१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

राष्ट्रिय निकुञ्ज क्षेत्रमा वन्यजन्तुको आक्रमण बढ्दो

नवलपरासी - नवलपरासीको नवलपुर क्षेत्रमा वन्यजन्तुको आक्रमण अझै पनि रोकिएको छैन् । प्रत्येक महिना प्रायः जसो ती क्षेत्रहरूमा वन्यजन्तुले आक्रमण गरेका घटना सुन्न पाइन्छ। राष्ट्रिय निकुञ्जबाट निस्केका वन्यजन्तुहरूले मानिसहरुको ज्यान लिन थालेपनि त्यसको नियन्त्रणमा सम्बन्धित निकायले चासो नदेखाएपछि स्थानियवासी आक्रोसित बनेका छन् । कार्तिकको अन्तिम सातादेखी चैत्रको दोश्रो सातासम्म वन्यजन्तुको आक्रमणमा परी दुम्किबास, नयाँवेलहानी, कावासोती, मध्यविन्दु, अल्यौली र गैडाकोटका स्थानियवासीले ज्यान गुमाएका छन् ।
चैत्रको पहिलो साता कावासोती नगरपालिका-७ रामनगरकी ४७ वर्षीयाा कुमारीदेवी महतोको गैँडाको आक्रमणमा परी मृत्यु भयो । घर नजिकैको मध्यवर्ती सामुदायिक वनमा  दाउरा काट्न गएकी महतोको शव दुई दिन पछि जंगलमा भेटिएको थियो ।
त्यस्तै फागनुको अन्त्यमा घर नजिकैको वनमा घाँस दाउरा गर्न गएकी गैँडाकोट नगरपालिका-११ भेडावारीकी पूर्णकली अधिकारीको बाघको आक्रमणबाट मृत्यु भयो । 
माघ ३ गते सोमबार कावासोती नगरपालिका-१६ डण्डाको जंगलमा दाउरा काट्न गएका आमाछोरीलाई बाघले आक्रमण गरी घाइते बनायो । घर नजिकैको जंगलमा दाउरा काट्न  गएकी ५० वर्षीया सुमित्रा गिरी र उनकी छोरी टोपमाया गिरीलाई दाउरा खोज्दा बाघले आक्रमण गर्याे । चितवनको पूरानो मेडिकल कलेजमा उपचाररत सुमित्राको अवस्था चिन्ताजनक  छ । बाघको आक्रमणबाट उनी गम्भीर घाइते भइकी थिइन् । आमासँग बाघको आक्रमणमा परेकी टोपमाया भने उपचार पछि घरमा आराम गरिरहेकी छन् ।

आमाछोरीलाई आक्रमण गरेको बाघको खोजी भइरहेको इलाका प्रहरी कार्यालय कावासोतीका प्रहरी नायव उपरीक्षक राजन थापाले बताए । चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीहरूले जंगलमा बाघको खोजी गरिरहेको प्रहरी नायव उपरीक्षक थापाको भनाई छ ।

यस अघि मंसिर ११ गते घाँस काट्न जंगल गएकी दुम्किबास ७ बघुवनकी ५१ वर्षीया अस्मिता मर्साङ्गी बाघको आक्रमणमा परिन् । बिहान ९ बजे घरबाट हिँडेकी अस्मिताको ११ बजे विभत्स अवस्थामा शव देखेपछि जंगल गएका अन्य व्यक्तिहरूले प्रहरीलाई खबर गरे। अस्मिताको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरी पुष्टि गरेको छ । 

त्यस्तै कार्तिक २९ गते कावासोती नगरपालिका-११ रातमाटेका डिलबहादुर श्रेष्ठ र कार्तिक ७ गते  मध्यविन्दु नगरपालिका-४ अम्रसामाकी ज्ञानीमाया मगर्नीको बाघको आक्रमणबाट मृत्यु भएको थियो ।

माथि भएका यी घटना सहित ५ महिनाको अवधिमा बाघको आक्रमणबाट नवलपरासीको नवलपुर क्षेत्रमा ९ जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । मृत्यु हुनेमा एक बालिका र पुरुष सहित सबै महिला छन् । उनीहरू वनमा दाउरा खाेज्न जाँदा वन्यजन्तुको आक्रमणमा परेका हुन् । 

बाघ र गैँडा लगायतका वन्यजन्तुले आक्रमण गर्न थालेपछि गाउँलेहरू एक्लै हिड्न र राति अवेरसम्म घर बाहिर बस्न छाडेका छन् । वन कार्यालय र निकुञ्जका कर्मचारीले बाघलाई नियन्त्रणमा लिन आलटाल गर्दा सर्वसाधारण त्यसको आक्रमणमा परेको मैनाघाटकी स्थानियवासी अम्बिका भुसाल बताउँछिन् ।

