दिनभर चर्को घाम लाग्ने र बेलुकीपख भीषण वर्षा हुने गर्दा पोखराले अघिल्ला वर्ष यो सिजनमा उत्तिसारो गर्मी अनुभव गरेको थिएन। दिनहुँ जसो बेलुकी पख वर्षा हुँदा सर्वसाधारणले पोखरालाई शीतल सहरको रुपमा बुझ्ने गरेका थिए। दिउँसो चर्को घाम लागेपनि बेलुकीपख वर्षा हुँदा सर्वसाधारणले राहत अनुभव गर्ने गरेका थिए।
यतिसम्मकी गर्मी छल्ने सहरको रुपमा पनि पोखरा बनेको थियो। गर्मी छल्नकै लागि भनेर तराई भेगका ठुला सहरबाट आन्तरिक र भारतीय पर्यटकहरु पोखरा आउने गरेका थिए। तर, यो पटक भने पोखराले साँच्चै गर्मी अनुभव गरेको छ। सर्वसाधारणले अनुभव मात्र गरेको नभई दिनहुँको बढ्दो तापक्रमको मापनले पनि पोखरालाई गर्मी सहर बनाइदिएको छ। पुरानो रेकर्ड नै ब्रेक गर्ने गरि पोखराले यो पटक गर्मी अनुभव गरेको जल तथा मौसम विज्ञान कार्यालय पोखराले जनाएको छ।
मौसम विज्ञान विभाग पोखराका मौसमविद् मीनकुमार अर्यालका अनुसार सन् १९९९ पछि पोखराको तापक्रमको पारो यो आकारमा पुगेको हो। ‘२३ वर्षपछि पोखराको तापक्रमले नयाँ रेकर्ड बनाएको हो,’ अर्यालले भने, ‘अझै केहीदिन पानी पर्ने सम्भावना कम भएकोले तापक्रम उकालो लाग्ने सम्भावना छ। अन्य सहरमा झनै पोखरा पनि यो पटक सुख्खा र तातो सहर बनेको छ।’
कार्यालयका अनुसार यसअघि पोखराको तापक्रमको सबैभन्दा उच्चतम बिन्दु ३७.४ डिग्री सेल्सियस मापन भएको छ। सन् १९७५ अप्रिल ८ मा सबैभन्दा बढी ३७.४ डिग्री पुगेको थियो। त्यस्तै १९९२ को अप्रिल २२ मा पनि पोखराको तापक्रम ३७.४ डिग्री पुगेको थियो। त्यस्तै १९९९ को अप्रिल २८ मा पनि पोखराको तापक्रम ३७.४ डिग्री नै मापन भएको थियो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको मौसम स्टेशनका अनुसार बिहीबार पोखराको तापक्रम ३५.७, शुक्रबार ३६ र शनिबार ३५ डिग्री मापन भएको थियो। ‘वर्षभरिको मापनको हिसाबले २३ वर्ष (१९९९) पछि पोखराको तापक्रमले नयाँ रेकर्ड बनाएको हो,’ अर्यालले भने, ‘यो वर्ष पनि अहिलेसम्मको अधिक तापक्रम पुगेको छ।’ सन् १९७५, १९९२ र १९९९ को अप्रिल महिनामा तापक्रम उच्च भए पनि त्यो समय प्रि मनसुनको समय रहेको उनले बताए। तर, अहिले जुनको दोस्रो साता तापक्रम उच्च बिन्दुमा पुगेको छ। अहिलेको समयलाई मनसुनको नजिकको समय भन्न मिल्ने अर्यालले बताए। प्रि मनसुन र मनसुन नजिकको समयको तापक्रमलाई फरक तरिकाले विश्लेषण गर्न सकिने उनले बताए।
‘नेपालमा सामान्यतया जुन १३ मा प्रवेश गरेको मनसुन २३ सेप्टेम्बरमा बाहिरिने गर्छ। तर, यो पटक मनसुन कहिले भित्रिन्छ भनेर भन्न सकिने अवस्था छैन,’ उनले भने, ‘त्यही भएर तापक्रम पनि उकालो लागेको लाग्यै छ।’ कम्तीमा पनि पूर्वी नेपालमा यो बेला दिनहुँ जसो वर्षा हुनुपर्ने हो, तर, अहिले त्यसको संकेत नै नभएको पनि उनले बताए। ‘पूर्वी नेपालमा त यो बेला बर्खा लागेजस्तै हुनुपर्ने हो, तर, मनसुन नै भित्रिएको छैन,’ उनले भने।
मौसमविद् अर्यालका अनुसार पोखरामा आगामी बुधबार र बिहीबार वर्षा हुने सम्भावना रहे पनि त्यो निश्चित भन्न नसकिने अवस्था छ। ‘स्थानीय प्रणालीले गर्दा बुधबार र बिहीबार वर्षा हुने हाम्रो अनुमान हो,’ उनले भने, ‘पोखरा र आसपासका क्षेत्रमा तालतलैया धेरै भएकोले पनि मेघ गर्जन सहितको वर्षा हुने गरि स्थानीय प्रणाली विकास हुने सम्भावना छ।’ पछिल्लो समय एक सातादेखि पोखरामा पानी परेको छैन। पानी नपर्दा यहाँ सुख्खा बनेको उनले बताए। ‘एक साता पानी नपर्दा पोखरा पुरै ड्राइ बनेको छ,’ उनले भने।
पानी नपर्दा पर्यटकीय सहरको पोखराको चहलपहल पनि घटेको छ। यहाँको पौडी पोखरी र होटलमा पौडिन पुग्ने युवायुवती र सर्वसाधारणको भिडभाड रहेको छ। दिउँसोको चर्को घाममा अत्यावश्यक कामले बाहेक सर्वसाधारणहरु बाहिर निस्कन छाडेको पनि अर्यालले बताए। सडक तात्दा हावा पनि तातो हुने गरेको छ।
पोखरामा मात्र नभई आसपासका जिल्लामा पनि तापक्रम उकालो लागेको छ। गोरखा, स्याङजा लगायतका जिल्लामा पनि तापक्रम उकालो लागेको छ। हिमाली जिल्ला मनाङ र मुस्ताङमा पनि तापक्रम उकालो लागेको छ। मुस्ताङको जोमसोम विमानस्थलका अनुसार जोमसोमको पछिल्लो तापक्रम २३ डिग्रीसम्म पुगेको छ। त्यस्तै मनाङको तापक्रम पनि १६ डिग्रीसम्म उक्लेको छ।
‘अघिल्ला वर्षसम्म १३ डिग्री भन्दा तापक्रम उकालो लागेको थिएन। तर, यो पटक १६ डिग्रीसम्म पुगेको छ। चिसो ठाउँमा एक डिग्री बढ्दा पनि गर्मी अनुभव हुन्छ,’ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का मनाङका संरक्षण अधिकृत लेखनाथ गौतम भन्छन्, ‘अरू सहरका लागि १५–१६ डिग्रीको तापक्रमले खासै फरक पार्दैन, तर, बाह्रैमास चिसो हुने र बढीमा १३ डिग्रीसम्मको तापक्रम रहने हिमाली जिल्लामा १६ डिग्रीसम्म तापक्रम उक्लिदा गर्मी हुन्छ।’ हिमाली जिल्लाका माथिल्ला भन्दा तल्लो भेगमा बढी गर्मी रहेको उनले बताए।
प्रकाशित: २७ जेष्ठ २०८० १२:०८ शनिबार