७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

चुरे सिरानको खोलामा सीमाहिन उत्खनन

चुरे सिरानको सर्रे खोलामा एक्साभेटर प्रयोग गरी करिब एक महिनादेखि सेटिङमा भैरहेको उत्खनन । तस्विरःमिथिलेश यादव/नागरिक

धनगढीमाई नगरपालिका–१२ र १३ चुरे पर्वतको दक्षिण पश्चिम फेदीबाट सर्रे खोला बगिरहेको छ। यो खोलाको पूर्वदक्षिण टाँसिएर सामुदायीक वन छ । चुरे र सामुदायीक वन टाँसिएरै नगपालिकाले ठेक्केदार मार्फत एक्साभेटर लगाएर खोला खनिरहेको छ ।

चुरे र सामुदायीक वन नजीकै भैरहेको खोला दोहनमा धनगढीमाई नगरपालिकाकै स्वीकृत रहेको पाइएको छ । धनगढीमाई नगरपालिकाले माँ सखडा भगवती निर्माण सेवालाई लाई ३७ लाख ७५ हजारमा खोलाजन्य पदार्थ उत्खन्न गर्न ठेक्का सम्झौता गरेको निर्माण सेवाका प्रोपराईटर अनिरुद्ध साहले बताए।  

चुरे मुल भएको यस खोलाको मुलमै एक्साभेटर मार्फत गहिरो खाल्डो बनाएर उत्खनन भैरहँदा नियामक निकाय मुकदर्शक बनेका छन् । नगरपालिकाले यस निर्माण सेवासँग सम्झौता गरेपनि उत्खनन स्थल तोकेको छैन । सर्रे खोलाभरी घुम्दा कहिपनि संकलन÷उत्खनन केन्द्रको बोर्ड देखिदैन । कुन स्थानबाट कति परिणममा खोलाजन्य पदार्थ उत्खनन गरिदै छ, त्यो कतै भेटिदैन।

नगरपालिकाले अनिरुद्ध प्रोपराइटर रहेको फर्मसँग खोलाजन्य पदार्थ संकलनको ठेक्का सम्झौता गरेपनि उनले खानी मिसन कन्सट्रकसन कम्पनीलाई खोला खन्न जिम्मा लगाए । ठेक्का मेरै भएपनि खोला खानी मिसनले खनिरहेको उनले बताए । मैले यती धेरै रकम कहाँबाट नगरपालिकालाई तिर्न सक्छ उनले भने,‘अहिले खोला खनिरहेको व्यक्तिको आफ्नौ क्रसर छ।’

धनगढिमाई नगरपालिकाका मेयर शिवशंकर महतो भन्छन्,‘सबै काम नियम कानुनअनुसार त हुँदैन नि ! मैले एक्साभेटर प्रयोग गरेर खोलाजन्य पदार्थ निकाल्न सहमती दिएको हुँ, उनले भने ।’ कानुनअनुसार चुरे फेंदको खोलामा एक्साभेटर प्रयोग गरेर खन्न पाइँदैन तर खोलालाई गहिरो पार्नुपर्ने भएकोले अनुमति दिएका हौं, उनले भने । ठेक्केदारसँगको सम्झौतामा एक्साभेटरले उत्खनन गर्न पाउने बुंदा उल्लेख गर्न नपाइने भएकोले नगरिएको हो उनले भने,‘कानुनी कुरा जेसुकै भएपनि व्यवहारिक रुपमा ठेक्केदारलाई खोलामा एक्साभेटर लगाउन छुट दिएका हौं।’

प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाका अनुसार नगरपालिकाले लगाएको ठेक्कामा हामीले हेर्न मिल्दैन । चुरेक्षेत्र भित्रै भएपनि, अवैध उत्खनन नै गरिएको भएपछि हामीले हेर्न मिल्दैन प्रजिअ खतिवडाले भने,‘नगरपालिकाले नभनेसम्म हामी कुनै कारवाही अघि बढाउँदैनौं।’

डिभिजन वन कार्यालय लहानका प्रमुख शैलेन्द्रकुमार मिश्र भन्छन्, एक्साभेटर प्रयोग गरेर चुरे संरक्षित क्षेत्रमा भैरहेको उत्खननबारे मँ जानकार छुँ । तर, यो ठेक्का नगरपालिकाले लगाएकोले मैले रोक्न मिल्दैन, उनले भने।  

सर्रेमा मात्र नभई सिरहाको मिर्चैया नगरपालिकाले पनि घुर्मी खोलामा एक्साभेटर प्रयोग गरेर उत्खनन गराइरहेको पाइएको छ।  नगरपालिकाको संरक्षणमा भैरहेको अवैध उत्खननलाई स्थानीयको दबावपछि अन्तिम समयमा प्रहरीले हस्तक्षेप गरेर एक्साभेटर र टिपर नियन्त्रणमा लिएर केहि समयपछि छाडिदियो । प्रहरी नियन्त्रणबाट छुटेका एक्साभेटर र टिपर पुनः घुर्मी खोलामा उत्खनन गरिहेको स्थानीयले बताए ।  

सिरहाको सर्रे, खुट्ट र घुर्मीमा स्थानीय सरकार, प्रशासन र प्रहरीको सेटिङमा अवैध उत्खनन भैरहेको स्थानीयको भनाई छ। जनताको आँखाले अवैध देख्ने उत्खननलाई प्रहरीप्रशासनको आँखाले नदेख्नुमा मिलेमतो प्रष्ट हुन्छ, स्थानीय खगेश्वर यादवले बताए।

प्रकाशित: २७ जेष्ठ २०८० १०:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App