७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

मुग्लिनको सुख्खा पहिरो : पहिरो हटाइयो, जोखिम कायमै

चितवन – निर्माणधिन नारायणगढ मुग्लिन -सडक खण्डमा सुख्खा पहिरो जाँदा पुरिएका गाडीहरू झिक्ने काम सकिएको छ । पहिरो खस्ने सम्भावना कायमै रहेका कारण तत्कालका लागि यातायात भने सञ्चालन नहुने नारायणगढ मुग्लिन सडक अयोजनाले जानकारी दिएको छ । नारायणगढ- मुग्लिन सडकको घुमाउनेमा बिहान साढे १० बजे पहिरो खस्दा ट्रक र मोटरसाइकलहरू पुरिएका थिए । 

‘घुमाउनेको अग्लो पहाड पुरै हटाउन कटिङको काम भइरहेको छ । तर आज काम सुरु हुन नपाउँदै पहिरो खसेको हो’ -आयोजना प्रमुख

सो घटनामा दुईजनाको ज्यान गएको छ भने दुईजनाको घाइते अवस्थामा उद्धार भएको छ । नारायणगढ मुग्लिन सडक फराकिलो पार्न  आयोजनाले  गत एक वर्षदेखि माथिबाटै पहाड काट्न सुरु गरेको थियो । ‘चट्टानको पहाड थियो तर बिहान अचानक खस्यो’ आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले भने ।

    बिहान पहाड काट्ने काम सुरु नहुँदै सो घटना भएको नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले बताए । ‘घुमाउनेको अग्लो पहाड पुरै हटाउन कटिङको काम भइरहेको छ । तर आज काम सुरु हुन नपाउँदै पहिरो खसेको हो’ आयोजना प्रमुख यादवले भने । पहाडको ठाउँ ठाउँमा चिरा परेको थियो । पानी परेका कारण कमजोर भएर केही खण्ड खसेको उनले बताए ।

    सडकमा ४० मिटर लामो र लगभग १० मिटर अग्लो पहिरो खसेको सूचना अधिकारी खनालले बताए । एउटा ट्याङ्कर पुरै पुरिएको थियो । एउटा ट्रकको पछाडी र एउटा मिनी ट्रकको अगाडिको भागमा पहिरोले लागेको थियो । एउटा मोटर साइकल पनि पहिरोको चपेटामा परेको थियो । मृत्यु हुनेमा ट्याङ्करका सहचालक र मोटरसाइकलको चालक रहेको सूचना अधिकारी खनालले बताए ।

पुरिएका गाडीहरु झिके पनि पहिरो खस्न सक्ने जोखिम कायमै भएका कारण तत्काल गाडी नखुलाएको खनालले बताए । झर्ने सम्भावना रहेको पहिरो हटाउन सके आज सोमबार साँझसम्म गाडी सञ्चालन हुने सम्भावना रहेको उनले बताए । 

 

प्रकाशित: २१ चैत्र २०७३ ०९:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App