४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

आफ्नै लोगो सार्वजनिक, विपन्न र एचआईभी संक्रमतिलाई सहयोग

म्याग्दीको बेनी नगरपालिकाले स्थापना दिवसको अवसरमा आफ्नै ‘लोगो’ सार्वजनिक सहित विविध कार्यक्रम गरेको छ । १० औं स्थापना दिवसको अवसर पारेर आज नगर प्रमुख सुरत केसीले लोगो सार्वजनिक गदैं नगरबासीको समस्यालाई समाधान गर्न प्रतिबद्ध रहेको बताएका छन् । स्थापना दिवसका अवसरमा दश  वडाका एक÷एक  विपन्न नागरिकलाई नगद पाँच हजारका दरले आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

वडा नम्बर १ देखि १० सम्मका क्रमश  लक्ष्मी नेपाली, गोपाल सार्की, टेकबहादुर सुनार, बुद्धिमाया किसान, कमल बहादुर खत्री, खिमबहादुर नेपाली, पुजा बि.क., ज्ञानमाया क्षेठ, खमबहादुर राई र जालमाया रोकालाई आर्थिक सहयोग गरिएको प्रशासकीय अधिकृत युवराज थापाले बताए । यसैगरी सार्वजनिक भएका एचआइभी सङ्क्रमित दश जनालाई एआरभी औषधी लिन स्वास्थ्य संस्था जान आउने लाग्ने खर्च वापत  दश हजार रुपैँयाका दरले सहयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत ढोलकराज ढकालले बताए । स्थापना दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको रक्तसञ्चार गृहको प्राबिधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा १५  जनप्रतिनिधि, कर्मचारीहरुले रक्तदान गरेका छन् ।नगरपालिकाले उत्कृष्ट ‘लोगो डिजाइन’ गर्नेलाई रु २५ हजार नगद पुरस्कार दिने घोषणा गर्दै सूचना जारी गरेको थियो । खुल्ला प्रतिस्पर्धा मार्फत लोगोको डिजाइन गरेको हो ।

प्राप्त भएका तीन मध्ये बेनी नगरपालिका–१० का खिमबहादुर खत्रीले पेश गरेको लोगोको डिजाइन छनौट समितिले छानेको थियो । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ, सम्बृद्ध बेनी नगरको मुल आधार’ भन्ने मुल नारा बनाएको नगरपालिकाको लोगोमा पालिकाको धार्मिक, ऐतिहासिक, पर्यटकीय, सांस्कृतिक पहिचान झल्कने चित्र राखिएको छ । बेनीको दश वटै वडाको पहिचान झल्कने गरि लोगोको डिजाइन तयार पारेको खत्रीले बताए ।नगरपालिकाका सूचना प्रविधि अधिकृत समेत रहेका खत्रीले लोगो बनाएवापत प्राप्त भएको पुरस्कार रकम अपाङ्ग बालबालिकाले पढ्ने स्रोत कक्षालाई उपलब्ध गराउने घोषणा गरेका छन् ।

बेनी –५ बगुवाखोलाको बौद्धिक अपाङ्ग र वडा नम्बर ४ सिंगाको बहिरा स्रोत कक्षालाई १२ हजार पाँच सयका दरले सहयोग गर्ने उनले बताए ।  नगरपालिकाले कामकाजमा राष्ट्रियसँगै आफ्नो लोगो पनि प्रयोगमा ल्याउने प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए । विसं २०७१ जेठ २५ गते तत्कालीन अर्थुङ्ग, रत्नेचौर, ज्यामरुककोट, पुलाचौर र घतान गाविस समावेश गरेर नगरपालिका घोषणा भएकोमा राज्य पुनसंरचनाको क्रममा भकिम्ली र पात्लेखेत गाविसलाई पनि समेटिएको छ ।

प्रकाशित: २५ जेष्ठ २०८० १५:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App