कुनै पनि आपत् या हिंसामा परेका बालबालिका उद्धारका लागि सिविन नेपालले सन् १९९८ मा बाल हेल्पलाइन नम्बर १७१००० सञ्चालनमा ल्यायो। त्यो बेला यही नम्बरमा सम्पर्क गरी विपद्मा परेका बालबालिकाको उद्धार गरिन्थ्यो। विशेषगरी बालश्रम शोषणमा परेका बालबालिका उद्धार कार्यमा प्रयोग हुन्थ्यो। यो नम्बर सजिलै सम्झन सक्ने खालको थिएन। सिविनले पुनः निरन्तर १० वर्षसम्म अर्को नम्बरका लागि प्रयास ग¥यो। त्यो नम्बर हो– १0९८। यो नम्बर नै देशभरिका बालबालिकाको गुनासो सुन्ने र उद्धार गर्ने नम्बरका रूपमा प्रयोग भइरहेको छ। यो हिसाबले नेपालमा बाल हेल्पलाइन प्रयोगमा आएको आइतबार २५ वर्षमा लागेको छ।
यो अवधिमा लाखौं बालबालिकाको गुनासो सुनेको र हजारौं बालबालिकालाई उद्धार गरेको सिविन नेपालले जनाएको छ। यो अवधिमा ६ लाख ९ हजार ८ सय १० पटक फोन सम्पर्क गरिएको छ भने ५ लाख २ सय २५ जनाले सम्पर्क गरेको पाइएको छ। तीमध्ये ९१ हजार ६ पटक बालबालिका आफैंले फोन गरेका थिए। यो हेल्पलाइनमार्फत यो अवधिमा ४६ हजार ८ सय ५७ जना बालबालिकाको जोखिमपूर्ण घटनालाई सम्बोधन गरेको, २५ हजार ३ सय ७९ जनाको जोखिमपूर्ण अवस्थाबाट उद्धार गरेको, १४ हजार ९ सय ७ जनालाई आपत्कालीन बासको व्यवस्था, ८ हजार ४ सय ७४ जनालाई पारिवारिक पुनर्मिलन गरेको सिविनको तथ्यांक छ। त्यसैगरी ४ हजार ७ सय ४४ जना बालबालिकालाई कानुनी सहयोग ३ हजार ५ सय ७१ वटा यौनजन्य घटनाका मुद्दा अदालती कारबाहीमा परेका छन् भने ३० प्रतिशत फोन बालबालिका आफैंले आफ्नो समस्या राख्ने गरेका छन्।
हेप्पलाइनमा परेका उजुरी यौन दुव्र्यवहार, हराएका बालबालिका, मनोसामाजिक पीडा दिएका, पारिवारिक परित्यक्त, अभिभावक जेलमा परी संरक्षण नपाएका, दुर्घटना, रहस्यमय मृत्यु, शैक्षिक समस्या, लागुऔषध सेवन, पारिवारिक झगडा, मानसिक स्वास्थ्य समस्या, दुर्घटना बालबालिका ओसारपोसार, इन्टरनेट अनलाइनबाट हुने यौन दुव्र्यवहार, शारीरिक यातनालगायतका छन्।
बालबालिकाले परिवर्तित समयअनुसार भोग्ने नयाँ समस्याको सम्बोधन पनि यही हेल्पलाइनबाटै हुने गरेको सिविन नेपालकी निर्देशक सुम्मिना तुलाधरले बताइन्। ‘पहिला बालबालिकाका समस्या गलैंचा कारखाना, इँटाभट्टा, सवारी साधन, बेचबिखन विषयमा सीमित थिए, अहिले इन्टरनेटबाट हुने यौन हिंसा, विद्यालयमा हुने कुटपिट, घरमा हुने कुटपिटसमेत यो हेल्पलाइनमा सुनिन्छ’, उनले भनिन्। यसरी आउने घटनामध्येमा कतिलाई परामर्श दिएर पठाइन्छ भने कतिको शारीरिक रूपमै उद्धार गरी आवश्यकताअनुसार मनोसामाजिक परामर्शसमेत दिने गरिएको उनले बताइन्। ‘बाल हेल्पलाइनको आवश्यकता सकिएको छैन, झनै बढेको छ’, उनले भनिन्।
प्रकाशित: २९ जेष्ठ २०८० ०३:१९ सोमबार