हामी सन् २०२५ लाई बिदा गरेर नयाँ वर्ष २०२६ लाई स्वागत गरिरहेका छौं। गएको वर्ष समग्रमा द्वन्द्वको वर्ष रह्यो। सन् २०२५ मा विश्वले धेरै युद्धको साक्षी बन्नुपर्यो।
गाजा युद्धमा शान्ति कायम भयो। तर युक्रेन युद्ध चार वर्षदेखि निरन्तर चलिरहेको छ। अफ्रिका, खाडीका धेरै देश युद्धको चपेटामा छन्। नेपालमा भएको जेन-जी आन्दोलनमा ७६ जनाले ज्यान गुमाए, खर्बौंको आर्थिक क्षति भयो।
यसबीच विश्वले कला, राजनीति, सङ्गीत, फेसन, खेलकुद र वास्तुकलाका क्षेत्रका धेरै व्यक्तित्वहरूलाई बिदा गर्नुपर्यो। आफ्ना प्रिय मान्छे गुमाउँदा करोडौं फ्यान स्तब्ध भए।
गत वर्ष कला क्षेत्रका धेरैले दुनियाँलाई अलबिदा भनेका थिए। बलिउडका धर्मेन्द्रको निधनले गहिरो शोकमा डुबायो। पोप फ्रान्सिसको निधनले पनि विश्वभरका क्याथोलिक धर्मावलम्बीलाई शोकमा डुबाएको थियो।
डेभिड लिन्च
डेभिड लिन्च अमेरिकी फिल्म निर्देशक तथा कलाकार थिए। उनले ट्विन पिक्स, मुलहोल्यान्ड ड्राइभ र ब्लु भेल्भेट जस्ता चलचित्र निर्देशन गरेर हलिउडमा नयाँ आयाम थपेका थिए।
पोप फ्रान्सिस
पोप फ्रान्सिस ल्याटिन अमेरिकाबाट पहिलो पटक रोमन क्याथोलिक चर्चका प्रमुख बनेका थिए। उनले सन् २०१३ देखि चर्चको नेतृत्व गरेका थिए। उनी गरिबहरूको हकमा आवाज उठाउने, जलवायु परिवर्तनविरुद्ध सङ्घर्ष गर्ने र चर्चमा सुधार ल्याउनेका लागि प्रख्यात थिए। विश्वका अर्बौँ क्याथोलिकहरूलाई प्रेरित गरेका थिए।
ब्रायन विल्सन
ब्रायन विल्सन अमेरिकी सङ्गीतकार तथा बीच बोइज ब्यान्डका संस्थापक थिए। उनलाई पप सङ्गीतको जीनियस मानिन्छ। उनले पेट साउन्ड्स जस्ता एल्बम र क्यालिफोर्निया गर्ल्स जस्ता गीतहरू सिर्जना गरेर सङ्गीत जगतमा क्रान्ति ल्याएका थिए।
रोबर्ट रेडफोर्ड
रोबर्ट रेडफोर्ड अमेरिकी अभिनेता, निर्देशक तथा पर्यावरणविद् थिए। उनले बुच क्यासिडी एन्ड द सुन्दान्स किड र अल द प्रेसिडेन्ट्स मेन जस्ता फिल्महरूबाट ओस्कर जितेका थिए। उनले सुन्दान्स फिल्म फेस्टिभल स्थापना गरेर स्वतन्त्र सिनेमालाई प्रोत्साहन दिए।
डायन कीटन
डायन कीटन अमेरिकी अभिनेत्री तथा निर्देशक थिइन्। उनी द गडफादर सिरिज र एनी हलबाट ओस्कर जितेर रोमान्टिक कमेडीको रानी बनेकी थिइन्। उनको वुडी एलेनसँगको सहकार्यले हलिउडमा नयाँ ट्रेन्ड सुरु गरेको थियो।
डिक चेनी
डिक चेनी अमेरिकी राजनीतिज्ञ तथा पूर्व उपराष्ट्रपति थिए। उनी जर्ज डब्ल्यू बुशको कार्यकाल (सन् २००१ देखि २००९) मा इराक युद्ध (सन् २००३) को मुख्य योजनाकार थिए। पछि उनी डोनाल्ड ट्रम्पका आलोचक बने। उनी २१औं शताब्दीको अमेरिकी विदेश नीतिमा प्रभावशाली रहे।
