६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

धरानमा खानेपानीको चरम अभाव, पानी खुवाउन नसकेको भन्दै मेयर साम्पाङको आलोचना

'निजी ट्यांकरबाट खरिद गर्न पनि पालो पाइँदैन'

हप्ता दिनसम्म पनि पानी नआएपछि शुक्रबार मेयरको कार्यकक्षमा खाली बाल्टीसहित घेराउ गर्न पुगेका वडा ३, जल्पारोडका बासिन्दाहरु। तस्बिर: रोहित राई/नागरिक

खडेरी लामो समय हुँदा विगतका बर्षहरुमा झैँ यसपाली पनि धरानमा खानेपानीको चरम अभाव भएको छ।

खानेपानीको एजेण्डा बोकेर निर्वाचित स्वतन्त्र मेयर हर्क साम्पाङले वर्षभरि नै श्रमदानबाट खानेपानीको नयाँ स्रोतहरू थपे पनि अहिले धराने जनता पानी नपाएर काकाकुल भएका छन्। 

पानीको चरम अभाव हुने यो बेला कसरी आपूर्ति सहज बनाउनेतर्फ ध्यान नदिएको र बर्खे खोलाहरुको स्रोत मात्र थपेको भन्दै अहिले मेयर साम्पाङको चर्को आलोचना भइरहेको छ। खडेरीलाई लक्षित गरेर विगत ३ महिनादेखि मेयर साम्पाङको अगुवाईमा को-काहा खोलाको पानी ल्याउन श्रमदान अभियान चलिरहेको छ, तर धरानमा पानी कहिले आइपुग्छ भन्ने टुंगो लागेको छैन।

काकाकुल नगरवासीहरू हप्ता, दश दिनसम्म पनि पानी नआएपछि उपमहानगरपालिकामा दैनिक जसो डेलिगेशन र घेराउ गर्न पुगिरहेका छन्। दिन बिराएर वा २ दिनमा एक पटक भए पनि विगतमा पानी आइरहेकोमा यसपाली भने आफ्नो पालोमासमेत पानी नआएको नगरबासीहरुको गुनासो छ। इतिहासमै पहिलो पटक खानेपानी अभावले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विद्यार्थीहरुलाई एक साताको बिदा दिएको छ।

धरानमा खानेपानी वितरण गर्ने जिम्मेवारी धरान खानेपानी व्यवस्थापन बोर्डको रहेको छ। यसको अध्यक्ष मेयर छन्। यसपालिको जस्तो पानी अभाव विगतका बर्षहरुमा जस्तो नभएको भन्दै मेयर साम्पाङले पानी खुवाउन असफल भएको गुनासो नगरबासीहरुको छ।

पानीको माग धेरै भएपछि निजी ट्यांकरहरुले पनि पानी बिक्री गर्न भ्याएका छैनन्। निजी ट्यांकरबाट पानी खरिद गर्न खोज्दा पनि हप्ता, दश दिनपछि मात्र पालो आउने नगरबासीहरुको भनाई छ। धरान वडा नं १५ का हिमाल लिम्बुले धरान बाहिरबाट पनि निजी ट्यांकरबाट पानी किन्न खोज्दा नपाएको गुनासो गरे।

‘ट्यांकरबाट पानी किन्न खोजेको तर कतै पाइन। कसैले उपलब्ध गराउने हो भने अग्रिम भुक्तानी दिन्छु,’ उनले भने।

आफ्नो वडामा दश दिनसम्म पनि पानी नआएको वडा ९ का अध्यक्ष रुपेश आचार्यले बताए। ‘पानी नपाएर एकदमै विकराल अवस्था भयो,’ उनले भने। पानी नपाएर शुक्रबार खाली बाल्टीसहित वडा नं ३ जल्पारोडका बासिन्दाहरु मेयर साम्पाङको कार्यकक्ष घेराउ गर्न पुगेका थिए। गुनासो गर्ने टोलहरुमा खानेपानी बोर्डको ट्यांकरबाट सामूहिक रुपमा पानी वितरण गरेर नगरवासीको प्यास मेटाउने प्रयास गरे पनि माग धान्न सकेको छैन।

यता, मेयर साम्पाङ भने पानी नपरेर लामो समय खडेरी भएकोले खोलाको स्रोतहरू सुकेको र जंगलको वेलमा पनि पानीको सतह घटेको कारण खानेपानी अभाव भएको बताउने गरेका छन्। पछिल्लो समय वीपी प्रतिष्ठानको पनि पम्प बिग्रिएको कारण हस्पिटल सेवा प्रभावित नहोस् भनेर पानी पठाउनुपरेको कारण नगरबासीहरुको पालो काटिएर समस्या भएको मेयर साम्पाङको भनाई छ। 