उनि भन्छिन्,‘आक्रमणको डरले घाँस दाउरा गर्नका लागि जंगल समेत जान छाडेका छन् ’। जंगलको बाटो भएर हिड्नुपर्ने गाउँका स्थानीय बासिन्दाहरू डरले पैदल हिड्न छाडेर मोटरसाइकलमा हिड्ने गरेको उनले बताइन् ।

बाघ आहारको खोजीमा जंगलमा हिडेको अवस्थामा भेट्दा मानिसहरूलाई आक्रमण गर्ने गरेको इलाका वन कार्यालय कावासोतीका सहायक वन अधिकृत कृष्ण देवकोटा बताउँछन् । बाघले आक्रमण गरेको सबै घटनाको प्रकृति एउटै जस्तो देखिएको उनी बताउँछन् । ‘अहिले सम्म बाघ गाउँमा प्रवेश गरेको छैन्’ उनले भने, ‘जंगल भित्रैबाट आक्रमण गरेको छ ।’

बाघको आक्रमण बढ्दै गएपछि नवलपुर क्षेत्रका सर्वसाधरणमा त्रास छाएको हो । अहिलेसम्म भएका घटनामा आक्रमण गरेको कुनै पनि बाघलाई नियन्त्रणमा लिन नसकेको सहायक वन अधिकृत देवकोटाको भनाई छ । एउटा बाघले ४० किलोमिटरलाई आफ्नो क्षेत्र बनाएर डुल्ने गरेका कारण नियन्त्रणमा लिन नसकेको उनले बताए ।

बाघको आक्रमणले आजित बनेका नवलपुर क्षेत्रका सर्वसाधरण गैँडाले समेत आक्रमण गर्न थालेपछि झनै आतंकित बनेका छन् ।

कावासोती नगरपालिका–१५ शेरगञ्जकी तीन वर्षिया बालिका स्वेता महतो र ७० वर्षीया हजुरआमा बुद्धिमाया गैँडाको आक्रमणमा परेका थिए । घर अगाडि आगो ताप्न बसेका बेला गैँडाले अक्रमण गर्दा श्वेताको मृत्यु भएको थियो भने हजुरआमा घाइते भएकी थिइन् । 

निकुञ्जभित्र घाँसे मैदान तथा पानीको व्यवस्था नहुँदा गैँडा लगायतका वन्यजन्तुहरू गाउँ पस्न थालेका स्थानियवासीको भनाई छ । गैँडाहरू गाउँलेको खेतीमा चरनकालागि आउने गरेका हुन् । निकुञ्जबाट आएका गैँडा लगायतका वन्यजन्तुले बालिनाली नष्ट गर्न थालेपछि त्यस क्षेत्रका स्थानियवासीले विद्युतीय धराप थाप्ने गरेको स्थानियवासी शालिकराम भट्टराईले बताए । 
निकुञ्ज वरिपरी तारवार नगर्दा जंगली जनावरले गाउँ पसेर सर्वसाधरणलाई आक्रमण गरेर मानवीय क्षति पुर्याएको भन्दै स्थानियवासीले जंगली जनावरलाई नियन्त्रण गर्नका लागि निकुञ्ज प्रशासनलाई आग्रह गरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकृत नरेन्द्र अर्यालले वन्यजन्तु एकै ठाउँमा नबस्ने भएकाले नियन्त्रण गर्न अप्ठ्यारो भएको बताउँछन् । निकुञ्ज वरिपरी घर भएका स्थानीयवासीहरूले निकुञ्जमा लगाएको तार काटेर दाउरा लैजाने गर्दा पनि  निकुञ्ज भित्रबाट वन्यजन्तु बाहिर निस्किएर आतंक मच्चाउने गरेको अधिकृत अर्याल बताउँछन् । निकुञ्ज वरिपरि भएको इलेक्ट्रिक तारमा पनि स्थानियवासीले कपडा सुकाउने गरेको भेटिएको छ । स्थानियवासीको आफ्नै कमजोरीको कारण तारबार चुट्ने र बिग्रिने गर्दा निकुञ्ज भित्रबाट बन्यजन्तु बाहिर निस्कने गरेको हो ।
वन्यजन्तुबाट हुने क्षति कम गर्न र स्थानीयवासीलाई सचेत बनाउने कार्यक्रम संचालन गर्नका लागि निकुञ्ज वरिपरिका उपभोक्ता समितिहरूलाई निकुञ्जले कूल बजेटको तीस देखि चालिस प्रतिशत बजेट वितरण गर्ने गरेको उनको भनाई छ ।
 
 

प्रकाशित: १९ चैत्र २०७३ ०४:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App