चार्ली कर्क
दक्षिणपन्थी अमेरिकी कार्यकर्ता तथा इन्फ्लुएन्सर थिए उनी। कलेज क्याम्पसहरूमा रूढिवादी विचारहरू फैलाउने काम गर्थे। कर्कले विद्यार्थीहरूलाई आफ्नो विश्व दृष्टिकोणलाई चुनौती दिन आमन्त्रित गर्ने काम गर्थे। उनले २०२४ को अमेरिकी राष्ट्रपति चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको लागि युवा मत परिचालन गर्न मद्दत पनि गरेका थिए।
हल्क होगन
होगन, जसको वास्तविक नाम टेरी बोलिया थियो। उनी अमेरिकाको सबैभन्दा प्रसिद्ध कुस्ती स्टारहरू मध्ये एक थिए। जो आफ्नो गोरो कपाल र ह्यान्डलबार जुँगाको लागि परिचित थिए। सन् १९८३ मा विश्व कुस्ती महासंघ (डब्लूडब्लूएफ) सँग अनुबन्ध भएपछि उनी थप चर्चामा आएका थिए।
धर्मेन्द्र
धर्मेन्द्र भारतीय अभिनेता थिए। उनलाई बलिवुडको ‘हीम्यान’ भनेर चिनिन्थ्यो। उनले शोले, यमला पगला दीवाना जस्ता ३०० भन्दा बढी फिल्महरूमा अभिनय गरेर सात दशकसम्म दर्शकहरूलाई मोहित पारेका थिए। उनको निधनले हिन्दी सिनेमालाई अपूरणीय क्षति पुर्यायो।
पेज ग्रिको
अष्ट्रेलियाली प्याराओलम्पिक स्वर्ण पदक विजेता पेज ग्रेकोले आफ्नो करियर ट्र्याक एन्ड फिल्ड एथलीटको रूपमा सुरु गरेकी थिइन्। तर उनी साइकल चालकको रूपमा विश्वभर चर्चित भइन्। ग्रेकोले अष्ट्रेलियाको लागि विश्व च्याम्पियनशिप र विश्व कपमा प्रतिस्पर्धा गरिन्। उनले टोकियो सन् २०२० प्याराओलम्पिक खेलहरूमा स्वर्ण जितेकी थिइन्।
डियोगो जोटा
डियोगो जोटा एक सफल फुटबल खेलाडी थिए। उनले लिभरपुलको सफलताका साथै पोर्चुगलको नेसन्स लिगको विजयमा महत्वपूर्ण भूमिका खेलेका थिए।
सफल गोलकर्तामा रूपमा आफ्नो पहिचान बनाएका उनले जुर्गेन क्लोप र त्यसपछि आर्ने स्लटको नेतृत्वमा धेरै पटक म्याच-विजेता बनेका थिए। उनी २०२२ मा एफए र लिग कपको घरेलु कप दोहोरो जित्ने टोलीमा थिए। उनले २०२४-२५ सिजनमा महत्वपूर्ण योगदान दिए।
खालिदा जिया
खालिदा जिया बंगलादेशकी पूर्व प्रधानमन्त्री थिइन्। उनले (सन् १९९१-१९९६ र २००१-२००६) मा देशको नेतृत्व गरिन्।
उनी बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री थिइन्। तत्कालीन प्रधानमन्त्री शेख हसिनासँगको लामो राजनीतिक लडाइँले उनी चर्चामा थिइन्। उनको निधनले दक्षिण एसियाली राजनीतिमा ठूलो छाप छोड्यो।
यी व्यक्तित्वहरूले आफ्नो जीवनकालमा कला, राजनीति, खेलकुद र समाजमा अमिट छाप छोडेका थिए। उनीहरूका कामले आगामी पुस्तालाई सधैं प्रेरित गर्नेछ। उनीहरूको योगदान विश्व इतिहासमा सदैव जीवित रहनेछ। उनीहरू सबैप्रति हार्दिक श्रद्धाञ्जली।
एजेन्सीको सहयोगमा
प्रकाशित: १७ पुस २०८२ १९:५५ बिहीबार





