२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

दूधकोशीको पानी भुम्जुडाँडामा

सुक्खाग्रस्त क्षेत्र हलेसीमा सञ्चालित बृहत् हलेसी पम्पिङ खानेपानी आयोजनाअन्तर्गत दूधकोशीको पानी भुम्जुडाँडामा पुर्‍याउने प्रयास सफल भएको छ।

हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडाको लुलिमाबाट बिहीबार दिउँसो वडा नं २ डिकुवास्थित भुम्जुडाँडामा सफलतापूर्वक पुर्‍याइएको हो।

दूधकोशीबाट एक सय ५० एमएमको फलामे पाइपमार्फत चार हजार पाँच सय मिटरमाथि रहेको भुम्जुडाँडामा पुर्‍याउने प्रयास सफल भएको संघीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङका प्रमुख इन्जिनियर हिराकाजी महर्जनले बताए।

‘दूधकोशीबाट छ लिफ्ट ट्यांकी हुँदै भुम्जुडाँडामा बनाइएको सातौं ट्यांकीमा पानी पुर्‍याउने सफल भइएको छ। भुम्जुडाँडामा पानी निकाल्ने प्रयासको सफल परीक्षण भएसँगै स्थानीयमा उत्साह जगाएको छ’, उनले भने,‘दूधकोशीबाट पानी लिफ्ट गरेर नगरपालिकाका सात वडाका कम्तीमा तीन हजार सात सय ५६ घरधुरी उपभोक्तालाई वितरण गर्ने लक्ष्य राखिएको छ। अब त्यो लक्ष्य चाँडै पूरा हुने अवस्थामा पुगेको छ।’

सुक्खाग्रस्त क्षेत्र हलेसीमा सञ्चालित बृहत् हलेसी पम्पिङ खानेपानी आयोजनाअन्तर्गत दूधकोशीको पानी भुम्जुडाँडामा पुर्‍याउने प्रयास सफल भएको छ।

बृहत् हलेसी पम्पिङ खानेपानी आयोजनाका लागि नदी किनारमा तीन लाख क्षमताको एउटा र भुम्जुडाँडामा चार लाख लिटर क्षमताको तीन वटा ट्यांकी बनाइएका छन्। त्यसको बीच भागमा पर्ने विभिन्न पाँच ठाउँमा एकएक लाख लिटर क्षमताका लिफ्ट ट्यांकी निर्माण गरिएको जनाइएको छ।

दूधकोशीको पानीलाई डिकुवाको भुम्जुडाँडा र वडा नं ७ महादेवस्थानको काभ्रेडाँडामा पुर्‍याएर वितरण गर्ने लक्ष्यका साथ विसं २०७४ देखि लिफ्टिङ खानेपानी आयोजनाको काम अघि बढाइएको थियो। दूधकोशीको लुलिमाबाट भुम्जुडाँडा र महादेव बेंसीबाट काभ्रेडाँडामा लिफ्ट गरेर पानी पुर्‍याएर मेनलाईनको ठेक्का दिवा-महादेव-खिम्ती जेभीले धमाधम गरिरहेको छ।

महादेव बेंसीबाट काभ्रेडाँडामा पानी पुर्‍याउन पम्प जडानको काम मात्र बाँकी रहेको आयोजना प्रमुख महर्जनले बताएका छन्। भुम्जुडाँडामा पुर्‍याइएको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेमा वितरण गर्ने वितरण लाइनको ठेक्का लामा कन्ट्रक्सन र काभ्रेडाँडामा निकालिएको पानीलाई महादेवस्थान, दुर्छिम र मंगलटारमा वितरण गर्ने कामको ठेक्का रमन–सगरमाथा–घिमिरे जेभीले लिएको छ।

बृहत् हलेसी पम्पिङ खानेपानी आयोजनाका लागि नदी किनारमा तीन लाख क्षमताको एउटा र भुम्जुडाँडामा चार लाख लिटर क्षमताको तीन वटा ट्याङ्की बनाइएका छन्।

हलेसी बृहत् पम्पिङ खानेपानी आयोजनाको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन)मा ट्रिटमेन्ट प्लान्ट (प्रशोधन केन्द्र)का स्किम छुट भएकाले पुनः स्टिमेट गरेर मन्त्रालय पठाइएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयले जनाएको छ। कार्यालय प्रमुख महर्जनका अनुसार ट्रिटमेन्ट प्लान्टका लागि जग्गा व्यवस्था गरेर १९ करोड ९५ लाख रुपैयाँको लागत अनुमान पेश गरिएको हो।

दूधकोशीको पानी तानेर सिधै उपभोग गर्न उपयुक्त नहुने भएकाले लागत अनुमान अनिवार्य गर्नुपर्ने अवस्था आएको निर्माण उपभोक्ता समितिका अध्यक्ष इवन राईले बताए। ‘लागत अनुमान प्लान्ट स्थापनाका लागि लिलिमाबेसी र महादेवबेसीमा नौनौ रोपनी जग्गा व्यवस्था गरिएको छ’, हलेसी तुवाचुङ नगरपालिकाका पूर्वनगर प्रमुख समेत रहेका अध्यक्ष राईले भने, ‘हाम्रो नगरपालिकाका ११ वटै वडाका स्थानीय बासिन्दाले खानेपानीको समस्या भोग्दै आएका छन्। ढिलै भए पनि दूधकोशीको पानी पम्पिङ गरेर पाइप लाइनमार्फत स्थानीय बासिन्दाको घरघरमा वितरण गर्नेगरी बृहत् खानेपानी आयोजनाको काम सफल हुँदै जाँदा उनीहरूसमेत हर्षित छन्।’

सरकार, संघीय खानेपानी मन्त्रालयको ९६ करोड ४५ लाख रुपैयाँ लगानीमा सम्पन्न गर्ने गरी पाँच वर्षअघि निर्माण सुरु गरिएको उक्त बृहत् हलेसी पम्पिङ खानेपानी आयोजनाको काम ९० प्रतिशत पूरा भएको जनाइएको छ।

पाइपलाइनको काम उपभोक्ता आफैले गर्नुपर्ने भएकाले मेनलाइनको पानी सफलतापूर्व निस्किएपछि स्थानीय बासिन्दा आआफ्नो क्षेत्रमा पाइपलाइनको काम गरिरहेका छन्।

सरकार, संघीय खानेपानी मन्त्रालयको ९६ करोड ४५ लाख रुपैयाँ लगानीमा सम्पन्न गर्ने गरी पाँच वर्षअघि निर्माण सुरु गरिएको उक्त बृहत् हलेसी पम्पिङ खानेपानी आयोजनाको काम ९० प्रतिशत पूरा भएको जनाइएको छ।

बर्सातको समयमा घरको छानामा पाइप जडान गरेर जम्मा भएको पानी उपभोग गर्ने हलेसी क्षेत्रका स्थानीय बासिन्दा हिउँदको समयमा घटौं लगाएर दूधकोशीबाट बोकेर ल्याएको पानी उपभोग गर्दै आएका छन्। कतिपय स्थानीय बासिन्दाले ट्याक्टर तथा ट्रकमार्फत ड्रममा भरेर दूधकोशीकै पानी ल्याएर उपभोग गर्ने गरेका छन्।  

प्रकाशित: २६ जेष्ठ २०८० ०७:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App