१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

वृत्ति परामर्श तथा रोजगार मेलामा काम खोज्नेको लर्को

वृत्ति परामर्श मेलामा सहभागी अतिथि तथा आयोजक। तस्बिर: महेश्वर।

सदरमुकाम गाईघाटमा शनिबार आयोजित ‘वृत्ति परामर्श तथा रोजगार मेला’ मा काम खोज्न आउने युवायुवतिहरुको भीड लाग्यो। 

बेरोजगार युवायुवतीलाई आवश्यक सीप र तालिमको अवसर दिँदै रोजगार बनाउने ‘प्लेटफर्म’ को रुपमा आयोजित मेला अत्यधिक गर्मीका कारण उत्साहजनक नभए पनि सन्तोषजनक भएको आयोजक त्रियुगा नगरपालिकाले जनाएको छ।

त्रियुगा उद्योग वाणिज्य संघ गाईघाट सहआयोजक रहेको मेला त्रियुगा नमुना मावि गाईघाटको प्राङ्गणमा सञ्चालित थियो। बिहान ९ः०० देखि साँझ ५ः०० बजेसम्म सञ्चालित मेलामा विभिन्न क्षेत्रमा तालिम लिएर रोजगार बन्न चाहने युवायुवतीहरूलाई इच्छा अनुसार आवेदन माग गर्ने व्यवस्था मिलाइएको थियो।

स्वरोजगार बन्न चाहने तथा रोजगारीका लागि योग्य बन्न आवश्यक सीप र तालिम लिन चाहनेलाई आवेदन माग गर्ने व्यवस्था रहेको मेलामा १ सय २३ जना युवायुवतीले रोजगारी र तालिमका लागि फाराम भरेका छन्।

विभिन्न व्यापारिक, व्यावसायिक फर्महरूमा रोजगारी पाउन र स्वरोजगार बन्न आवेदन दिन चाहनेहरूलाई परामर्श दिन रोजगारदाता संघसंस्था र फर्महरूका प्रतिनिधिहरू पनि उपस्थित थिए। मेलामा दक्षता अभिवृद्धि गर्न तालिम तथा सीप सिक्न चाहनेहरूका लागि माग गरिए अनुसार युवायुवतीहरूलाई चाहना र छनौट अनुसार आवश्यक सीप र तालिमको माग गरेका छन्।

नगरप्रमुख वसन्त बस्नेतले कतिपय युवा जनशक्ति क्षमता भएर पनि बेरोजगार रहनु परेको तथा कतिपय सीप र क्षमताकै अभावमा बेरोजगार बस्न बाध्य हुनुपर्ने स्थितिको न्यूनीकरण गर्न मेला उपयोगी हुने उद्देश्यले आयोजना गरिएको बताए।

उनका अनुसार मेलामा निवेदन दिएका युवायुवतीहरूलाई उनीहरूकै माग बमोजिम तालिम दिएर सीप सिकाई दक्ष र रोजगारयोग्य बनाइनेछ। त्यसका लागि नगरपालिकाले छिट्टै आवश्यक तालिम दिनेछ भने अन्य रोजगारदाताहरूले त्यसको व्यवस्थापन गरी रोजगार बनाउने मेयर बस्नेतले बताए।

बेरोजगार नगरवासी युवायुवतीलाई रोजगारी दिलाउन तथा अदक्ष जनशक्तिलाई तालिम र सीप सिकाएर दक्ष बनाई स्वरोजगार बनाउन मेलाले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा मेयर बस्नेतको छ।

मेला सहआयोजक त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रर्साइलीले महिला १ हजार ३ सय ७५ र पुरुष ८ सय २६ जना गरी २ हजार २ सय बढीले मेलाको अवलोकन गरेको बताए। उनका अनुसार १० वटा तालिम प्रदायक संस्थाको उपस्थिति रहेको मेलामा ५ वटा रोजगारदाता स्टल र ८ वटा घरेलु तथा लघु उद्यमी स्टल राखिएको थियो। त्यसैगरी रोजगारीका लागि ६५ जनाले फाराम भरेका छन् भने सीप सिक्न आवेदन दिनहरूको संख्या ३९ जना छ। कार्यगत अभ्याससहित सीप सिक्ने तालिम लिन १९ जनाले आवेदन दिएको पनि अध्यक्ष रसाईलीले बताए।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुभक्त सिग्देलले स्वीटजरल्याण्ड सरकारसँग नेपाल सरकारले गरेको सम्झौता अनुसार सञ्चालित ‘दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्युर)’ कार्यक्रम अन्तर्गत मेला आयोजना गरिएको बताए। उनका अनुसार बेरोजगार युवायुवती लक्षित यो कार्यक्रम ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई चरितार्थ गर्न ५ लाख युवायुवतीलाई रोजगार बनाउने उद्देश्यले देशैभर सञ्चालन भइरहेको छ।

देशमा रहेका दक्ष जनशक्तिलाई रोजगारी दिलाउने तथा बेरोजगारलाई विभिन्न पेसा व्यवसाय तथा उद्योगमा रोजगारी दिलाउने उद्देश्यले होटल, पर्यटन, बैंकिङ र उद्योग व्यवसायमा संलग्न हुन आवश्यक तालिम दिएर दक्ष बनाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। यसले दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोकेर नेपालमै उपयोग गर्न सके उत्पादन र उत्पादकत्व बढेर देशको अर्थतन्त्र मजबुत बनाउन मद्दत पुग्ने राज्यको आङ्कलन अनुसार स्थानीयतहहरुले त्यसलाई साथ सहयोग गर्न मेला लगाइएको हो।

देशमा व्याप्त बेरोजगारी समस्या हल गर्न केन्द्रीय सरकारको स्वीकृत कार्यक्रमलाई स्थानीय सरकारले उद्योग वाणिज्य संघसँगको साझेदारीमा आयोजित मेलामा सहभागी भई तालिम लिन इच्छुक नगरवासी युवायुवतीलाई उनीहरूकै माग र छनौट बमोजिम प्राविधिक र बस्तुगत ज्ञानसँग सम्बन्धित तालिम दिएर स्वरोजगार बनाइने हाकिम सिग्देलले बताए।

प्रकाशित: २१ जेष्ठ २०८० १६:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App