाडेका हुन्।

परिसर प्रमुख राईले घटनाका पीडित प्रहरी घिमिरे र पीडक कार्कीबीचमा आपसी समझदारीपछि छाडेको दाबी गरे। उनले आफूलाई कसैको दबाब नआएको दाबीसमेत गरे। ‘महिलाले मानसिक रोगको औषधि खाइरहेको र आवेशमा घटना भएको तथ्यपछि छाडिएको हो, कसैको दबाबमा होइन,' एसएसपी राईले भने।

ललितपुरको कुमारीपाटीमा बिहीबार नो पार्किङमा गाडी पार्क गरेको विषयमा विवाद हुँदा कार्की र चालक प्रकाश राईले प्रहरी जवान घिमिरेमाथि हातपात गरेको थिए। कार्की सवार बा१६च २३५२ नम्बरको कार नो पार्किङमा पार्किङ गरिरहेको र त्यसै कारण ट्राफिक जामसमेत भएपछि घिमिरेले कारबाही गर्न खोज्दा घटना भएको हो। घिमिरेले सुरुमा कार हटाउन आग्रह गर्दा चालकले अटेर गरेपछि कागजपत्र मागेका थिए।

चालक राईले चालक अनुमति पत्र र ब्लुबुक केही नभएको बताएपछि घिमिरेले कार जाउलाखेलस्थित ट्राफिक प्रहरी कार्यालय लैजान खोजेका थिए। कार कुमारीपाटी हुँदै जाउलाखेल आउँदै गर्दा चालक राईले लगनखेलतर्फ नै मोड्दै घिमिरेलाई ओर्लिन आग्रह गरेका थिए। प्रत्यक्षदर्शीका अनुसार त्यत्तिकैमा पछाडि बसेकी कार्कीले घिमिरेलाई घोक्रेठ्याक लगाउँदै कारबाट सडक हुँदै फुटपाथमा लगेर पछारेकी थिइन्। भाग्न खोजेकी उनलाई सर्वसाधारणले समातेर प्रहरीमा बुझाएका थिए।

परिसर स्रोतका अनुसार घिमिरेले आफूमाथि सांघातिक हमला भएको भन्दै कार्कीमाथि कारबाही माग गरेका थिए। तर, एसएसपी राईले घिमिरेलाई धम्क्याउँदै समझदारी गर्न दबाब दिएका थिए। ‘आफू कुटिएपछि समझदारीको कुरै आउँदैन। राई सरले दबाबमा आफ्नै कमान्डका सदस्को समेत रक्षा गर्न सक्नुभएन,' ललितपुरमा कार्यरत एक प्रहरी अधिकारीले भने।

प्रकाशित: ४ वैशाख २०७४ ०२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App