‘मैले गर्न सक्ने सबै प्रयासहरु गरेको छु। हाम्रो खोलाखोल्सीहरुबाट पानीको नयाँ स्रोतहरू थपेकै हो, तर यसपाली खडेरी लामो समय भइदियो,’ उनले भने, ‘पहिला मंसिरदेखि निजी ट्यांकरहरुले पानीको व्यापार गर्थ्यो, यसपाली जेठ अन्तिमतिर मात्र चर्को खडेरीले गर्दा समस्या भयो।’

अब वर्षा नभएसम्म तत्कालको समस्या हल नहुने र दीर्घकालीन समस्या समाधान गर्नको लागि कोशीबाट पानी ल्याउनुबाहेक विकल्प नभएको उनको भनाई छ। प्रकृति कसैको पनि वसमा नभएको भन्दै उनले पानीको समस्या हल गर्न आफूले सकेको काम गरेको पनि दाबी गरे।

‘म राती २, ३ बजे उठेर पानी वितरण सहज बनाउन लागिपरेको छु, कर्मचारीहरु खटाइरहेको छु,’उनले भने, ‘को-काहा खोलाको पानी पाइपमा परीक्षण भइरहेको छ, चाँडो धरान ल्याउन पहल भइरहेको छ।’

खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलका अनुसार अहिले पानीको माग न्यूनतम ३ करोड छ। तर, खोलाको स्रोतहरू सुकेको कारण १ करोड ६० लाख लिटर मात्र उत्पादन भएकोले समस्या भएको हो। उनले भने, ‘सबै वेलहरु सञ्चालन गरिरहेका छौं, सेउती नजिकको एउटा वेल मात्र चलेको छैन। उत्पादन १ करोड ६० लाख जति मात्र छ। खोला सबै सुकेकोले समस्या भएको हो।’

वेल थप गर्दा पानी प्रशस्त पाउने

मेयर साम्पाङ वर्षामा मात्र बग्ने पकुवा, निशाने, सेउती, भालु खोलामा पाइप विस्तार गर्न दौडधुप गरे पनि खडेरीको लागि चारकोशे जंगलमा भएको भूमिगत स्रोतलाई ध्यान नदिँदा अहिलेको काकाकुल अवस्था सिर्जना भएको एक अध्ययनको रिपोर्टले देखाएको छ।

नेवार एकता समाजले स्थलगत अध्ययनको भिडियो रिपोर्ट सार्वजनिक गर्दै धरानको खडेरीकै लागि भूमिगत स्रोत (वेल) को व्यवस्था भएको तर मेयर साम्पाङले यसको उचित व्यवस्थापनमा ध्यान नदिएको बताएको हो।

फागुन, चैत, वैशाख र जेठ महिनामा खोला सुक्ने भएकोले विकल्पमा चारकोशे जंगलमा बोरिङ गरेर भूमिगत स्रोत व्यवस्थापन गरिएको छ। मेयर साम्पाङले भूमिगत स्रोतमा पानीको लेबल घटेको बताउने गरेका छन्, तर समाजले स्थलगत अध्ययनको रिपोर्ट सार्वजनिक गर्दै जंगलको भूमिगत स्रोतमा प्रशस्तै पानी भएको दाबी गरेको छ।

समाजका अध्यक्ष महेश श्रेष्ठका अनुसार अहिले पनि नयाँ ४, ५ वटा वेल थप्ने हो भने जंगलबाट प्रशस्त पानी आपूर्ति हुने अवस्था छ।

‘जंगलको भूमिगत स्रोत यही खडेरीकै लागि हो। मेयर पानीको सतह घटेर पानी छैन भन्छन्, तर हामीले स्थलगत हेर्दा प्रशस्त पानी भएको देखिन्छ। कर्मचारीहरुले नै ४, ५ वटा वेल थप्दा हुने हो तर मेयर अन्तै भौँतारिरहेका छ भन्छन्,’ श्रेष्ठले भने, ‘भूमिगत स्रोतको व्यवस्थापन, सुधारमा ध्यान नदिँदा दैनिक ८० लाख लिटर पानी पाउन सक्ने भए पनि वञ्चित हुनुपरेको देखियो।’

धरानका पूर्व मेयर मनोज मेन्याङ्बोले पनि श्रम संस्कृतिको अभियान र काम राम्रो भए पनि मेयर साम्पाङको शैली र प्रक्रिया गलत भएको बताउँछन्। पानी खुवाउने पहल गरिरहे पनि परिणाममुखी नभएर प्रचारमुखी भएको उनको टिप्पणी छ।

‘उहाँले जे जति गर्नुभयो, त्यसको लागि धन्यवादको पात्र हुनुहुन्छ। तर, परिणाममुखी भएन, प्रचारमुखी मात्र हुनुभयो,’ उनले भने, ‘अहिले धराने जनता पानी नपाएर प्रताडित छन्। भुँइको टिप्न खोज्दा गोजीकै पनि खस्यो भनेजस्तो अवस्था छ।’

प्रकाशित: २७ जेष्ठ २०८० १३:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App